Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • ६ वटै महानगरको बजेट : विदेशबाट फर्केकालाई रोजगारी र प्राथमिकतामा के ?

    ६ वटै महानगरको बजेट : विदेशबाट फर्केकालाई रोजगारी र प्राथमिकतामा के ?

    अनलाइन नेपाल
  • बिहिबार, ११ असार २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । संबैधानिक प्रावधान अनुरुप देशभरका अधिकांश स्थानीय तहले बुधबार आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् ।

    देशभरका ६ वटै महानगरपालिकाले पनि बजेट सार्वजनिक गरेका छन् । काठमाडौं महानगरपालिकाले सबैभन्दा ठूलो आकारको बजेट प्रस्तुत गरेको छ भने विराटनगर महानगरपालिकाले सबैभन्दा सानो आकारको बजेट प्रस्तुत गरेको छ ।



    ६ वटा महानगर मध्ये सबैभन्दा ठूलो आकारको बजेट प्रस्तुत गरेको काठमाडौं महानगरले १६ अर्ब ४२ करोड ७३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको हो । यस्तै पोखराले १० अर्ब १९ करोड ७१ लाख, ललितपुरले ४ अर्ब ७९ करोड १५ लाख, भरतपुरले ४ अर्ब ५१ करोड २८ लाख, वीरगञ्जले ३ अर्ब ८६ करोड ५१ लाख र विराटनगरले ३ अर्ब ३७ करोड ८१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।



    काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा २ अर्ब बढी हो । महानगरले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको बताएको छ । यसमा कोरोनाको रोकथाम र यसका असरहरु न्यूनीकरण गर्ने कार्यक्रम समेटिएका छन् ।

    पोखरा महानगरले भौतिक पूर्वाधार विकासलाई बढी महत्व दिइएको छ । कुल बजेटमध्ये ६५ करोड ४४ लाख रुपैयाँ महानगरका सहरी र पहाडी क्षेत्रमा सडक सम्पन्न गर्न बजेट विनियोजन भएको छ ।

    पोखरा सिद्धार्थचोकदेखि साँघुको मुखसम्मको सडक सौन्दर्यकरण कार्यक्रमलाई निरन्तरता दिइएको छ । जस अन्तर्गत महेन्द्रपुलमा लिफ्ट सहितको आकाशेपुल निर्माण आगामी आर्थिक वर्षमै सुरु गर्ने महानगरले उल्लेख गरेको छ ।

    महानगरले आगामी वर्षको बजेटमा महामारीका रुपमा फैलिएको कोरोना रोकथाम सम्बोधनमा विशेष जोड दिएको छ ।

    ललितपुर महानगरपालिकाले कोरोना नियन्त्रण, कोरोनाका कारण अर्थतन्त्रमा परेको असर न्यूनिकरण, स्वास्थ्य क्षेत्रको विकास, शिक्षा, रोजगारीजस्ता विषयलाई प्राथमिकतामा राख्दै बजेट ल्याएको हो । महानगरले नीति तथा कार्यक्रम छुट्टै सार्वजनिक नगरी नीति तथा बजेट एकैसाथ ल्याएको छ । पर्यटन प्रवद्र्धन, अपांगतामैत्री स्थानीय तह, विपदको जोखिम न्यूनीकरणमा समेत बजेट केन्द्रित रहेको महानगरपालिकाले जनाएको छ ।

    भरतपुर महानगरपालिकाले सार्वजनिक गरेको बजेट अघिल्लो अर्थात चालु आर्थिक वर्षको तुलनामा केही कम हो । चालु आर्थिक वर्षमा सरकारले ४ अर्ब ५१ करोड २८ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

    महानगरले कोरोना संक्रमितको उपचार र क्वारेन्टिन व्यवस्थापन तथा वैदेशिक रोजगारीबाट फिर्ता भएका व्यक्तिलाई स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । निजी तथा सहकारी क्षेत्रसँग सहकार्य गरी रोजगारी सिर्जना गर्ने लक्ष्यसमेत महानगरपालिकाको रहेको छ ।

    महानगरपालिकाभित्र निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि महानगरपालिकाले संयुक्त कोष खडा गर्ने भएको छ ।

    वीरगञ्ज महानगरले शिक्षालाई प्राथमिकतामा राखेको छ । महानगरले शिक्षामा मात्र ६२ करोड ६४ लाख रुपैयाँ विनियोजना गरेको छ । महानगरपालिकाले पूर्वाधारमा १ अर्ब ७७ करोड ०६ लाख १२ हजार रुपैयाँ विनियोजन गरेको छ जुन कुल बजेटको ४५ दशमलब ८१ प्रतिशत हो ।

    यस्तै विराटनगर महानगरले आगामी आर्थिक वर्षबाट ‘एक घर एक रसिलो विरुवा’ रोप्ने नीति अघि सारेको छ । सडक सफा राख्ने, विमानस्थल विस्तारका लागि पहल गर्ने, आधूनिक वधशाला निर्माण गर्ने नीति महानगरपालिकाले लिएको छ ।

    महानगरपालिकाले प्रजातन्त्र सेनानीलाई मासिक २ हजार ५ सय रुपैयाँ भत्ता आजीवन दिने पनि घोषणा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार