एजेन्सी। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना भाइरससँग मिल्ने लक्षण देखिएकाे छ। ज्वरो र खोकीको समस्या देखिएपछि केजरीवालको कोरोना परीक्षण हुने भएको छ ।
कोरोना संक्रमणको लक्षणसँग मिल्ने ज्वरो र खोकीको समस्या देखिएपछि उनलाई कोरोना परीक्षण गराउन लागिएको बिबिसीले जनाएको छ । आइतबारदेखि उनलाई ज्वरो र घाँटीमा समस्या देखिएपछि उनी आइसोलेसनमा बसेका हुन् ।
आइतबार साँझ प्रेस कन्फ्रेन्स गरेरै उनले आफूलाई कोरोना भाइरस संक्रमणको लक्षण देखिएकाले आइसोलेसनमा बसेको जानकारी दिएका हुन् । उनले दिल्लीका सरकारी वा प्राइभेट अस्पतालमा दिल्लीका जनता नै उपचार गराउन सक्छन् भनेका थिए ।
कोरोना रोकथामका लागि उनी निरन्तर बैठक र अस्पतालको अनुगमन र निरीक्षण गर्दैआएका थिए । त्यसक्रममा उनलाई नै कोरोनाको लक्षण देखिएको छ ।
मंगलबार केजरीवालको कोरोना परीक्षण हुने बताइएको छ । केजरीवाललाई पहिलेदेखि नै सुगर(डायबेटिज) छ । मंगलबार स्वाब टेष्ट गरेर रिपोर्ट आएपछिमात्रै उनमा कोरोना भए नभएको पुष्टि हुनेछ ।
दिल्लीमा गर्मी, बर्षाका कारण ज्वरो र भाइरलको समस्या आइरहेको छ । उनको कोरोना टेष्टको रिपोर्ट आएपछि मात्रै पुष्टि हुने बताइएको छ । दिल्लीमा कोरोना ब्यापक भइरहेको छ । भारतमा कोरोना संक्रमण ब्यापक फैलिरहेको भए पनि त्यहाँ लकडाउन विस्तारै खुकुलो बनाउँदै आन्तरिक उडानदेखि मन्दिर, मस्जिद जस्ता धार्मिक स्थल पनि खुल्न थालेका छन् ।
यसबारेमा दिल्ली सरकारले भने कुनै पनि आधिकारिक सूचना जारी गरेको छैन ।
Leave a Reply