Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • वर्षौंदेखि बाँझिएको जग्गामा गरे युवाहरुले सामूहिक खेती

    वर्षौंदेखि बाँझिएको जग्गामा गरे युवाहरुले सामूहिक खेती

    अनलाइन नेपाल
  • शनिबार, १० जेष्ठ २०७७
  • 3.4K
    SHARES

    फाइल तस्विर, स्राेत : गुगल

    म्याग्दी । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका बीच गाउँ फर्किएका युवाले बाँझिएको जग्गामा झाडी फाडेर सामूहिक खेती शुरु गरेका छन्।

    म्याग्दीको मालिका गाउपालिका–६ दुखुलेकमा दरवाङको आत्मनिर्भर व्यावसायिक कृषि सहकारी संस्थाले युवालाई परिचालन गरेर दलहन र गेडागुडी खेती गरेको हो। ६० रोपनी जग्गामा सिमी लगाइसकेका छन्। थप १६० रोपनीमा भटमास र गहत खेती गर्नका लागि युवा खनजोतमा जुटेका छन्।



    वैदेशिक रोजगारी र बसाइसराइँका कारण जनशक्ति अभाव हुँदा खेतीयोग्य बारी बाँझिएको थियो। लकडाउनमा युवाहरुलाई परिचालन गरेर खेती गरिएको स्थानीयवासी सर्गप्रसाद रोकाले बताए।



    ‘१६ जना जग्गाधनीले १० वर्षका लागि खेती गर्न भाडा नलिने गरी जग्गा दिएका छन्’, उनले भने, ‘मान्छेभन्दा अग्लो, स्याल लुक्ने झाडी फाडेर खनजोत गरी गहत, सिमी र भटमास लगाएका छौँ।’

    बाँझो जमिनमा बनमारा, ऐसेलु र पातिले भरिएको थियो। झाडी फाँड्न सहकारीले एक लाख २२ हजार रुपैयाँ ज्याला दिएर १४८ जना बराबरको काम लगाएको थियो। छ हल गोरुलाई हलीसहित दैनिक एक हजार २०० रुपैयाँ दिएर छ दिन लगाएर बाँझो जोतिएको छ। झाडी फाड्ने र खनजोतको काममा बेनी, पोखरा, काठमाडौंबाट आएका युवा संलग्न छन्।

    लकडाउनपछि बेनीमा कलेज पढ्दै आएका भुवन रोकाले छ दिनसम्म बाँझो जोत्ने काम गरेको बताए। बच्चा हुँदादेखि नै बाँझो बनेको बारीलाई खनजोत गरेर हराभरा बनाउन लागिएकामा दिपेश शेरपुजाले खुशी व्यक्त गरे। दुखुमा ९८ घर छन्।

    आधाजसो बसाइसराइँ गरेर बेनी, दरवाङ, पोखरा र काठमाडौं गएका छन्। उनीहरुले खेती गर्न छाडेपछि बाँझिएको जमिन सहकारीलाई उपलब्ध गराएका हुन्।

    उत्पादन बढाउने, आयात घटाउने, गाउँमा रोजागारी र आयआर्जनको अवसर सिर्जना गराउने उद्देश्यले सामूहिक खेती शुरु गरेको वडा सदस्यसमेत रहेका स्थानीयवासी पथबहादुर रोकाले बताए। कुनै समय बेनी, बागलुङ र पोखराको बजारमा दुखुको सिमी, गहत र भटमास चर्चित थियो। पहिले स्थानीय भारी बोकेर बेच्नलाई बजारमा पुग्थे। अहिले गाउँमै सडक पुगेको छ, बजारको समस्या छैन।

    उत्पादन गरेको कृषि उपज सहकारी संस्थाले खरिद गरेर बजारीकरणको व्यवस्था मिलाउने सहकारीका लेखापाल श्याम रोकाले बताए। कृषि उपज बजारीकरण गर्न दरवाङमा कोसेलीघर स्थापना गरेको उनले बताए।

    मालिका गाउँपालिकाले सातवटै वडामा सम्भावनाको आधारमा ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रम सञ्चालन गरेको छ। हावापानी र भूगोलअनुसार फलफूल, तरकारी, दलहन, पशुपालन र जडीबुटी खेतीका लागि पकेट क्षेत्र बनाएको वडाध्यक्ष सन्तोष सुवेदीले बताए।

    दुखुमा दलहन र टिमुर खेतीका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा छ लाख रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए।

    ‘दिच्याममा किबीखेती शुरु गरिएको छ’, उनले भने, ‘ढाँडखर्कमा गोलभेँडा, तोलाबाङमा आलु र तरकारीको पकेट क्षेत्र बनाइएको छ।’

    गाउँपालिकाको कार्यालय भवन निर्माण

    म्याग्दीको मुनामा जारी लकडाउनकै अवधिमा धवलागिरि गाउँपालिकाको कार्यालय भवन निर्माण सकिएको छ। मुनास्थित धवलागिरि गाउँपालिका कार्यालय परिसरमा थप चारकोठे भवन निर्माणको काम सकिएको हो।

    गाउँपालिकाले चालू आर्थिक वर्ष २०७६र७७ मा विनियोजन भएको २० लाख रुपैयाँ बजेटबाट उपभोक्ता समितिमार्फत भवन निर्माण गरिएको इञ्जिनियर सोबिन जिसीले जानकारी दिए।

    ‘फागुनमा काम शुरु गरेका उपभोक्ता समितिले लकडाउनकै समयमा स्थानीय मजदुर परिचालन गरेर भवन तयार पारेका छौँ’, उनले भने, ‘झ्याल, ढोका, फर्निचर र विद्युत् जडान गरेपछि भवन प्रयोगमा ल्याउने तयारीमा छौँ।’

    तत्कालीन मुना गाविसको भवनमा स्थापना गरिएको गाउँपालिकाको कार्यालय सञ्चालन गर्न पदाधिकारी तथा विभिन्न शाखाका कर्मचारीका लागि आवश्यक कार्यकक्ष अभाव भएपछि नयाँ भवन बनाइएको हो। यसअघि चारकोठे भवनमा तला थपेर बारेर बनाइएको कार्यकक्ष साँघुरो छ।

    सेवाग्राहीको चाप हुँदा साँघुरो कार्यकक्षमा बसेर काम गर्न कर्मचारीलाई समस्या भएको छ। धवलागिरि गाउँपालिकाको प्रशासनिक भवन मुनामा छ।

    शिक्षा शाखा शिवाङमा र स्वास्थ्य, कृषि र पशु सेवाको शाखा कार्यालय ताकममा राखिएको छ। केन्द्र विवादका कारण छरिएर कार्यालय राख्दा सेवाग्राही र कर्मचारीलाई समस्या भएको छ। यसैगरी, धवलागिरि गाउँपालिकाको मुनामा स्वास्थ्यचौकी र शिवाङमा हेम नमूना आवासीय माविको छात्रावास भवन निर्माणको ठेक्का प्रक्रिया सकिएको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार