Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • रिपोर्ट नआउँदै घर पुगेका थिए सप्तरीका कोरोना संक्रमित युवक

    रिपोर्ट नआउँदै घर पुगेका थिए सप्तरीका कोरोना संक्रमित युवक

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 2.3K
    SHARES

    सप्तरी । कोरोना भाइरस संक्रमण पुष्टि भएका युवक अघिल्लो रात घर पुगेको खुलेपछि सप्तरीको डाकनेश्वरी नगरपालिकामा सन्त्रास फैलिएको छ।

    क्वारेन्टाइनमा २० दिन बसेका डाकनेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षीय युवकलाई आइतबार राती घर पठाएको थाहा पाएपछि गाउँमा त्रास बढेको डाक्नेश्वरी नगरपालिका प्रमुख शिवनारायण साहले बताए । उनलाई सप्तरीको डाकनेश्वरी नगरपालिका–५ पातोस्थित कन्त चन्द्र माविमा बनाइएको क्वारेन्टाइनमा वैशाख ९ गतेदेखि राखिएको थियो। युवक सप्तरीको पहिलो कोरोना संक्रमित हुन् ।



    लकडाउनका बेला चितवनबाट वैशाख ८ गते मध्यराती निक्लिएका उनीसहित १३ जना मजदुरहरु ट्रकबाट पथलैयासम्म आए। पथलैयाबाट हिंडन थालेका उनीहरुले जङ्गलमा पुन अर्को ट्रक भेट्टाए र चढे । बीचबीचमा पैदल हिडदै आएका उनीहरु कठौनाबाट ट्रयाक्टरमा चढेर पातो पुगेको डाकनेश्वरी नगरपालिका ३ का वडा अध्यक्ष प्रदिप भनिने अरुणकुमार साहले जानकारी दिए।



    चितवनबाट हिँडेपछि आफूसँग निरन्तर फोन सम्पर्कमा रहेका १३ जना मजदुरमध्ये १ जना भारत बिहारको करियौतका, एक जना सप्तरीको राजगढ गाउँपालिकाका र बाँकी ११ जना डाकनेश्वरी नगरपालिका–३ हटेलको रहेको वडा अध्यक्ष साहले बताए । साहका अनुसार १३ जनालाई घर जान नदिई सोझै क्वारेन्टाइनमा राखिएकोमा पिसिआर रिपोर्ट नआउँदै आइतबार राति युवकलाई घर जान दिएर गम्भिर त्रुटी भएको बताए।

    युवकको हजुरबुवा र हजुरआमाले निकै आग्रह गरेपछि स्वास्थ्य कार्यालय, सप्तरीसँग सल्लाह गरेर घर जान दिइएको डाकनेश्वरी नगरपालिकाका स्वास्थ्य संयोजक उमेश साहले जानकारी दिए। साहका अनुसार घरपरिवारका मानिसले २० दिन भइसक्यो भन्दै निकै आग्रह गरेपछि स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवलाई पीसीआर रिपोर्टबारे जानकारी माग्दा सबैको नेगेटिभ आएको बताएपछि होम क्वारेन्टाइनमा बस्न सल्लाह दिएर घर पठाइएको स्वीकारे।

    क्वारेन्टाइनमै गएर वैशाख २६ गते स्वास्थ्यकर्मीले उनीहरुको स्वाब संकलन गरेको थियो। उनीसँग आएका अन्य ६ युवाहरुको २ दिनअघि रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको थियो। आधिकारिक रुपमा युवकको परीक्षण रिपोर्ट आएको थिएन् । ‘स्वास्थ्य संयोजक साहले क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो भनेर सोधेपछि मैले त्यस्तै सुनेको हो भनेको थिए’ स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले भने ‘त्यसै आधारमा होम क्वारेन्टाइनमा बस्ने सल्लाहमा छाडिएको रहेछ, सोमबार परिक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी पाए लगत्तै उनीसहित परिवारलाई क्वारेन्टाइन गरिएको छ।’

    निकै दिनपछि घर पुगेका युवकबाट घरपरिवार, छिमेकी र साथीहरु संक्रमित भएको हुन सक्ने आंशका गाउँलेहरुले गरेका छन् । संक्रमित पुष्टि भएका युवकलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा राखिएको छ । उनका आमा, हजुरआमा र हजुरबुवालाई पातोस्थित क्वारेन्टाइनमा नै राखिएको छ । संक्रमितका बुबा वैदेशिक रोजमागरमा कतारमा बस्छन्।

    संक्रमित फेला परेपछि जिल्ला विपद व्यवस्थापन र जिल्ला कमाण्ड पोस्टको टोली पातोस्थित क्वारेन्टाइन पुगेको छ । क्वारेन्टाइनबाट घर पठाइएका र संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ्ग गरी पिसिआर परीक्षण गर्न लागिएको निमत्ति प्रमुख यादवले जानकारी दिए ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सोमबार विज्ञप्ति जारी गरी सप्तरीको पुरुषमा नया कोरोना पुष्टि भएसँगै कोभिड–१९ पुष्टि भएकाहरुको सङ्ख्या १ सय २१ पुगेको जनाएका छन् । परीक्षण रिपोर्ट नआउँदै संक्रमित युवालाई घर पठाए पछि त्रसित बनेका स्थानीयले ट्र्याकिङ्ग र ट्रेसिङ्ग गरी कोरोना परीक्षण तीब्र गर्न माग गरेका छन् ।
    आजको अन्नपूर्ण पोष्टबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार