Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • किर्ते मुद्दामा वडा सचिव थुनामा, वडाध्यक्ष फरार

    किर्ते मुद्दामा वडा सचिव थुनामा, वडाध्यक्ष फरार

    अनलाइन नेपाल
  • शनिबार, १० जेष्ठ २०७७
  • 1.6K
    SHARES

    फाइल फोटो

    परासी । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडा सचिव गोविन्द कहारसहित दुई जना लिखतसम्बन्धी कसुर(किर्ते) गरेको अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोही मुद्दाका अर्का प्रतिवादी वडाध्यक्ष ओमप्रकाश गुप्ता भने फरार रहेको जिल्ला अदालतले जनाएको छ ।

    विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि दिने क्रममा मूल प्रमाणपत्र र मूल अभिलेख रजिष्ट्ररमा उल्लिखित विवाह मिति केरमेट गरी फरक पारेर प्रतिलिपि जारी गरेको भन्दै उनीहरुविरुद्ध जिल्ला अदालतमा लिखतसम्बन्धी कसुरको मुद्दा दायर भएको थियो ।



    मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै अदालतले वडा सचिव कहार र रामग्राम–५ की रुक्शाना शेषलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । फरार रहेका वडाध्यक्ष गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।



    रामग्राम–५ का सुबेदार शेष र रुक्शाना शेषको विवाहदर्ता प्रतिलिपि दिँदा केरमेट गरी मिति फरक पारिएको थियो । रुक्शानाका पति सुवेदारले सरकारी छाप दस्तखत किर्ते गरिदिने कार्यमा संलग्न वडाध्यक्ष गुप्ता, वडा सचिव कहारसहित पाँच जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

    उक्त कार्यमा आफ्नै श्रीमती रुक्शाना, वडाध्यक्ष गुप्ता, वडा सचिव कहार, तत्कालीन वडा सचिव नन्दलाल कहार, कार्यालय सहयोगी अमरलाल कहार गरी पाँच जना संलग्न रहेको भनी विपक्षी बनाइएको थियो ।

    मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला अदालतले किर्ते कागज बनाइदिने प्रतिवादी गोविन्द र किर्ते कागज प्रयोग गर्ने रुक्शानालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको तथा नन्दलाल कहारलाई रु ६० हजार धरौटीमा छाड्ने आदेश भएको अदालतका निमित स्रेस्तेदार तीर्थराज शर्माले जानकारी दिए । प्रतिवादीमध्येका कार्यालय सहयोगी अमरलालको भने केही दिन अगाडि मृत्यु भएको छ ।

    ‘म वडा कार्यालयमा गई विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि सराइ अध्ययन गर्दा तत्कालीन गेरमी गाविस(हाल पाल्हीनन्दन–५) को दर्ता नं ४७ रहेको २०७०/०७/०४ मा जारी गरिएको विवाह दर्ता प्रमाणपत्रमा विवाह मिति २०६२/१२0/१५ उल्लेख रहेकोमा वडा सचिव गोविन्द कहारले सोही दर्ता नंको प्रतिलिपि बनाउँदा केरमेट गरी विवाह मिति २०६०/१२/१५ गते बनाई फरक पारेको पाएपछि प्रतिवादीहरुउपर कानूनबमोजिम सजायँको माग गर्दै मैले जाहेरी दिएको छु’, सुवेदारले जाहेरीमा उल्लेख गरेका छन् ।

    पतिपत्नी सुबेदार र रुक्शानाबीच विवाद भएपछि रुक्शानाले जिल्ला अदालतमा अंश नामसारी मुद्दा दिएपछि अनुसन्धान हुँदै जाँदा उक्त रहस्य खुलेको थियो । वडाध्यक्ष गाउँमा खुला घुमिरहेकाले तत्काल पक्राउ गरी आवश्यक कारवाही गर्नुपर्ने पीडित पक्षको माग छ । बन्दाबन्दी र कोरोना सङ्क्रमणको जोखिमका कारण पक्राउ गर्न नसकिएको प्रहरी चौकी गेरमीका प्रमुख नारायण लुइँटेलले जानकारी दिए । रासस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार