काठमाडौं। नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले पदभार ग्रहण गरेका छन् । गृह मन्त्रालयमा बिहीवार बिहान आयोजित एक कार्यक्रमकाबीच गृहसचिव महेश्वर न्यौपानेले आईजीपी क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेलगत्तै प्रहरी प्रधान कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन।
दर्ज्यानी चिह्न लगाएपछि उनलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृहसचिव न्यौपानेले बधाई तथा शुभकामना दिंदै प्रहरी संगठनको गरिमा एवम् छविलाई अझ उचाईमा पुर्याउने विश्चास व्यक्त गरेका थिए ।
सो क्रममा क्षेत्रीले आगामी दिनहरुमा प्रहरी संगठनलाई संस्थागत निर्णयको आधारमा अगाडि बढाइने वताएका थिए।
त्यसपछि आईजीपी क्षेत्री प्रहरी प्रधान कार्यालय प्रवेश गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय डा.आशा सिंह र हरि बहादुर पाल, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले स्वागत गरेका थिए ।
आईजीपी क्षेत्रीले प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नका साथै प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गरे ।
को हुन आईजीपी क्षेत्री ?
विसं २०२५ मंसिर २३ गते भक्तपुर सूर्यविनायक नगरपालिका-५ मा मा जन्मिएका क्षेत्री २०४९ वैशाख १९ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गरेका हुन ।
आईजीपी क्षेत्री २०५८ फागुन १० गते प्रहरी नायव उपरीक्षक, २०६७ पुस २० गते प्रहरी उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७५ असोज २८ गते प्रहरी नायब महानिरीक्षक,२०७६ चैत ९ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा मा बढुवा भएका थिए ।
राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका आईजीपी क्षेत्रीले कमाण्ड र स्टाफ कोर्ष, लिडरसिप एण्ड म्यानेजमेन्ट ट्रेनिङ प्रोग्राम लगायत विभिन्न १७ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिलगरेका छन् ।
आईजीपी क्षेत्री दुर्गम सेवा पदक, दैवीप्रकोप पिडीतोद्वार पदक, गद्दी आरोहण रजत पदक, प्रसिद्ध सेवा पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रहरी सेवा पदक, गोरखा दक्षिणबाहु चौथो लगायतका विभूषणबाट विभूषित छन् ।
यसैगरी उनले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा दर्जनौं नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्र एवम् कदरपत्रद्वारा सम्मानित भइसकेका छन् ।
Leave a Reply