Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • तीन छिमेकीसँग भारतको सीमा विवाद

    तीन छिमेकीसँग भारतको सीमा विवाद

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असार २०७७
  • 2.1K
    SHARES

    नयाँदिल्ली । क्षेत्रीय शक्तिको रुपमा प्रभाव जमाउँदै गरेको भारत यतिबेला सीमा विवादको झमेलामा फसेको छ ।

    चीन सहित तीन देशसँग सीमा विवाद भारतका लागि यतिबेला चुनौती बनेको छ । यसमध्ये चीनसँगको विवाद तनावग्रस्त बन्दैगएको छ । गलवान क्षेत्रमा हालै भएको भीडन्तमा २० भारतीय सेना मारिनु भारतका लागि अप्रिय घटना बनेको छ । गलवानमा भारतले चिनियाँ सेना पनि हताहत भएको दावी गरे पनि अहिलेसम्म पुष्टि गर्न सकेको छैन ।



    चीनले भने उक्त भीडन्त आफ्नो कारण नभएको भन्दै थप प्रतिक्रिया दिएको छैन । मिडिया रिपोर्टका अनुसार चीनले पछिल्लो समय गलवान क्षेत्रमा थप सेना तैनाथ गरेको छ । त्यसो त, केही महिनादेखि नै गलवान क्षेत्रमा भारत र चीनका सेनाहरुबीच विना हतियार झडप हुँदैआएका थिए ।



    भारतका सेनाप्रमुख समेत उक्त क्षेत्रको भ्रमणमा गएका थिए । सैनिक टोलीले गस्ती गरेको थियो । सीमा क्षेत्रमा केही महिनादेखिको विवाद सल्टाउन सेनाबीच वार्ता भएको दुई साता नबित्दै अचानक भीडन्त भएको हो ।

    यसलाई लिएर भारत सरकारले पनि उक्त घटनाको जवाफ दिने प्रतिक्रिया दिएको छ । सीमा क्षेत्रको अवस्थालाई लिएर चीनसँग भारतको सम्बन्ध थप बिग्रने अपेक्षा गरिएको छ । यस्तै मित्रराष्ट्रको रुपमा रहँदैआएको नेपालसँग पनि भारतको सम्बन्ध चिसिन थालेको छ । सीमा विवादलाई नै लिएर नेपाल र भारतबीच सम्बन्ध बिग्रिएको हो ।

    खासगरी भारतका रक्षामन्त्री राजनाथ सिंहले धार्चुलादेखि नेपालको भूभाग लिम्पियाधुरा हुँदै चीनको तिब्बतसम्म लिंक रोडक उद्घाटन गरेपछि सम्बन्धमा दरार आएको हो । विवादित क्षेत्रको रुपमा रहेको जमिनमा भारत सरकारले नेपालको जानकारी विना नै गतिविधि गरेपछि भारतप्रति रुष्ट बन्दै पत्र समेत पठाएको थियो ।

    नेपालले पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेट्दै नयाँ नक्सा जारी गरिदियो । जसले गर्दा भारतीय नेताहरु झस्किए । पछिल्लो समय रक्षामन्त्री, सेनाप्रमुख र सत्तारुढ दल भाजपाका वरिष्ठ नेताहरुले समेत नेपालसँगको सम्बन्ध ऐतिहासिक रहेको भन्दै वार्ताबाट समाधान खोजिनुपर्ने बताउन थालेका छन् ।

    पछिल्लो झण्डै ५० वर्षपछि पहिलो पटक भारत र चीनका सेनाबीच मानवीय क्षति हुने गरी हिंसात्मक भीडन्त भएको हो । त्यसो त, नेपालसँग पनि भारतको सम्बन्ध दशकौंयता सबैभन्दा नराम्रो रुपमा बिग्रिनसक्ने आंकलन गरिएको छ । कालापानी, लिम्पियाधुरा र लिपुलेकको मुद्दा वर्षौँदेखि विवादित रहे पनि पछिल्लो समय यसैकारण नेपालले नक्सा सार्वजनिक गर्दै भारतलाई धक्का दिएको छ । जुन भारतका लागि एक ठूलो चुनौतीको रुपमा खडा बनेको छ ।

    यता पाकिस्तानसँग बिग्रँदै गरेको भारतको सम्बन्ध थप उत्कर्षमा पुगेको छ । कश्मीर मुद्दालाई लिएर भारतविरुद्ध पछिल्लो एक वर्षयता पाकिस्तानले विभिन्न अन्तर्राष्ट्रिय फोरममा समेत कुरा उठाउँदैआएको छ ।

    (एजेन्सीहरुको सहयोगमा) अन्नपुर्ण पाेष्टबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार