काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा लकडाउन खुकुलो बनाएकोमा ‘कोभिड १९ रोकथाम उच्चस्तरीय संयन्त्र’का संयोजक समेत रहेका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलसँग आक्रोश पोखेका छन् ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकमा ओलीले काठमाडौंमा लकडाउन छ र ? भनेर प्रश्न गरेका थिए । स्रोतले ओलीलाई उदृत गर्दै भन्यो, ‘सञ्चारमाध्यमहरूमा केही दिनदेखि देखिरहेको छु । कपडाका पसल पनि खुलेका छन् । सडकमा जाम छ । बजारमा भिडहरू छन् ।’
ओलीले काठमाडौं उपत्यकामा लकडाउन खुलेको हो कि खुलाइएको हो ? भनेर उपप्रधानमन्त्री समेत रहेका संयोजक पोखरेलसँग जिज्ञासा राखेका थिए । ओली रिसाएपछि पोखरेलले उच्चस्तरीय समितिको बैठक राखेर लकडाउन कडाइ गर्ने वताएका थिए।
सरकारले ५ गतेसम्म लकडाउन गर्ने घोषणा गरेको थियो भने अहिले कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गृह मन्त्रालय अन्तर्गतको जिल्ला प्रशासन कार्यालयले मनपरी पास बितरण गर्दा सबारी साधनहरु केही दिन यता निर्वाध रुपमा चल्दै आएका थिए।
जुन कुराको जानकारी गृहमन्त्री रामवहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई भएपनि उनीहरु मौन बस्दै आएकोमा प्रधानमन्त्री ओलीको हप्कीसँगै लकडाउन कडा बनाउन लागेका छन्।
अहिले साँझ गृहसचिव न्यौपाने, महानगरिय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेल, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीलगायतको टोली मंगलबार साँझ नागढुंगा नाकामा पुगेको थियो ।
प्रधानमन्त्री ओलीको हप्कीपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै अस्थायी सवारी पास रद्द गर्ने निर्णय गरेको छ ।
विभिन्न कोरोना संक्रमितको संख्या बढेसँगै आवश्यक सावधानी अपनाउन यस्तो निर्णय गरिएको हो ।
काठमाडौं उपत्यकाभित्र लकडाउनप्रति गृह मन्त्रालय नरम भएपछि सवारी साधन चल्नुका साथै सडक र बजारहरूमा भिड हुन थालेको थियो ।
Leave a Reply