Online Nepal
  • बुधबार, १० पुष २०८१
  • मिडियाको चाहना मन्त्रीहरूले पूरा गर्न सक्दैनन् : हरि पराजुली,पूर्व कृषि मन्त्री

    मिडियाको चाहना मन्त्रीहरूले पूरा गर्न सक्दैनन् : हरि पराजुली,पूर्व कृषि मन्त्री

    अनलाइन नेपाल
  • बुधबार, १७ असार २०७७
  • 5.3K
    SHARES

    नेपाली कांग्रेसका तत्कालिन सभापति स्व.सुशील कोइराला प्रधानमन्त्री भएका बेला तत्कालीन एमालेको तर्फबाट हरि पराजुली कृषि मन्त्री थिए । मन्त्री भएका बेला असार १५ गते धान दिवसका अवसरमा एक महिलालाई जबरजस्ती समातेको आरोपमा उनी विवादमा परे । धेरै आलोचना भएपछि पराजुलीले मन्त्री पदबाट राजीनामा नै दिए । पाँच वर्ष अगाडिको यो घटनाको भिडियो अहिले पनि असार १५ गतेका दिन सधै सामाजिक सञ्जालमा भाइरल हुने गरेको छ । विवादको चुरो कुरो र राजनीतिक विषयमा नेता हरि पराजुलीसँग गरिएको कुराकानीको सम्पादित अंश :

    कृषि मन्त्रीबाट राजीनामा दिएपछि विगत पाँच वर्षदेखि के गरेर बस्नुभएको छ ?
    म पार्टीमा काममा व्यस्त छु । एकातिर पार्टीको केन्द्रीय सदस्यको हैसियतमा पार्टी जिम्मेवारी पूरा गर्दै छु भने अर्कोतर्फ अखिल नेपाल किसान महासंघको संयोजक भएर किसानहरूका मुद्धाहरूलाई अगाडि बढाउने, उनीहरूका हकअधिकार निमित्त पैरवी गर्ने कामहरूमा म आफ्नो योग्यता र क्षमताले भ्याएसम्म नेतृत्व गर्दै छु ।



    पाँच वर्ष अगाडि मन्त्री भएका बेला एक जना महिलालाई दुव्र्यवहार गरेको सहि हो ?
    त्यो कुरा गलत हो । मैले दुव्र्यवहार गरेको भनिएकी आमाले पनि पत्रकार सम्मेलन नै गरेर भिडियो बनाउने पत्रकारलाई यसरी मान्छेको चरित्र हत्या गर्न पाइन्छ ? भनेर पनि भन्नुभएको थियो ।



    त्यस बेलाको वास्तविकता के हो ? धान दिवसको दिन तपाईको लागि कालो दिन हो नि ?
    कालोदिन केही पनि होइन । हल्ला बढी गरिसकेपछि म एउटा राजनीतिकर्मी भएकोले मन्त्री पदबाट राजीनामा दिएको हो । राजीनामा दिएपछि समस्या समधान हुन्छ । सार्वजनिक पद भएको कारणले गर्दा हल्ला गरिएको हो । आम किसानहरू हरेक खेतमा हलीहरूसँग खेतालाहरूसँग असार १५ भनेको हिलो खेल्ने दिन नै हो ।

    हिलो खेल्ने दिन त हो । तर, महिलासँग खेल्न दिन त होइन नि ?
    महिला, पुरुष सबै खेल्छन् ।

    तपाईले महिलालाई च्याप्प समात्नु भयो नि ?
    कुनै दुव्र्यवहार होइन । समातेकै होइन । उहाँले आशीर्वाद दिन्छु भन्नुभयो । ल आशीर्वाद दिनुस् आमा भनेको हो । क्यामरामेनले आफ्नो करामत देखाएको हो ।

    महिलाप्रति तपाइको मोह र कु–दृष्टि होइन ?
    कुनै कु–दृष्टि होइन । कुनै गलत नियत होइन । महिलालाई सम्मान गर्नुपर्छ । म लामो समय माक्र्सवादी अध्ययन गरेर आएको हुँ । साइन्सको विद्यार्थी हुँ । कम्युनिस्ट आन्दोलनमा लागेका हुँ । आज लागेको होइन । २०२९ सालदेखि नेपालको कम्युनिस्ट आन्दोलनमा विद्यार्थीकालबाट संगठित हुँदै बीएस्सी गरेको मान्छे जागिर नखाएर पूर्णकालीन कार्यकर्ता भएर हिँडेको मान्छे हो ।

    तर, हरि पराजुलीले हर्कत गरे भने समाचार बाहिर आयो ?
    मिडियाहरूले गरे । मन्त्री भएको बेलामा मिडिया म्यानहरूका धेरै चाहनाहरू हुन्छन् । उनीहरूका चाहना मन्त्रीहरूले पूरा गर्न सक्दैनन् । कति लिगल हुन्छन्, कति इलिगल हुन्छन् । कहिले विज्ञापनका नाममा, कहिले केका नाममा । हाम्रो देशका मिडियाकर्मीले समाचारहरूमै ब्ल्याकमेलिङ गर्ने गर्छन् । ब्ल्याकमेलिङ गर्न चाहेका थिए, गर्न नसकेपछि असार १५ को हिलो खेलेकोलाई लिएर बङ्ग्याए ।

    हिलो खेल्दा पुरुषसँग खेलेको भए हुने थिएन र ?
    त्यसभन्दा पहिला महिला दिदीबहिनीहरूले खेतमा हिलो छ्यापा छ्याप गरेर मलाई लडाउनुभयो । त्यो दृष्य देखाइएन । जब म नहुउन भनेर आइरहेका बेला एकजना आमाले मन्त्री हेर्न आएको, खै मन्त्री कता गए भनेपछि मैले नै मलाई बाँदर जस्तो बनाएका छन् भनेर आशीर्वाद दिनुस् भनेर म निहुरिएको अनि त्यही निहुरिएको कुरालाई लिएर अभद्र ग-यो भनेर भनियो । अरु केही पनि होइन ।

    निहुरिँदा के गर्नुभयो तपाईले ? तपाईको टाउको कहाँ गएर ठोकियो ?
    निहुरिँदा केही पनि गरेको होइन । ल आमा आशीर्वाद दिनुस् भनेको हो । मेरो टाउको ठोक्किएको होइन ।  क्यामराले गरेको हो । महिलामाथि मेरो कुनै गलत नियत छैन ।

    त्यो दिन तपाईले कुनै नशालु पदार्थ खाएर जानु भएको थियो ?
    केही पनि खाएको थिएन । मेरो नाम जोड्ने कुरा तपाईहरूले हो । नाम जोडिहाल्नु पर्ने कुन ठूलो कुरा हो र ? तर, मिडियाका साथीहरूले मेरो नाम जोड्नु हुन्छ ।

    विवादमा परेर तपाईले मन्त्री पद छाड्नु पर्यो नि ?
    विवाद त मिडियाले गरेको हो नि । विवाद हामीले गरेको होइन । हरिबोल गजुरेलले गमलामा धान रोप्नु भयो । के बिगार्नुभयो ? मिडियाले गजुरेलको पनि खिल्ली उडाउनुभयो । मिडियालाई के प्राप्त हुँदैन अनि एउटा मन्त्रीको पछाडि लाग्छन् । कानूनमन्त्री शेरबहादुर तामाङले महिलालाई अपमान ग-यो भनेर मिडियाले राजीनामा दिने गराए । जसले मिडियावालाहरूलाई घाँस हाल्दैन, त्यसलाई लखेट्न थाल्छन् । पत्रकारको कार्ड देखाएर काठमाडौंमा घर बनाएर बस्ने पत्रकारहरु धेरै छन् । नेपालका कुनै पनि मिडिया हाउस स्वतन्त्र छैनन् ।

    नेपालका नेताहरूको नाम महिलासँग जोडिएपछि पद खतरामा पर्छ किन हो ?
    पत्रकारले कुरा उठाउँदा सम्वेदनशील विषयबाट उठाउँछन् । लैङ्गिक हिँसाको विषय हो । यस्ता विषय उछाल्दिउँ कि जसमा कसैले पैरवी गर्न सक्दैन । पैरवी गर्न सकेन भने राजीनामा दिने ।

    कृष्णबहादुर महराले पनि महिलाका कारण पदबाट राजीनामा दिनु परेको छ नि ?
    पदबाट राजीनामा दिनुभयो । फेरि मुद्धा जित्नुभयो । समाचार लेख्ने अनलाइनले पश्चाताप गर्ने कि नगर्ने ? क्षमायाचना गर्नुपर्छ ।

    तपाईको मन्त्री पद पनि महिलाका कारण गयो नि ?
    मन्त्री गयो । त्यस बेला सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको स्वकीय सचिव अतुल कोइराला हुनुहुन्थ्यो । उहाँलाई सोध्नुस् । अतुलले तीन पटक फोन गरेर तपाईको राजीनामा स्वीकृत हुँदैन भन्नु भएको थियो । त्यस बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि कसलाई सोधेर राजीनामा दिनुभयो भनेर भन्नुभएको थियो । बामदेव गौतमले पनि त्यस बेला राजीनामा नदिनुस् भन्नुभएको हो । बामदेव गौतम गृह मन्त्री हुनुन्थ्यो । त्यस बेला संसदमा हाम्रै पार्टीका साथीहरूले हँगामा मच्चाउनुभयो । कांग्रेसका साथीहरूले हाम्रा पार्टीका साथीहरूलाई यस्ता धन्दामा हामी लाग्दैनौँ भनेर जवाफ दिनुभयो ।

    तपाईको मन पर्ने नेता बामदेव गौतम होइन ?
    हो । सबै नेता पार्टीका मेरा लागि बराबरी हुन् । बामदेव गौतमसँग २०३९ सालदेखि एउटै थालमा खाने, ओछ्यानमा सुत्ने गरेर भूमिगत जीवन बिताएको हुनाले नजिक धेरै भएको छ ।

    बामदेव गौतमले तपाईलाई मन्त्री बनाएको हो ?
    त्यो त नभनौँ । उहाँले पनि मन्त्री बन्न सहयोग गर्नुभयो । उहाँको सहयोग नभएको भए मन्त्री नै हुने थिएन । त्यस बेलाको पार्टी अध्यक्ष झलनाथ खनाल हो । जो शीर्ष नेता हो त्यसलाई सम्मान गर्नुपर्छ । केपी ओली र प्रचण्ड अहिले हाम्रो शीर्ष नेता हुनुहुन्छ ।

    तर, अहिले केपी ओलीको सरकार ढाल्न बामदेव गौतम कम्मर कसेर लाग्नुभएको छ नि ?
    कसले भन्यो ? बामदेव सांसद हुनुहुन्न । सांसद नभएको मान्छेले कसरी सरकार ढाल्छ ? उपाध्यक्षले सरकार कसरी ढाल्छ ? बिकल्प हरेको हुन्छ । केपी ओली सरकारको बिकल्प छ । बिकल्प रहित संसारमा केही पनि हुँदैन ।

    बामदेव गौतम प्रधानन्त्री बन्ने सम्भावना छ ?
    अहिले तत्काल प्रधानमन्त्री बन्ने सम्भावना छैन । बामदेव गौतम अहिले सांसद नै हुनुहुन्न । प्रतिनिधिसभाको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री बन्न सक्दैन । त्यस कारण बामदेव गौतम प्रधानमन्त्री बन्न सक्नु हुन्न ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार