Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • फिलिपिन्समा समुद्री आँधी, डेढलाख मानिस प्रभावित

    फिलिपिन्समा समुद्री आँधी, डेढलाख मानिस प्रभावित

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 3.8K
    SHARES

    काठमाडाैँ। फिलिपिन्सको पूर्वी सामार प्रान्तमा समुद्री आँधीबाट डेढलाख भन्दा बढी मानिस प्रभावित भएका छन् । कोरोनाभाइरसको महामारीकाबीच उद्धार र राहतमा निकै जटिलता देखिए पनि आँधी केही मत्थर भएपछि मानिसहरु शुक्रबार आआफ्ना घरगाउँबाट आश्रय शिविरमा आउन थालेका छन् ।

    भोङफोङ नाम दिइएको उक्त समुद्री आँधीले बिहीबार पूर्वी सामार प्रान्तको तटीय इलाकामा व्यापक असर पारेको थियो । फिलिपिनी जल तथा मौसम विज्ञान विभागका अधिकारीहरुका अनुसार यो आँधी निकै घना बस्ती भएको उत्तरी लुजोन द्विपतर्फ बढेको छ ।



    आँधीको उच्चतम वेग १२५ किलोमिटर प्रतिधण्टामा झरेको छ । शुरुमा यो आँधीको बेग १६५ किलोमिटर प्रतिघण्टा थियो । मौसम पूर्वानुमान विभागले यस आँधीको वेग केही कम भए पनि यसबाट तटीय इलाकाका गाउँघरमा ठूलै नोक्सान गर्ने जनाएको छ । यो आँधी आइतबार फिलिपिन्सको उत्तरी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ ।



    उत्तरपूर्वी बाइकोल क्षेत्रमा १ लाख ४५ हजारभन्दा बढी गाउँलेहरुलाई आपतकालीन अस्थायी शिविरहरु खासगरी विद्यालयहरुमा सारिएको छ । नागरिक उद्धार कार्यालयका निर्देशक क्लाउडियो युकोटले सामार प्रान्तका अरु हजारौं व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना बनाइएको जानकारी दिनुभयो ।

    विगतमा भन्दा यसपटकको उद्धार कार्य निकै जटिल बनेको छ । उद्धारकर्मी र स्वयंसेवीले मास्क र सुरक्षित सामग्री लगाउनु परेको छ । युकोटका अनुसार कोरोनाभाइरस रोगबाट सुरक्षित राख्न पनि ठूलो संख्यामा मानिसहरुलाई उद्धार गर्न कठिन भएको छ ।

    बाइकोल क्षेत्रमा पनि दर्जनौं व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका र चार जनाको मृत्यु समेत भएकाले यस पटकको उद्धार कार्य निकै जटिल बनेको युकोटको भनाइ छ । उहाँले उद्धार केन्द्रहरुको व्यवस्थापन पनि निकै चुनौतीपूर्ण बनेको बताउनुभयो ।

    विगतमा एउटा उद्धार आश्रय स्थलमा ४० जनासम्म राख्न मिल्थ्यो, अहिले चार परिवार मात्र राख्न सकिने भएको छ । मनिला समेत मुलुकका विभिन्न शहरमा लकडाउन जारी रहेको छ, तर फिलिपिन्स सरकारले समुद्री विपदालाई विचार गरी केही प्रभावित क्षेत्रमा लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ ।

    फिलिपिन्समा झण्डै १२ हजार मानिस कोरोना संक्रमित छन् भने ७९० जनाको मृत्यु भइसकेको छ । कोरोनाभाइरसबाट दक्षिणपूर्वी एसियाली मुलुकहरुमा फिलिपिन्स सबैभन्दा बढी प्रभावित छ। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार