Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सरकारी अध्ययन भन्छ : एक्लोपन, आर्थिक अभावलगायतका कारण आत्महत्या बढ्यो

    सरकारी अध्ययन भन्छ : एक्लोपन, आर्थिक अभावलगायतका कारण आत्महत्या बढ्यो

    अनलाइन नेपाल
  • मंगलबार, १६ असार २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक अध्ययनले विपदको समयमा निराशापन बढ्नु, एक्लोपना र आर्थिक समस्यालगायतका कारण आत्महत्या बढेको देखाएको छ ।

    कोरोना भाइरस (कोभिड—१९) को संक्रमण जोखिम न्यूनिकरणका लागि जारी भएको लकडाउनको समयमा सामाजिक सम्पर्क हुन नसक्दा एक्लोपना हुनु, आर्थिक समस्या, परीक्षण स्थगित हुनु जस्ता कारण आत्महत्याका घटनाहरु बढेका हुन् ।



    संसदको महिला तथा सामाजिक समितिको मंगलबारको बैठकमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले विपदको समयमा हुने चिन्ता, आइसोलेसन र क्वारेन्टिनमा सामाजिक सम्पर्क नहुने भएकाले एक्लोपन महशुस भएर, परीक्षा स्थगित भएका कारण, आर्थिक समस्या र ब्यापार घाटा लगायतका कारण घटनाहरु बढेको अध्ययनले देखाएको बताए ।



    बैठकमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले विगत वर्षको तुलनामा घटनाहरु कम भएको बताए । कुनै महिनामा कम र कुनै महिना बढी घटना घटेका कारण अनुपातमा संख्या बढेको मात्रै देखिएको तर समग्रमा विगतभन्दा कम घटना घटेको उनले बताए ।

    आर्थिक वर्ष २०७३/०७४ मा ५ हजार १२४, आर्थिक वर्ष ०७४/०७५ मा ५ हजार ३१७ र आर्थिक वर्ष ०७५/०७६ मा ५ हजार ७५४ वटा आत्महत्याका घटना घटेपनि चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४ हजार ५८६ वटा मात्रै घटेको बताए ।

    महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले क्वारेन्टिनमा महिलाहरुका लागि छुट्टै व्यवस्था भए हिंसाका घटनामा कमि आउने बताइन् । यस्तै समितिले मानसिक स्वास्थ्यलाई पहुँचयोग्य बनाउन सरकारलाई निर्देशन दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार