Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • पदमुक्त भएपछि सबैका बस्त्र उतार्ने धम्की दिएका थिए

    लकडाउनमा नेता र पत्रकारलाई गाली गर्दै लोकमान सार्वजनिक

    लकडाउनमा नेता र पत्रकारलाई गाली गर्दै लोकमान सार्वजनिक

    अनलाइन नेपाल
  • बुधबार, ३१ बैशाख २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । देशमा कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरिरहेका बेला लोकमानसिंह कार्कीले बेमौसमको बाजा बजाएका छन्।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट पदमुक्त भएको ४० महिनापछि कार्कीले मुख खोलेका छन् । उनी ४४ महिना अख्तियार प्रमुख भएका थिए । उनी २०७३ पुस २४ को सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका थिए । पदमुक्त भएपछि लोकमानसिंह कार्कीले विज्ञप्ति निकालेर सबैका बस्त्र उतार्ने धम्की पनि दिएका थिए । तर, उनी आफैं क्यानडा पलायन भएर केही महिनापछि फर्किएका थिए ।



    पदमुक्त भएपछि मौन बसेका कार्कीले २०७७ बैशाख ३० गते एकाएक सामाजिक संजाल फेसबुकमा लामो टिप्पणी लेखेका छन् । जुन टिप्पणी उनले नयाँ बर्षको शुभकामना दिएर सुरु गरेका छन् भने अन्तिममा कोरोना महामारीमा आफ्ना बाबुको स्मृतिमा स्थापित भूपालमानसिंह प्रतिष्ठानमार्फत राहत बितरण गरेको र गर्न खोजेको उल्लेख गरेका छन् ।



    उनले भूपालमान सिंह प्रज्ञा प्रतिष्ठान यस अन्तरालमा प्राकृतिक प्रकोप(बाढी, पहिरो, भूकम्प, आँधी)बाट पीडितलाई, बृद्धाश्रम तथा अनाथ आश्रममा जीवन धान्न आवश्यक गाँस, बाँस, र कपासलगायतका सामग्रीहरुका लागि र असहाय विद्यार्थीहरुको शिक्षाका लागि आफ्नो सामथ्र्यानुसार सहयोग प्रदान गर्दै आएको उल्लेख गरेका छन् ।

    उनले आफू लामो समयदेखि मौन रहेको र सामाजिक सन्जाल बाट समेत अलग रहेको उल्लेख गर्दै अब त्यो मौनता तोडेको घोषणा गरेका छन् ।
    उनले लेखेका छन्–‘लामो समयदेखि मेरो फेसवुक पेज वाध्यतावश सञ्चालनमा थिएन या भनुँ म मौन थिएँ । यसका भित्र धेरै कारणहरु लुकेका छन् । त्यस संवादहीनतालाई अन्त्य गर्दै यहाँहरुसँग पुनः जोडिने पवित्र भावनाका साथ यसलाई आजैदेखि पुनः सुचारू गरेको छु ।’

    उनले नेपालकै सबैभन्दा ठूलो धनराशी एक करोडको अक्षयकोषको स्थापना आफ्ना बाबुद्वारा २०५२ सालमा भएपश्चात विभिन्न पुरस्कार लगायत सेवामुखी कार्यमा करिव डेढ करोड राशी प्रदान गरिसकेको उल्लेख गरेका छन् ।

    कार्कीका अनुसार प्रतिष्ठान प्रतिष्ठान प्रचारमुखी नभई परोपकारी र सेवामुखी भई आफ्नो कर्तव्य निर्वाह गर्न सदैव प्रयासरत थियो, छ र रहिरहनेछ ।

    उनले पिताका नाममा स्थापित प्रतिष्ठानले गरेका कामबारे उल्लेख गरिसकेपछि अर्को पाटो भन्दै अख्तियारबाट आफूलाई बहिर्गमन गराउन भूमिका खेल्ने तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, कान्तिपुर पत्रिका र पत्रकार, कर्मचारीहरुतर्फ संकेत गर्दै सबैलाई साधुवाद दिएका छन् ।

    लोकमान लेख्छन्–‘मलाई अख्तियारबाट बहिर्गमन गर्न भूमिका खेल्नुहुने न्यायसेवाका उच्चतम केही महाननुभावहरु, राजनीतिक नेतृत्व लगायत अन्य व्यक्तिहरु जसले महाभियोग प्रस्ताव ल्याउन आफ्नो द्वैध चरित्र लुकाउन अदालतको निर्णय नआएसम्म मलाई निलम्बित राख्नु भयो, पत्रपत्रिकाका उच्च घरानाका केही महानुभावहरु, स्वघोषित केही नागरिक अभियन्ताहरु, व्यापार व्यवसायलाई नैतिक अनैतिक रुपमा आफ्नो गोजीमा राख्ने निजी क्षेत्रका केही व्यक्तिहरु, केही कर्मचारीतन्त्रहरु तथा प्रतक्ष्य अप्रत्यक्ष रुपमा संलग्न केही महानुभावहरुलाई साधुवाद व्यक्त नगरी रहन सक्तिनँ । मलाई केही पत्रपत्रिका र अन्य केही व्यक्तिहरुले पलायन भएको भन्ने समेत प्रचार गरेको देख्दा पनि कुनै प्रतिक्रिया बिना उचित समयको प्रतिक्षामा मौन रहेको थिएँ । अरुले भन्ने दृष्टिको खोज गर्दा दृष्टिदोष मात्र प्राप्त हुन्छ । त्यसमा मेरो कुनै सरोकार पनि छैन् । तथापि अरुको बारेमा चियोचासो गर्नु भन्दा आफ्नो अन्तर यात्रामा प्रवेश गर्नु श्रेयस्कर हुने देखेर उहाँहरुलाई पनि सोही गर्न सुझाव दिदैछु । परमात्माले कहिल्यै अहित गर्दैन । शायद अख्तियारमै रहेको भए यही छुद्रताभित्र नै रमेर बसेको हुने थिएँ । तसर्थ उहाँहरुप्रति आभारी छु ।’

    ‘विगत करिव दश बर्षदेखि म ओशोको प्रवचनको नियमित श्रोता हुँ । अख्तियारबाट बहिर्गमन पश्चातको चार बर्ष भने मैले जीवन कसरी दुस्ख बाट मुक्त हुन सकिन्छ ? र मेरो जीवनको ध्येय के हो ?  जान्नका लागि ओशोको वाणीबाट गीतारुपी दर्शन मात्रै नियमित श्रवण र मनन गरिरहेको छु । यसै क्रममा महासागररुपी गीता ओशोको व्याख्यान मेरो अनुभवमा केही सारसंक्षेपमा लेख्ने प्रयास गरेको छु । जसलाई निकट भविष्यमा नियमित रुपले फेसबुक पेजमार्फत् क्रमशः यहाँहरु समक्ष पस्किने छु साथै पुस्तकको रुपमा समेत प्रकाशन गर्ने छु ।’ उनले लेखेका छन् ।

    कोरोना महामारी रोकथाममा सबैभन्दा अग्रपंक्तिमा रहेर महत्वपूर्ण भूमिका खेलिरहेका स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यक स्वास्थ्य सामग्री अभाव भएकाले २०७७ वैशाख ७ गते प्रतिष्ठानको तर्फबाट करिव १२ लाख बराबरको सहयोग गरेको उल्लेख गरेका छन् ।

    सात वटै प्रदेशमा ३ सय थान पिपिई, २५० थान एन ९९५ मास्क, ५० थान डिजीटल थर्मोमिटर र २० थान इन्फ्रारेड गन हस्तान्तरण गरिसकेको दाबी गरेका छन् ।

    प्रतिष्ठानले करिव १ हजार विपन्न वा अत्यावश्यक परिवारलाई चामल, दाल, नून, तेल गरि करिव रु १५ लाख वरावरको खाद्य सामाग्री वितरण गर्ने निर्णय गरेको छ । लकडाउनको नियम पालना गर्दै सामाजिक दूरी कायम राख्दै उक्त खाद्यान्न वितरण गर्ने उपयुक्त निकाय र उपयुक्त व्यक्तिको सक्दो छिटो खोजी गरी वितरण गर्ने पनि उनले उल्लेख गरेका छन् ।

    लोकमानले पोष्ट गरेको टिप्पणीमा उनको आशीर्वादमा विभिन्न सरकारी निकायमा बसी ब्रम्हलुट गरेकाहरुले तारिफ गरेका छन् । जसमा तत्कालीन उच्च मावि शिक्षा परिषदका सदस्यसचिव नारायण कोइराला पहिलो पंक्तिमा देखिएका छन् ।

    स्नातकको प्रमाणपत्र नै पेश नगरी नेपाल कोल लिमिटेडदेखि उच्च मावि शिक्षा परिषदको सदस्य सचिव हुँदासम्म कोइरालाले यति ब्रम्हलुट गरे कि उनी नेपालका २० जना भ्रष्टहरुभित्र पर्दछन् । तिनै कोइराला सुशासनको चर्को वकालत गर्ने रविन्द्र मिश्रको साझा पार्टीका केन्द्रीय सदस्यका रुपमा भ्रष्टाचारको बिरोध गर्दै हिंड्न थालेका छन् ।

    कोइरालादेखि लोकमानको जीवनकालमा उनी जहाँ जहाँ बसे, त्यहाँ बस्दा लाभ लिएकाहरुले उनको चाकडीमा शब्द खर्चिएका छन् । उनी प्रमुख हुँदा सचिवालयमा उजुरीमा मोलमोलाई गर्ने शाखा अधिकृत राधा श्रेष्ठले पनि चाकडी गरेकी छन् । प्रेमकुमार राई गृहमन्त्रालयको सचिव हुँदा श्रेष्ठलाई निजी सचिव बनाएका थिए ।

    नरेन्द्रराज प्रसाईले त यतिसम्म लेखेका छन् कि– कार्कीको बहिर्गमनपछि मुसाहरू बाघ भएर हिंडिरहेका देखिन्छन् । यिनीहरूलाई खुम्च्याउन र यो भत्किन आँटेको राष्ट्रको सबल निर्माणका लागि आज फेरि लोकमानसिंह कार्कीकै आवश्यकताको बोध भइरहेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार