Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोना कहरमा हराएको मधेशी दल

    कोरोना कहरमा हराएको मधेशी दल

    संगीता रेग्मी
  • शुक्रबार, १६ जेष्ठ २०७७
  • 4.1K
    SHARES

    अत्प्राशित रुपमा विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारी (कोभिड–१९) को कहरले सम्पूर्ण विश्व आक्रान्त छ । कोरोनाको कहरले विश्वका कैयौं मुलुकहरुले लाखौं व्यक्तिहरु गुमाइसकेका छन् । आर्थिक रुपमा सम्पन्न र व्यवस्थित स्वास्थ्य सेवाको हिसाबले अब्बल रहेका मुलुकहरुले समेत कोरोना महामारीबाट पार पाउन सकिरहेका छैनन् । चीन, अमेरिका, इटाली, स्पेनजस्ता समृद्ध मुलुकहरुसमेत यो भाइरसबाट आजित भएका छन् । विश्वभरी यही भाइरसका कारण अहिलेसम्म ३ लाख ६२ हजारको मृत्यु भइसकेको छ भने ६० लाखभन्दा बढी संक्रमित रहेका छन् ।

    विश्वव्यापी रुप लिइसकेको कोरोनाभाइरसबाट नेपालपनि अछुतो रहन सकेको छैन । हालसम्म यो भाइरसका कारण २ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या चार सय नाघेको छ । कोरोना भाइरस फैलन नदिन भनेर नेपाल सरकारले देशभरी लकडाउन गरेको दुई महिना पुरा भएको छ ।



    कोरोना भाइरस देशभरी नै फैलने क्रम बढ्दो छ । त्यसमध्ये प्रदेश २ मा सबैभन्दा बढी प्रभाव देखिएको छ । प्रदेश २ को आठवटा जिल्लामध्ये सबै जिल्लामा यो भाइरस फैलिसकेको छ भने वीरगन्जमा सबैभन्दा धेरै प्रभावित भएका छन् । प्रदेश २ मा कोरोनाबाट संक्रमित हुनेको संख्या एक सयभन्दा बढी पुगेको छ ।



    भाइरसको ‘हटस्पट’ बनेको पर्सा जिल्लामा मात्रै ८५ जनामा संक्रमण देखिएको छ । त्यस्तै बारा, रौतहट र धनुषा, महोत्तरी, सर्लाही र सप्तरीमा संक्रमति भेटिएका छन् । मधेशका जिल्लामा संक्रमितहरु थपिँदा यहाँको कोरोना उपचार गर्ने अस्पतालमा शैय्या भरिएको छ भने स्कुलमा आइसोलेसन वार्ड तयार पारिएको छ । अहिलेसम्म प्रदेश २ मा संक्रमित मध्ये ५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
    भारतसँग खुल्ला सिमाना जोडिएको प्रदेश २ कोरोना संक्रमणको उच्चजोखिममा रहेको चर्चा केही समय पहिलेदेखि नै नभएको होइन । अधिकांश युवा वैदेशिक रोजगारीका लागि भारत लगायतअन्य देशमा प्रदेश २ बाटै सबैभन्दा धेरै गएका छन् । यस्तो अवस्थामा कोरोनाको संक्रमण बढ्छ भन्ने विषयमा प्रदेश सरकार गम्भीर नरहनाले पनि अहिले यो प्रदेश कोरोनाको चपेटामा परेको छ ।

    आर्थिक रुपमा कमजोर रहेको प्रदेश २ मा राजपा र समाजवादीको सरकार छ । अहिले दुई पार्टी एकीकरण भई जनता समाजवादी बनेको छ । यस क्षेत्रलाई औद्योगिक क्षेत्र भनिए पनि उत्पादनको बजार पनि भारत र कच्चा पदार्थको बजार पनि भारत, जनशक्तिको स्रोत पनि भारत भएको अवस्थामा कोरोनो महामारीले यी सबै आर्थिक आधार निकै प्रभावित भएका छन् । यस क्षेत्रमा पर्यटनको स्रोत खासै नभए पनि बदलिंदो परिस्थितिमा ट्रान्जिटकै रूपमा भएपनि एउटा आधार बन्दै थियो ।

    कोरोनाको प्रभावले यो आधारलाई पनि बिथिलेको छ । देश संघीयतामा गएसँगै तीन तहको सरकारको व्यवस्था त भयो, जसले खर्च ह्वात्तै बढ्यो तर आम्दानीमा खासै बढोत्तरी हुन सकेन ।
    कोरोनाभाइरसले अझकति समय प्रभाव पार्छ, कतिको मृत्यु हुन्छ, के–कस्ता परिवर्तनहरु हुन्छन् भन्न सकिने अवस्था छैन तथापि कोरोनाले विश्वको अर्थतन्त्रमा नराम्रो असर पारेको छ । नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परि नै रहेको छ । कमजोर आर्थिक अवस्था भएको प्रदेश २ लाई कोरोनाको कहरबाट बाहिर निस्किए पछि कसरी अगाडि बढाउने भन्ने तर्फ ध्यान दिन जरुरी छ ।

    यही जेठ २ गते राष्ट्रपतिले संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कोरोनाले विकासको आकांक्षा र गतिमा धक्का पुगेको भन्दै कृषि बाली लगाउनु अघि नै किसानको नाफा सुनिश्चित गरिने, स्वदेशी वस्तु उपयोगको लागि अभियान चलाइने लगायतका महत्वकांक्षी कार्यक्रमहरु अगाडि सारेको छ । कृषि मुख्य पेशा रहेको प्रदेश २ का जनतालाई कोरोनाको कहरबाट उठ्न यो कार्यक्रम प्रभावकारी हुने देखिन्छ ।

    प्रदेश २ सरकारले यस प्रदेश भित्रबाट देश बाहिर रोजगारीका लागि गएकाहरुका तथ्यांक संकलन गरी उनीहरुलाई आफ्नै प्रदेशभित्र रोजगारीको व्यवस्था गर्ने, प्रदेशभित्रै सुविधायुक्त अपस्ताल स्थापना गर्ने, कृषकलाई प्रोत्साहन गरी कृषि उत्पादनको बजार खोजी गर्ने, जातीय भेदभाव हटाउन तर्फ ध्यान दिन जरुरी छ । अहिले कोरोनाको विषयमा मधेशीदलहरूको मौनताले सबैलाई आश्चर्यमा पारेको छ । राजपा र समाजवादी पार्टी एक भएर जनता समाजवादी पार्टी निर्माण भएको छ ।

    यो एउटा सुःखद सुरुवात हो तर एकीकरण खाली राजनीतिक स्वार्थ पूर्ति गर्न तर्फ मात्र केन्द्रित भएको हो कि भन्ने भान पनि हुने गरेको छ । यो एकतालाई सार्थक बनाउन मधेशवीदलहरूले यस क्षेत्रका हरेक समस्यालाई आफ्नो मानेर समाधानको दिशातर्फ अग्रसर हुनुपर्छ ।

    (मधेश दर्पण फिचर सेवा)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार