Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • यसकारण बढ्दैछ उपत्यकामा कोरोनाको जोखिम

    यसकारण बढ्दैछ उपत्यकामा कोरोनाको जोखिम

    कुमार भण्डारी
  • बिहिबार, १ जेष्ठ २०७७
  • 4.6K
    SHARES

    काठमाडौं । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसका कारण विश्वभर हालसम्म २ लाख ९८ हजार १ सय ८३ जनाले ज्यान गुमाइसकेका छन् ।

    आज १२ः१५ बजेसम्मको रेकर्ड अनुसार ४४ लाख ३० हजार १ सय ६७ जना संक्रमित भएका छन् भने १६ लाख ६१ हजार ५ सय ५ जना निको भएर घर फर्केका छन् ।



    नेपालमा भने हालसम्म २ सय ४५ जना संक्रमित भेटिएका छन् । कोरोना संक्रमण रोक्नका लागि सरकारले चैत ११ गतेदेखि नै लकडाउन गरिरहेको छ । तर, पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमण एक्कासी बढ्न थालेको छ ।



    संक्रमित मध्ये प्रायःजसो तराईका जिल्लाका बासिन्दा रहेको तथ्यांक सार्वजनिक भइरहेका बेला उपत्यकामा पनि संक्रमितको संख्या बढिरहेको छ ।

    काठमाडौं उपत्यकामा हालसम्म ९ जना कोरोना संक्रमित फेला परेका छन् । नेपालमा सबैभन्दा पहिला उपत्यकामा नै चीनबाट आएका एक युवामा कोरोना पोजेटिभ देखिएको थियो ।

    कोरोना भाइरसको संक्रमण देखिएका ३२ वर्षका पुरुष चीनबाट आएका थिए । उनलाई माघ १० गते नेपाल कोरोना देखिएको हो । उनी निको भएर घर फर्किसकेका छन् ।

    त्यसैगरी दोस्रो संक्रमित पनि उपत्यकाबासी नै हुन् । १९ वर्षकी ति किशोरीलाई चैत १० गते कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियोे । उनी पनि निको भएर फर्किसकेकी छन् ।

    त्यसपछि भने लामो समयसम्म उपत्यकामा कोरोना संक्रमण देखिएको थियो । २०७७ साल बैशाख ३ गते पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आएका एकै परिवारका २ जनामा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु चैत ५ मा बेलायतबाट आएका हुन् ।

    बैशाख १ गते आरडिटी विधिबाट परीक्षण गर्दा परिवारका तीनै जनामा कोरोना पोजिटिभ देखिए पनि पिसीआर विधिबाट थप परीक्षण गर्दा दुई जना (५८ वर्षीया पुरुष, ८१ वर्षीया महिला)मा मात्र पोजेटिभ देखिएको छ भने बाँकी १ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

    यतिबेलासम्म उपत्यकामा देखिएका चारै जना कोरोना संक्रमित विदेशबाट आएका हुन् । त्यसपछिका दिनमा भने उपत्यका बाहिर कोरोना संक्रमण ह्वात्तै बढ्यो । छिमेकी मुलुक भारतसँग खुला सिमा भएका कारण प्रदेश २ मा सबैभन्दा बढि कोरोना संक्रमित बढेका छन् ।

    उपत्यकामा कारोना संक्रमण कम भएको भन्दै सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गर्यो । बैशाख २७ गते शनिबार सरकारले आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू गर्ने निर्णय गर्यो । उक्त निर्णयपछि आइतबार, सोमबार र मंगलबार लकडाउन खुकुलो भयो । तर, मंगलबार नै उपत्यकामा ३ जना सहित कपिलबस्तु, पर्सा, धनुषा, सर्लाही र रुपन्देहिमा गरी ८३ जनामा कोरोना संक्रमण देखियो ।

    त्यस लगत्तै सरकारले जेठ १ गतेबाट लागू हुने गरी एक जिल्लाबाट अर्को जिल्लामा जान निषेध गर्ने निर्णय गर्यो भने यस अघि जारी भएका सम्पूर्ण पास रद्द गर्दै लकडाउन कडा बनाउने निर्णय गर्यो ।

    तर, सरकारले तीन दिन लकडाउन खुकुलो बनाउँदा उपत्यका भित्रनेको संख्या ह्वात्तै बढ्यो । जसको फलस्वरुप उपत्यकामा कोरोना संक्रमण पनि बढ्यो ।

    मंगलबार उपत्यकामा कोरोना संक्रमण देखिएका ३ जना मध्ये २ जना बाहिर जिल्लाबाट काठमाडौं आएको पुष्टि भइसकेको छ ।

    भक्तपुरकी २५ वर्षीया महिला, जो सुनसरीको झुम्काबाट मोटरसाइकलमा आएकी थिइन् । उनी पेशाले स्टाफ नर्स भएको पनि खुलेको छ । त्यस्तै भक्तपुरका २७ वर्षीय पुरुष, जो सशस्त्र प्रहरी रहेको खुलेको छ । उनी उपत्यका बाहिर नगएको भए पनि कसरी कोरोना संक्रमण भयो भन्ने बारेमा भने खोजी भइरहेको बताइएको छ ।

    काठमाडौंकी ३३ वर्षीया कोरोना संक्रमित महिला, जो चन्द्रागिरि नगरपालिका मच्छेगाउँको भएको खुलेको छ । उनी पनि कञ्चनपुरको महेन्द्रनगरबाट २९ गते काठमाडौं आएकी थिइन् ।

    त्यसैगरी आजै (विहिबार) उपत्यकाकै चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने टिचिङ अस्पताल महाराजगञ्जमा उपचाररत ६ वर्षिया बालिकालाई पनि कोरोना पुष्टि भएको छ । उनी कपिलवस्तुबाट ६ दिन अगाडि उपचार गर्न काठमाडौं आएकी थिइन् ।

    यो सँगै उपत्यकामा कोरोना संक्रमा हुनेको संख्या ९ पुगेको छ । ९ जनामध्ये चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र भक्तपुरमा कार्यरत शसस्त्र प्रहरीको पूर्ण विवरण आउन बाँकी छ भने अन्य ७ जना नै बाहिरबाट आएका व्यक्तिहरु हुन् । जसमध्ये ४ जना विदेशबाट आएका हुन् भने ३ जना उपत्यका बाहिरबाट आएका हुन् ।

    त्यसो त बैशाख ३१ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा कोरोना पुष्टि भएका ३६ वर्षीय पुरुष पनि नेपालगञ्जको भएको खुलको छ ।

    यो विवरणले पनि के देखाउँछ भने सरकारले लकडाउनमा कडाई गर्न नसक्दा कोरोना संक्रमित जिल्लाबाट आवत जावत भइरहँदा उपत्यकामा कोरोनाको जोखिम बढिरहेकै छ ।

    सरकारले २ दिन लकडाउनमा सामान्य खुकुलो बनाउँदा उपत्यका भित्रिएका मानिसहरुमा कोरोना संक्रमण देखिएको छ । ती दुईदिनमा राजधानीबाहिरका विभिन्न जिल्लाबाट उपत्यकामा मानिसहरु प्रवेश गरेका थिए ।

    त्यस्तै अन्य देशहरुमा तुलनात्मक रुपमा वृद्ध मानिसहरुमा बढी देखिएको कोरोना संक्रमण नेपालमा भने युवा पुस्तामा बढी देखिएको छ । पछिल्ला दिनमा देखिएका अधिकाशं संक्रमित १६ देखि ४० वर्ष उमेर समूहका रहेको तथ्यांकबाट यस कुराको पुष्टी भएको छ ।

    पछिल्लो तथ्यांकअनुसार नेपालभर २ सय ४५ जना कोरोना संक्रमित देखिएको र ३५ जना उपचारपछि निको भइ घर फर्केको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    हिजो(बुधबार) एकैदिन रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार