Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कृषि मन्त्रालयको अध्ययन फेल

    नेपालमा सलहको त्रास

    नेपालमा सलहको त्रास

    कुमार भण्डारी
  • शनिबार, १३ असार २०७७
  • 6.4K
    SHARES

    बुटवलमा देखिएको सलहको समूह । तस्विर : रासस

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमण देखिएको पाँच महिना पछि सलह किराको त्रास फैलिएको छ । कृषि मन्त्रालयको अध्ययन टोलीले पाकिस्तान र भारतमा आएको सलह नेपालमा नआउने दाबी गरेको थियो ।

    तर, शनिबार(आज) नेपालमा सलह प्रवेश गरेको पुष्टि भएसँगै कृषि मन्त्रालयको अध्ययन फेल सावित भएको छ ।



    सबैभन्दा अचम्म लाग्दो कुरो त के छ भने ताराईका जिल्लामा देखिएको सलह आजै पहाडी जिल्ला पनि उक्लिन भ्यायो ।



    आजै बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, मकवानपुर, सिन्धुली, काभ्रे र पाल्पामा सलहको समूह भेटिएको छ ।

    फट्यांग्राकै एक प्रजति सलहले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर बालीसहित बोट खाने गर्छ । जसले गर्दा यसलाई अनिकाल निम्त्याउने किराका रुपमा चिनिन्छ ।

    सलहको हुलले एक दिनमा १३० देखि १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्ने विज्ञहरुले बताइसकेका छन् । जसले गर्दा कोरोनाको महामारीले थिलथिलो बनेको नेपालमा सलहका कारण भोकमरी नलाग्ला भन्न सकिन्न ।

    विज्ञहरुका अनुसार सलह किरा दिनभर उड्छ र रातभर बास बस्छ । सलहको ठूलो झुण्डले बास बसेको ठाउँमा एकैरातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्छ ।

    कृषि इतिहासका किताबहरमा भने ६० वर्षअघि काठमाडौं उपत्यका र आसपासका जिल्लामा सलहले ठूलो क्षति पुर्‍याएको उल्लेख गरिएको छ ।

    के हो सलह ?
    सलह किरा फट्याङ्ग्रा वर्गको किरा हो। संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो किराको नाम (Locust) प्लेग दिएको छ। सलहको वैज्ञानिक नाम Schistocerca Gregaria हो। यो किरा समूहमा बस्छ र कृषि बालिमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति पुर्याउँछ। सलह किरा करोडौंको संख्यामा हुन्छन्। यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ। यस्तै एक दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुग्न सक्छन्।

    कसरी नियन्त्रण गर्ने ?
    विज्ञहरुका अनुसार रासायनिक र भौतिक गरी दुई तरिकाले सलह नियन्त्रण गर्न सकिन्छ। करेसाबारी, नर्सरी लगायतका सानो क्षेत्रमा झुल तथा जालीको प्रयोग, ठूलो आवाज, धुँवा आदिको प्रयोगबाट सलहको झुण्डलाई बस्नबाट रोक्ने सकिन्छ ।

    अर्को तरिका भनेको विषादीको प्रयोग गर्न सकिन्छ । विज्ञहरूले बताए अनुसार मालाथिन, ल्याम्डा साइहेलोथ्रीन, क्लोरपाइरिफोस, डेल्टामेथीन लगायतका रसायन छर्केर यसको नियन्त्रण गर्न सकिन्छ । तर, एकैपटक ठूलो क्षेत्रमा छर्नु पर्ने भएकाले युएलभी (अल्ट्रा लो भोल्युम) को प्रयोग सबैभन्दा प्रभावकारी हुने विज्ञहरू बताउँछन् ।

    १ किलो सलह ल्याए २० रुपैयाँ
    यसैबीच प्रदेश ५ को भूमिव्यवस्था मन्त्रालयले सलह किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार