काठमाडौं । मंगलबार एकै दिन २७ जनामा कोरोना संक्रमणकाे पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार एकै दिन २७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ४०२ पुगेको हो।
थपिएका संक्रमित मध्ये उपत्यकाका पाँच जना छन् । जसमा काठमाडौंमा ३ तथा भक्तपुर र ललितपुरमा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी झापाका ९ जना, मोरङ र सुनसरीका १/१ जना, सर्लाहीका २ जना, मनवानपुर, रामेछाप, सिन्धुली र लमजुङका १/१ जना कपिलवुस्तका ४ र नवलपरासीका १ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये झापाका एक जना मंगलबार निको भएका छन् ।
प्रवक्ता देवकोटाका अनुसार २१ हजार ६ सय २३ जना क्वारेन्टाइनमा छन्। उपत्यकामा १७ र बाहिर ४४० गरेर आइसोलेसनमा ४ सय ५७ जनालाई राखिएको छ। मंगलबार विराटनगरस्थित कोसी अस्पतालमा उपचार गराइरहेका झापाका ६२ वर्षीय पुरुष डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ३७ पुगेको छ।
नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सय ४ र आरडीटी विधिबाट ७४ हजार ६ सय ४९ जनाको परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट दुई हजार दुई सय ८० र आरडीटी विधिबाट पाँच हजार ८९ जनाको नमुना परीक्षण गरिएको छ।
Leave a Reply