एजेन्सी । भारतको पश्चिम बंगालमा विश्वकै सबैभन्दा ठूलो इ-कमर्स कम्पनी अमेजनले रक्सीको अनलाइन कारोबार गर्ने भएको छ। रोयटर्सका अनुसार पश्चिम बंगालमा रक्सी डेलिभरी गर्नका लागि अमेजनले स्वीकृति पाएको हो । योसँगै अर्बौं डलरको भारतीय मदिरा व्यापारको क्षेत्रमा अमेजनको प्रवेश हुने भएको छ। पश्चिम बंगालको मदिरा कारोबार उद्योगमा अमेजनको रुचिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भारतमा वर्षेनी २७ अर्ब २० करोड डलर बराबरको मदिराको कारोबार हुने गर्दछ ।
गत शुक्रबार पश्चिम बंगाल राज्य पेय पदार्थ निगमले एक सूचना जारी गरेको थियो । उक्त सूचनाअनुसार पश्चिम बंगालमा पेय पदार्थको अनलाइन खुद्रा कारोबारका लागि दर्ता हुन योग्य कम्पनीहरूमा अमेजन समेत परेको छ । उक्त सूचनामा राज्य सरकारसँगको एमओयूमा हस्ताक्षर गर्न आउनका लागि अमेजनलाई सूचित समेत गरेको छ ।
अमेजन मात्र होइन, चिनियाँ इ-कमर्स कम्पनी अलिबाबाको लगानी रहेको भारतको अनलाइन किराना स्टोर बिग बास्केटले पनि पश्चिम बंगालमा रक्सीको अनलाइन कारोबारका लागि अनुमति पाएको छ । भारतमा खाद्यान्नको अनलाइन कारोबार गर्ने अन्य दुई कम्पनी स्विग्गी र जोमाटोले गत महिनादेखि नै केही सहरहरूमा मदिराको अनलाइन कारोबार सुरु गरिसकेका छन् ।
स्मरण रहोस् पश्चिम बंगाल भारतको चौथो धेरै जनसंख्या भएको राज्य हो । जहाँको जनसंख्या ९ करोड रहेको छ । पश्चिम बंगालमा प्रवेश गरेसँगै अमेजनको नजर भारतभरको उक्त विशाल बजारमा हुनेछ ।
Leave a Reply