Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • संरक्षित क्षेत्रमा खटिन तयार छौं : नेपाली सेना

    संरक्षित क्षेत्रमा खटिन तयार छौं : नेपाली सेना

    अनलाइन नेपाल
  • सोमबार, ५ जेष्ठ २०७७
  • 3K
    SHARES

    अपी हिमालको बेसक्याम्प र माथिको अपी हिमालको दृश्य । तस्बिर सौजन्य : अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय, दार्चुला

    काठमाडौं । नेपाली सेनाले भारतीय पक्षबाट अतिक्रमणमा परेका दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभागसमेत समेटिएको ‘अपि–नाम्पा संरक्षित क्षेत्र’ मा तैनाथ हुने गरी आन्तरिक तयारी थालेको छ । दार्चुलास्थित नेपाली भूमिमा सडक खनेपछि सेनाले अपि–नाम्पा सुरक्षार्थ खटिने गरी गृहकार्य थालेको हो ।

    सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सरकारले आदेश दिए आफूहरू त्यस क्षेत्रमा परिचालन हुन तयार रहेको बताए ।



    ‘राष्ट्रिय निकुञ्जलगायत क्षेत्रको सुरक्षामा अहिले पनि हामी तैनाथ छौं, सरकारले आदेश दिए चीन र भारतसँग सीमा जोडिएको अपि–नाम्पा संरक्षित क्षेत्र सुरक्षामा पनि खटिन तयार छौं,’ पाण्डेले भने,‘यदि त्यस क्षेत्रमा सेनाको टोलीलाई परिचालन गर्न सकिए सीमा सुरक्षादेखि जंगललगायत प्राकृतिक स्रोतसाधन र वन्यजन्तु तस्करी नियन्त्रणमा मद्दत पुग्ने हाम्रो पनि धारणा हो ।’



    पूर्वप्रधानसेनापति गौरवशमशेर राणाले सीमा अतिक्रमण नियन्त्रण तथा सीमावर्ती क्षेत्रको संरक्षित भूभाग रेखदेख तथा अन्य सुरक्षा निकायको ‘ब्याकअप’ मा सैनिक शक्ति कसरी परिचालन गर्ने भन्नेमा तत्काल राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर निर्णय लिनुपर्ने बताए ।

    ‘मुलुकको सीमा अतिक्रमण गरेर छिमेकीले बाटो निर्माण गरिसकेको अवस्थामा राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयमा सरकारले कस्तो किसिमको कदम चाल्नुपर्ने हो, यसबारे परिषद् बैठकमा बृहत् छलफल हुनुपर्ने हो, तर त्यस्तो केही देखिएको छैन,’ राणाले कान्तिपुरसँग भने, ‘यस्तै बेला हो सुरक्षा परिषद्को बैठक बसेर आवश्यक रणनीति बनाउने, यसमा सरकार सञ्चालन गर्नेको ध्यान खोइ पुगेको ?’

    सीमा अतिक्रमणपछि के–कस्तो कदम चाल्नुपर्ने हो, तत्काल सुरक्षा परिषद्को बैठक बसेर रणनीति तय गर्नुपर्छ : गौरवशमशेर राणा, पूर्वप्रधानसेनापति
    संरक्षित क्षेत्र घोषणा भएको दशक बितिसक्दा पनि सेना पठाउन नसक्नु सरकारको कमजोरी हो, यसको फाइदा सीमा अतिक्रमण गर्नेले उठाउँदै आएका छन् : दीपक बोहरा, तत्कालीन वन तथा भू–संरक्षणमन्त्री
    संरक्षित क्षेत्रमा सेना पठाउन सकिन्छ तर यस विषयमा मन्त्रालयमा कुनै प्रस्ताव आएको छैन : सन्तबहादुर सुनार, प्रवक्ता, रक्षा मन्त्रालय

    गएको मंसिरमा काठमाडौंमै सम्पन्न प्रबुद्ध समूहको सीमा सुरक्षा र विदेश नीतिसम्बन्धी छलफलमा सैनिक प्रवक्ता पाण्डेसहित ३ जर्नेलले भाग लिएका थिए । त्यो छलफलमा पनि कालापानी–लिपुलेक क्षेत्रमा सैनिक फौज राख्नुपर्ने माग आएको र यसलाई आफूहरूले सकारात्मक रूपमा लिएको पाण्डेले बताए ।

    त्यस क्षेत्रमा सेनाको फौज राख्न सके सीमा सुरक्षार्थ हालै स्थापना गरिएको सशस्त्रको बीओपी र स्थानीयलाई समेत ‘ब्याक सपोर्ट’ हुने उनको भनाइ छ । सशस्त्र प्रहरीले वैशाख ३१ मा कालापानी क्षेत्रनजिकै व्यास गाउँपालिका–१, छाङरु ९गामा० मा निरीक्षकको नेतृत्वमा २५ जनाको फौज सीमा सुरक्षार्थ खटाएको छ । छाङरुबाट भारतीय भूभाग १ किलोमिटरको दूरीमा पर्छ ।

    रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनारले पनि संरक्षित क्षेत्रमा सेना पठाउन सकिने बताए । तर यस विषयमा मन्त्रालयमा कुनै प्रस्ताव आइनसकेको उनले जानकारी दिए ।

    १० वर्षअघि नै सरकारले चीन–भारत सीमावर्ती क्षेत्रको नेपाली भूभाग तथा वनजंगल संरक्षणमा सेना खटाउने गरी दार्चुलाका साबिक २१ वटा गाविस समेटेर अपि–नाम्पा संरक्षित क्षेत्र घोषणा गरेको थियो ।

    भारत र चीनसँग सीमा जोडिएको १ हजार ९ सय ३ वर्गकिलोमिटर फराकिलो उक्त क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरिएकोबारे २०६७ असार २८ मा राजपत्रमा सूचना प्रकाशित गरिएको थियो । तर अझै पनि उक्त क्षेत्रमा सेना परिचालन गरिएको छैन ।

    ७ हजार १ सय ३१ मिटरको अपि हिमाल, ६ हजार ७ सय ५७ मिटरको नाम्पा र ६ हजार ६ सय ७० मिटर अग्लो व्यास हिमाल दार्चुलामै पर्छन् ।

    साबिकका २१ गाविस समेटिएको संरक्षित क्षेत्र हाल भारतीय अतिक्रमणमा परेको व्याससहित दुहु मार्मा गाउँपालिकाको पूरै भूभाग र महाकाली नगरपालिकाका वडा नम्बर १, २ र ३ को क्षेत्रले भारत र चीनसँग सीमा छुन्छ भने अपि हिमाल गाउँपालिका बझाङसँग जोडिन्छ ।

    तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा २०६६ मंसिर १७ मा सोलुखुम्बुको कालापत्थरमा बसेको मन्त्रिपरिषद् बैठकले यसलाई संरक्षित क्षेत्र घोषणा गरेको हो ।

    संरक्षित क्षेत्रको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तत्कालीन वन तथा भू–संरक्षणमन्त्री दीपक बोहरा भारतीय पक्षबाट भएका सीमा अतिक्रमण नियन्त्रण र वनजंगल फँडानी तथा वन्यजन्तु तस्करी नियन्त्रण गर्न उक्त निर्णय लिइएको स्मरण गर्छन् ।
    ‘कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायत नेपाली भूमि अतिक्रमणमात्रै होइन, त्यस क्षेत्रका वन्यजन्तु र वन पैदावर र जनावरको अवैध तस्करीमा भारतीय पक्षको संलग्नता बढ्दै गएपछि सरकारले संरक्षित क्षेत्र घोषणा गरेर सेना पठाउने गरी ‘रणनीतिक निर्णय’ लिइएको थियो,’ बोहराले भने, ‘तर यतिका वर्ष बितिसक्दा पनि संरक्षित क्षेत्रमा सुरक्षा फौज पठाउन नसक्नु सरकारको कमजोरी हो, यसको फाइदा सीमा अतिक्रमण गर्नेले उठाउँदै आएका छन् ।’

    अपि–नाम्पा संरक्षण व्यवस्थापन परिषद्का अध्यक्ष चक्रसिंह ह्याकीले सीमा अतिक्रमण र वनजंगल तथा वन्यजन्तुको तस्करी नियन्त्रण गर्न सेनाको फौज राख्न यसअघि पटक–पटक आग्रह गरिएको बताए ।

    उक्त संरक्षित क्षेत्रमा हिउँचितुवा, ध्वाँसे चितुवा, कस्तूरी, मृग, हाब्रे, रतुवा, घोरल, नाउर, झारल, भालु, दुम्सी, ब्वाँसो, लंगुर, थार, डाँफे, चिल, भ्याकुरलगायत दुर्लभ तथा संरक्षित वन्यजन्तु पाइन्छ । यस्तै, साल, खयर, सिसौ, उत्तिस, गुराँसलगायत रूख तथा वनस्पति पनि यस क्षेत्रमा पाइन्छन् । कान्तिपुर दैनिक

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार