Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • नेकपा विवाद चर्किएकै बेला अध्यक्ष दाहाललाई भेटिन् चिनियाँ राजदूतले

    नेकपा विवाद चर्किएकै बेला अध्यक्ष दाहाललाई भेटिन् चिनियाँ राजदूतले

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 4K
    SHARES

    काठमाडौँ । सत्तारुढ दल नेकपाभित्र शक्ति संघर्ष चलिरहेको बेला भेटघाट श्रृंखला सुरु गरेकी चिनियाँ राजदुत होउ यान्छीले बिहीबार पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेताहरु माधव नेपाल र झलनाथ खनाललाई उनले नेकपामा विवाद बढेपछि भेटघाट गरिसकेकी छन् । अध्यक्ष दाहाललाई राजदुत यान्छीले बिहीबार उनकै निवास खुलमटारमा गएर भेटेको खुलासा भएको हो ।



    राजदुत होउ र दाहालबीचको भेटबारे दाहालको सचिवालयले पुष्टि नगरे पनि चिनियाँ दुतावासबाट भेटको जानकारी प्राप्त भएको हो । दुतावासका प्रवक्ता चाङ सीले उक्त भेटवार्तामा दुवै पक्षले साझा विषयमा आफ्ना धाराणहरु आदान–प्रदान गरेको कान्तिपुरलाई बताए । उनले भने, ‘हामी (चीन) नेपाली जनताको चासोलाई ध्यानमा राखेर जहिले पनि नेपालमा राजनीतिकस्थिरता र आर्थिक विकास होस भन्ने चाहन्छौं ।’



    नेकपाभित्र अध्यक्ष तथा प्रधानमन्त्री ओली तथा अर्का अध्यक्ष दाहाल–माधवकुमार नेपाल बीच चलिरहेको शक्ति संघर्षका कारण राजदुत होउले राष्ट्रपतिसहित नेकपाकै नेताहरुलाई गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    चीन मामिला विज्ञ रुपक सापकोटा चिनियाँ राजदुत होउको पछिल्लो गतिविधिलाई चीनले नेपालमा राजनीतिक स्थिरता चाहेको मान्छन् । ‘चीनलाई नेपालको आन्तरिक राजनीतिमा चासो छैन । तर, नेपालमा राजनीति स्थिरता होस् भन्ने उसको चाहना हो,’ उनले भने । राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनालले यस अघि नै राजदुत होउका भेटघाटहरुलाई ‘असामान्य अवस्थामा सामान्य भेट’ को रुपमा संज्ञा दिइसकेका छन् ।

    राजदुत होउले असार २३ गते पूर्व प्रधानमन्त्री खनालसँग उनकै निवास डल्डुमा पुगेर भेटवार्ता गरेकी थिइन् । यसको दुई दिन आइतबार (असार २१ गते) अर्का पूर्व प्रधानमन्त्री नेपालसँग उनकै निवास कोटेश्वरमा भेटवार्ता गरेकी थिइन् । यी दुई नेतासँग भेटवार्ता गर्नु अघि उनले असार १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी थिइन् ।

    चिनियाँ राजदुतका पछिल्ला ७ भेट, कहिले कसलाई भेटिन् ?
    असार २५ गते पुष्पकमल दाहालसँग
    असार २३ गते झलनाथ खनालसँग
    असार २१ गते माधव कुमार नेपालसँग
    असार १९ गते बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीसँग
    वैशाख १९ गते पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग
    वैशाख १८ गते राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग
    कान्तिपुर पत्रिकाबाट सभार

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार