काठमाडौं । प्रहरी घाँटीमा थिचेर मारेका अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ड फ्लोइडको दुई सातापछि अन्तिम संस्कार गरिएको छ ।
२५ मेमा मारिएका फ्लोइडको अन्तिम संस्कारका क्रममा जातीय न्यायको माग गरिएको छ।
टेक्सासको ह्युस्टनस्थित एक गिर्जाघरमा उनीप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न मानिसहरू जम्मा भएका थिए ।
मिनियापोलिस प्रहरीका एक प्रहरी अधिकारीले फ्लोइडलाई नियन्त्रणमा लिई उनको घाँटीमा ८ मिनेटभन्दा लामो समयसम्म घुँडाले थिचेका कारण उनको मृत्यु भएको थियो ।
सो घटनाको भिडियो सार्वजनिक भएपछि घटनामा संलग्न चारजना प्रहरी अधिकारीलाई बर्खास्त गरेर हत्याको आरोपमा मुद्दा दायर गरिएको छ ।
ह्युस्टन मेमोरिअल गार्डेनमा फ्लोइडलाई उनकी आमाको चिहानसँगै अन्त्येष्टि गरिएको छ ।
राष्ट्रपति पदका डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले भिडिओ सन्देशमार्फत् अन्तिम संस्कारमा सम्बोधन गरेका थिए ।
उनले भनेका छन्–‘जर्ज फ्लोइडका लागि न्याय भएमा हामी अमेरिकामा साँच्चिकै जातीय न्यायको बाटोमा हुनेछौँ।’
फाउन्टेन अफ प्रेज नामक गिर्जाघरमा आयोजित अन्तिम श्रद्धाञ्जलि कार्यक्रममा राजनीतिज्ञ र सेलिब्रेटीसहित करिब पाँच सय सहभागी थिए ।
फ्लोइडप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न सोमवार छ घण्टा उनको शव गिर्जाघरमा राखिएको थियो ।
फ्लोइडको मृत्युपछि जातीय विभेदविरुद्ध वासिंगटन डीसी, न्यूयोर्क, शिकागो, लस एन्जलस र सन फ्रान्सिस्को लगायतका थुप्रै शहरमा विरोध जुलुस भइरहेका छन् ।
उक्त घटनापछि प्रहरीले घुँडा टेकेर माफी मागेका थिए । एजेन्सी
Leave a Reply