काठमाडौं । दिल्लीलाई टार्गेट गरी सरकारको समर्थनमा काठमाडाैँकाे माइतीघर मण्डलामा प्रदर्शन भएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी निकट युवाहरुले बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीकाे पक्षमा माइतीघरमा नाराबाजीसहित प्रदर्शन गरेका हुन्।
नेकपामा शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि राजनीतिक माहोल तातेको छ। प्रधानमन्त्रीले आफूलाई हटाउन भारत लागिपरेको बताउँदै आएका छन्। पार्टीभित्रबाट समेत प्रधानमन्त्री र अध्यक्ष दुबै पद छोड्न माग उठेका बेला युवाहरु सडक प्रदर्शनमा उत्रिएका हुन्।
उनीहरुले ‘वैदेशिक हस्तक्षेप बन्द गर’, ‘सम्पूर्ण देश प्रेमी नागरिक एक हौं’, ‘भारतीय दलाल होसियार’, ‘आज होइन भोलिलाई हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिँदैन सरकार ढाल्न पाइँदैन’ जस्ता नारा लगाएका थिए।
युवा संघका नेता वकिल बम, सन्तोष सिलवालको नेतृत्वमा उनीहरुले प्रधानमन्त्री ओली तस्विर बोकेर नारा बाजी गरेका थिए। स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक सडकमा उत्रिएका हुन् ।