एजेन्सी। अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पावलले राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को आलोचना गरेका छन् । जातीयताविरोधी प्रदर्शनप्रति अपनाएको रवैयालाई लिएर ट्रम्प ‘संविधानदेखि टाढिएको’ पावलले बताएका छन्।
पूर्व उच्च सैनिक अधिकारी समेत रहेका रिपब्लिकन नेता ट्रम्पको रवैयालाई लिएर आलोचना गर्नेहरूको सूचीमा पछिल्लो पटक थपिएका छन्। प्रदर्शनहरूलाई दबाउनका निम्ति सेना परिचालन गर्ने लगायत चेतावनी ट्रम्पले दिएका थिए।
पावलले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा आफूले डेमोक्र्याटिक उम्मेदवार जो बाइडनलाई मत दिने बताएका छन्।
ट्वीट गर्दै ट्रम्पले पावललाई ‘आवश्यकताभन्दा बढी महत्त्व पाएको व्यक्ति’ भनेका छन्। अफ्रिकी-अमेरिकी पावल ज्वाइन्ट चीफ्स अफ स्टाफ रहिसकेका छन्। ट्रम्पको आलोचना गर्ने अमेरिकी पूर्व वरिष्ठ सैनिक अधिकारीहरूको पङ्क्तिमा उनी पनि उभिएका छन्।
सीएनएनको स्टेट अफ युनियनमा आइतवार बोल्दै पावलले भने, ‘हामीसँग एउटा संविधान छ र हामीले त्यसलाई मान्नुपर्छ। तर राष्ट्रपति संविधानदेखि टाढिएका छन्।’ पावलले भने, ‘उनी झूट बोल्छन् र त्यसबाट फुत्किन्छन्। किनकि मानिसहरूले उनलाई जवाफदेही बनाउँदैनन्।’
मध्यमार्गी रिपब्लिकनका रूपमा चिनिने पावलले सन् २०१६ मा ट्रम्पलाई मत दिएनन्। बीबीसी
Leave a Reply