काठमाडौँ । खाडी मुलुक तथा मलेसियामा अलपत्र परेका करिब २५ हजार नेपाली नागरिकलाई तत्काल उद्धार गर्ने निर्णय सरकारले गरेकाे छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशमा अलपत्र परेका नेपालीको फिर्ता र उनीहरूको व्यवस्थापनसम्बन्धी कार्यविधि पारित गरेको कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् ।
‘बैठकले क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले तयार पारेको भारत तथा तेस्रो मुलुकबाट नेपालीको उद्धारसम्बन्धी कार्यविधि पारित गरेको छ,’ मन्त्री तुम्बाहाङ्फेले भनिन्, ‘कार्यविधिअनुसार नै भारतबाट आउने नेपालीलाई उनीहरूकै स्थानीय तहमा पठाउने र तेस्रो मुलुकबाट प्राथमिकताका आधारमा उद्धार गरिनेछ ।’
परराष्ट्र मन्त्रालयले भारतबाट करिब ३ लाख र तेस्रो मुलुकबाट ३ लाख गरी ६ लाख नेपाली स्वदेश फर्किने अनुमान गरेको छ । यद्यपि सीसीएमसीको अनुमानमा भने तेस्रो मुलुकबाट झन्डै १० लाख नेपाली स्वदेश फर्किनेछन् ।
सरकारले पारित गरेको कार्यविधिअनुसार कुवेतमा अवैधानिक रूपमा बसेर आममाफी पाएका करिब ३ हजार र यूएईमा रहेका २८ गर्भवतीसहितका नागरिक उद्धारको पहिलो सूचीमा रहेका छन् ।
‘सम्बन्धित सरकारबाट आममाफी पाएर कामविहीन भएका, कामको करार अवधि सकिएका, गर्भवती, रोजगारी गुमाएर नेपाल आउन तयारी अवस्थामा रहेका, छोटो अवधिको भिसामा गएका करिब २५ हजार नेपालीलाई प्राथमिकताका आधारमा उद्धार गरिनेछ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘आवश्यक व्यवस्थापकीय काम सकेलगत्तै उहाँहरूलाई स्वदेश फर्काउने प्रक्रिया सुरु हुनेछ ।’ कान्तिपुर दैनिकबाट
Leave a Reply