काठमाडौं। बलिउड नायिका अनुष्का शर्मा निर्मात्री रहेको पाताल लोक नामको सिरियलमा नेपाली ..भन्दै निकै तल्लो स्तरको शब्द प्रयोग गरिपछि नेपाली अभिनेत्रीहरूले कडा आपत्ति जनाएकी छन्।
बलिउड अभिनेत्री अनुष्का शर्माले निर्माण गरेको वेभ सिरिज (शृंखला) ‘पाताल लोक’मा नेपाली महिलामाथि अपशब्द बोलिएको छ । नेपाली माहिलालाई अश्लील गाली गरिएको छ । यो अपशब्दमाथि चार दिनयता नेपालमा धेरै विरोध भइरहेको छ । यो सिरिज यसै साताबाट अमेजन प्राइम भिडियोमा प्रसारण हुँदै आएको छ । अमेजन प्राइम भिडियोका लागि बलिउड अभिनेत्री अुनष्काले यो सिरिज बनाएकी हुन् ।
शृंखलामा कलाकारहरूले बोलेको अपशब्दको नेपाली चलचित्रका अभिनेत्रीहरू सामाजिक सञ्जालमार्फत विरोध गरेका छन् । यस्ता अपशब्द मात्र हैन, त्यो वेभ रिलिजलाई रोकेर निर्माता निर्देशकलाई कारबाहीसमेत गर्नुपर्ने माग अभिनेत्रीहरूले उठाएका छन् । त्यसो त नेपाली महिलालाई ‘पाताल लोक’ सिरिजमा गरिएको अश्लील गालीबारे हजारौं नेपालीहरूले सामाजिक सञ्जालमार्फत विरोध गरिरहेका छन् । यहीक्रममा अभिनेत्रीहरूले पनि सामाजिक सञ्जालमार्फत त्यो सिरिजलाई रोक्न माग गरेका छन्
नायिका रेखा थापाले फेसबुकपेजमा लेख्दै भनेकी छन् – ‘एकातिर जमिन अतिक्रमण गरेर हाम्रो सार्वभौमिकता माथि धावा बोल्ने, भएन भनेर बलिउडका फिल्म र सिरियलमा नेपालीको मानमर्दन हुने गरेर प्रस्तुत गर्ने दादागिरीको घोर भ्रत्सना गर्दछु । पातललोक नामक सिरियलमा नेपाली महिलाको अस्मिता र हाम्रो सार्वभौम देशको स्वाभिमानी छोरीहरुलाई जुन निच शब्द प्रयोग गरिएको छ, त्यो घोर आपत्तिजनक छ । त्यती मात्र होइन यस्तो भाषा र हेपाह प्रवृत्तिले बलिउडका फिल्म, कला साहित्यको नारी प्रतिको असहिष्णुता र सोचको स्तर पनि देखाएको छ । यसको निर्माण सम्बद्द पक्षले तुरुन्तै माफि मागोस र रेकर्डबाट हटाइयोस । कुन देशका छोरी बहादुर छन् भन्ने ईतिहास साक्षी छ, हामीले कुनै सिरियल वा कठपुतली बनेर फिल्म खेल्नेसँग सिक्नु छैन । यता नेपालमा भारतीय सिनेमाको दलाली गर्ने, लाइन लागेर हेर्ने र घर-घर मा हिन्दी सिरियल हेर्ने भिड पनि होसमा आओस ।’
त्यसैगरी अभिनेत्री ऋचा शर्माले पनि सो अपशब्दले आफ्नो मन दुखेको बताउँदै यस्तो लेखेकी छन्, ‘अमेजन प्राइमको ‘पाताल लोक’ सिरिजमा नेपाली महिलालाई लिएर जुन अपशब्द प्रयोग भयो, त्यसले सम्पूर्ण नेपालीको मन दुखेको छ । फिल्मको निर्माण पक्षले नेपालीसँग माफी माग्नुपर्छ र त्यो शब्द सिरिजबाट हटाउनुपर्छ ।’ अभिनेत्री ऋचाले यस्तो बेलामा हामी सबै एक भएका छौं भनेकी छन् । तर, यस्तो एकता नेपाली कलाकार, मोडल, मिस नेपालहरूलाई लेखिने अपशब्दको टिप्पणीको विरोधमा कहिल्यै देखिन्न भन्ने उनको कथन छ । उनले लेखेकी छन्, ‘त्यो टिप्पणी व्यक्ति विशेषलाई आएको भएर कसैले चासो नदेखाउनुभएको होला सायद । त्यस्ता अपशब्द बोल्नेहरूलाई पाठ सिकाउनुपर्दैन हामीले ? अहिले नजागे कहिले जाग्ने ?’
यस्तै, अभिनेत्री केकी अधिकारीले पनि पनि सो कुराको खुलेर विरोध गरेकी छन् । उनले लेखेकी छन्, ‘आज अरूले आफ्ना चेलीबेटीलाई देशकै नाम लिएर तुच्छ गाली गर्दा साहै्र चित्त दुख्यो, मन पोल्यो, रगत उम्लेर आयो ? आफ्नै भनाउँदाहरूबाट यस्ता गालीहरू मुख अगाडि, मुख पछाडि, सामाजिक सञ्जालमा, वाल्छ्याल्ती नसुनेका, नदेखेका हौं र ?’ यस्ता गाली गर्न भारतीयहरूले नेपालीबाटै सिकेको यी अभिनेत्रीको टिप्पणी छ, ‘यिनीहरूलाई भन्न मिल्ने रहेछ भनेर हामीले नै उकासेका हौं । छातीमा हात राखेर भन्नुस् त हामीले आफ्नै देशका दिदीबहिनीलाई यस किसिमका अपहेलना कति गरेका छौं ? अनि हामी यो आशा गरिरहेका छौं कि अरूचाहिँ बदलिऊन् । तर, आफूलाई त जति पनि अधिकार छ महिलाको चरित्र हत्या गर्ने ? हैन ?’ केकीले भनेकी छन् ।
यद्यपि, त्यो सिरिजमा नेपालीलाई गरिएको गाली माफीयोग्य नभएको पनि यी अभिनेत्रीको कथन छ । साथै, नेपाली चेलीहरूलाई सामाजिक सञ्जालमा गरिने गालीबारे अभिनेत्री केकी अधिकारीले उल्टै यस्तो प्रश्न गरेकी छन्, ‘तर, के हामी ठीक छौं ? एकपटक आफूले आफूलाई निसंकोच नियाल्ने कि ?’
अमेजन प्राइम सिरिजमा प्रसारण भइरहेको यो सिरियलको पहिलो सिजनको दोस्रो एपिसोडको ३ मिनेट ४१ औं सेकेन्डमा महिला पुलिसकर्मीले एक युवतीमाथि कुटपिट गर्दै भन्छिन्, ‘साथी हुन् कि ग्राहक हुन् ? धन्धा गर्छेस् ? नेपाली रन्—।
यसमा प्रलक्ष नामका एक व्यक्तिले निकै लामो पोष्ट लेख्दै अनुष्का शर्माबाट माफी मागेका छन् । इन्स्टाग्राम पोस्टमा उनले लेखेका छन्, ‘एउटा सार्वभौम राष्ट्रका निकै मिहिनेती समुदायका लागि यस्तो शब्दको प्रयोग गर्न कसरी आँट गर्यौ ? म एक भारतीय गोर्खा हुँ मैले यो यसकारण लेखेँ किनभने यसले मलाई दुःखी बनायो ।
मेरी आमा र दिदी बहिनीले यस्तै चित्रणका कारण विभिन्न समस्या भोग्नुपरेको छ र तिमीहरुले घाउमा नुन खुर्सानी दल्ने काम गरिरहेका छौ ।’‘पाताललोकको यो दृश्यले यहाँ साम्प्रदायिक वैमनस्यता निम्त्याएको छ जुन नेपाल र मेरो पूर्वोत्तर समुदायका लागि पूर्ण रुपमा जातीवाद हो । ’‘माफी माग र यो दृश्य हटाउ,’ उनले अन्तिममा लेखेका छन् ।
Leave a Reply