काठमाडौं । एकीकृत जनता समाजवादी पार्टी (जसपा)मा नेतृत्वको विषयलाई लिएर ठुलो लफडा शुरु भएको छ।
गत १० वैशाखमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएपनि पदका कारण नेताहरुबीच मनमुटाब भएको हो । पार्टी एकीकरण भएपनि एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा विवाद सुरु भएको छ ।
केन्द्रीय समितिको अध्यक्षमा राजपाले महन्थ ठाकुरलाई अघि सारेको छ भने समावादीले उपेन्द्र यादवलाई प्रस्ताव गरेको वताइएको छ। नेतृत्वमै विवाद भएपछि एकीकृत पार्टीको सबै काम स्थगित भएको एक नेताले वताए ।
केन्द्रीय समितिको अध्यक्षमा अहिले दुवै पार्टीले दाबी प्रस्तुत गरेका छन्। नेतृत्वमै अहिले आएर अड्किएको छ । दुवै पार्टीले अध्यक्ष आफैंले पाउनुपर्ने अडान लिएको हुँदा बिबाद भारतीय दुताबाससम्म पुगेको स्रोतको भनाइ छ।
किनकी भारतीय दुताबास र जासुसी संस्था ‘रअ’ को पहलमा पार्टी एकिकरण भएको हुँदा बिबाद पनि दुताबासले नै मिलाउन पहल थालेको स्रोतको दाबी छ। ।
पार्टी एकीकरणपश्चात् चार सदस्यीय विधान एवं घोषणपत्र मस्यौदा समिति गठन भएको थियो । राजपाबाट लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला र समाजवादीबाट राजेन्द्र श्रेष्ठ र नवराज सुवेदी सदस्य रहेका थिए । यो समितिले केन्द्रमा विभिन्न ११ वटा सांगठनिक संरचना रहने गरी विधान निर्माण ग-यो ।
संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा यादवलाई राख्नुपर्ने प्रस्ताव समाजवादीले गरेको छ । तर, राजपाले केन्द्रीय समितिको अध्यक्षमा ठाकुरलाई राख्नुपर्ने अडानमा छ । भारतीया दुताबसले भने बाबुरामलाई नै अगाडि सार्ने बुझिएको छ।
पूर्वसहमतिबाट पछि हट्दै केन्द्रीय समितिमा समाजवादीले दाबी गरेपछि राजपा नेता राजेन्द्र महतो र शरतसिंह भण्डारी आक्रोशित बनेको वताइएको छ ।
फुट्नै लागेको पार्टी एकीकरण गरेर जोगाएको बताउँदै महतो र भण्डारीले अहिले आएर सहमतिबाट पछि हट्ने र अनेक दावी गर्ने भन्दै कडा रूपमा प्रस्तुत भएको स्रोतको भनाइ छ।
जासुसी संस्थाको पहल
एकीकृत पार्टीभित्र बिबाद बढेसंगै भारतीता गुप्तचर संस्था र दुताबासका कर्मचारीहरुले नेताहरुलाई छुट्टाछुट्टै बोलाएर छलफल गरेको स्रोत वताउँछ।
गत साउनमा ‘रअ’का नेपाल चिफ अभिजित हल्दरले राजपा अध्यक्ष मण्डलका ६ जनालाई काठमाडौंको द्धारिकाज होटलमा बोलाएर गोप्य भेटघाट गरेका थिए ।
उनले त्यहाँ बोलाउनुको मुख्य कारण थियो नेपालका क्षेत्रीय दलहरुलाई एक ठाउँमा उभ्याएर राष्ट्रिय दललाई काउण्टर दिनु । तर, तत्काल त्यो संभव भएन । स्रोत भन्छ- उनले त्यतिबेला भनेका थिए भारतीय सरकारको चाहाना यो छ कि तपाईहरु र बाबुराम भट्टराई तथा उपेन्द्र यादव एक ठाउँमा उभिनु पर्छ त्यसका लागि भारत सरकारले के कस्तो सहयोग गर्नु पर्छ त्यो तयार छ ।’
त्यसलगत्तै बसेको राजपा अध्यक्ष मण्डलको बैठकमा मत बाझिए पछि त्यो संभव भएन । त्यसको लगत्तै भारतका विदेश मन्त्री एस जयशंकर नेपाल भ्रमणमा आए । राजपा अध्यक्ष मण्डललाई जयशंकरले सामूहिक भेट्ने पूर्व निर्धारित कार्यक्रम थियो । त्यसैका लागि उनीहरु द्धारिकाज होटल पुगेका थिए ।
राजपा अध्यक्ष मण्डलका राजकिशोर यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी र अनिल झा द्धारिकाज् होटल पुग्दा जयशंकर चाहिँ याक एण्ड यति होटलमा अर्को कार्यक्रममा थिए ।
स्रोतका अनुसार अध्यक्ष मण्डललाई अभिजित हल्दर र सहायक प्रमुख स्टालिन लगायतले एउटा कोठामा लगेर बाबुराम उपेन्द्रसँग तत्कालै पार्टी एकीकरण गर्न निर्देशन दिएका थिए। हल्दरले त्यतिबेला केही बर्षमै केपी ओलीलाई हटाएर बाबुराम भट्टराई यो देशको प्रधानमन्त्री बनाउनु पर्छ भन्दै आश्वसन दिएको जानकार स्रोत दाबी गर्छ।
जयशंकर फर्केको भोलीपल्ट राजपा अध्यक्ष मण्डलका अध्यक्ष राजकिशोर यादवसँग ‘रअ’का नेपाल प्रमुख अभिजितले भेटेका थिए ।
उनले राजकिशोरलाई तत्काल पार्टी एकीकरणको मिति घोषणा गर्न र कार्यक्रम राख्न भने । त्यही अनुसार बैठक पनि बसेको थियो । राजपाका एकथरी नेताहरु पार्टी एकीकरणको तयारीमा लागिसकेका थिए । राजेन्द्र महतो र महेन्द्र यादवको दुई सदस्यीय टोलीले एकीकरणका लागि बाबुराम, उपेन्द्र र अशोक राईसँग वार्ता गरिसकेको थियो ।
बाबुरामले वार्ता केही अर्थ छैन,तत्कालै एकीकरणको मिति घोषणा गर्नुस् भनेर राजेन्द्र महतोलाई अह्राएका थिए । तर, यो विषयले अहिले पूर्णता पाएर दुई पार्टी एकीकरण भएपछि ‘रअ’को मिसन सफल भएको छ। अब बिबाद मिलाएर पुन ‘रअ’ ले आफ्नो क्षेत्र राजनीतिक रुपमा फराकिलो बनाउन लागेको हो।
Leave a Reply