मिनियापोलिस। संयुक्तराज्य अमेरिकाका दर्जनौं शहरहरूमा शुक्रबार हिंसा भड्किएपछि त्यहाँकाे सरकारले सेना परिचालन गर्ने तयारी गरेकाे छ। रक्षा मन्त्रालयले मिनियापोलिस राज्यमा सेना परिचालन गर्ने तयारीका साथ सेनालाई सतर्क अवस्थामा राखिएको जनाएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी राज्य मिनियापोलिसमा प्रहरीले घाँटी थिचेर एक निहत्था अश्वेत अफ्रिकी अमेरिकी युवक जर्ज फ्लोयडको मृत्यु भएपछि भड्किएको हिंसा देशव्यापी बनेको छ। प्रत्यक्षदर्शीका अनुसार हतकडी लगाइएका ती युवकको घाँटीमा घुँडाले बेस्सरी धेरैबेर थिचिएको थियो। शास फेर्न मुश्किल भएको भन्दै उनले याचिका गरे पनि प्रहरीले उनको कुरा सुनेका थिएनन्।
प्रहरी क्रुरताको नजिकैबाट एकजना बटुवाले खिचेको भिडियोमा प्रहरीले फ्लोयडको घाँटीमा घुँडा टेकेको देखाइएको छ। ती युवक एउटा पसलमा झुटो बिल देखाएको आशंकामा पक्राउ परेका थिए।
फ्लोयडको प्रहरी चोटपटकका कारण उपचारकै क्रममा मृत्यु भएको थियो। घाँटी थिच्ने प्रहरी अधिकृत डेरेक चौविन पक्राउ परेका छन् भने उनलाई शुक्रबार व्यक्तिहत्याको आरोप लगाइएको छ।
अनुसन्धानका क्रममा ती प्रहरीले फ्लोयडको घाँटी करिब ८ मिनेटसम्म थिचेको देखिएको छ। प्रहरीको उक्त क्रुरतासँगै शुरु भएको विरोध प्रदर्शनले देशव्यापी हिंसात्मक रुप लिएको छ। बिहीबार प्रदर्शनकारीहरुले फ्योयडलाई गिरफ्तार गरेर राखिएको मिनियापोलिसको एउटा प्रहरी चौकीमा आगो लगाइदिएका छन्। प्रहरीले हिंसा नियन्त्रणमा ल्याउन हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ।
Leave a Reply