Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नेपाली भूमिमा भारतद्वारा २२ किलोमिटर सडक निर्माण

    नेपाली भूमिमा भारतद्वारा २२ किलोमिटर सडक निर्माण

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०७७
  • 2.1K
    SHARES

    दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ को गुन्जीदेखि लिपुलेकसम्म करिब २२ किलोमिटर लामो सडक भारतले निर्माण गरेको छ । सीमावारि सडक निर्माण कहिले सुरु भयो भन्नेबारे व्यासका बासिन्दालाई समेत थाहा छैन । त्रिदेशीय सीमामा अवस्थित व्यासलाई विगतदेखि नै सरकारले चासो नदिँदा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको स्थानीयले गुनासो गरेका छन् ।

    भारतले शुक्रबार तावाघाट–लिपुलेक–मानसरोवर सडक उद्घाटन गरेपछि मात्रै नेपाल सरकारले औपचारिक प्रतिक्रिया जनाएको छ । व्यासका चन्द्रसिंह बुढाले चुनावताका कालापानीको कुरा उठाउने र सत्तामा पुगेपछि कुरा नगर्ने राजनीतिक दल र नेताहरूका कारण भारतले नेपाली भूमिमै सडक खन्न भ्याएको बताए । ‘हाम्रा नेताहरू सत्तामा हुँदा र चुनाव बाहेकको समयमा कालापानीको विषयमा बोल्दैनन्,’ उनले भने, ‘भारत र चीनले लिपुलेक नाका खोल्ने सहमति गरेपछि केही नेताहरू बोलेका थिए । पछि त्यत्तिकै सामसुम भयो । त्यसको परिणाम भारतले सडक बनायो ।’ भारतले व्यास क्षेत्रमा पञ्चायतकालदेखि नै अतिक्रमण गर्दै आएको उनले सुनाए । ‘तर त्यसविरुद्धमा कडा रूपमा प्रस्तुत हुने नेतृत्व कहिल्यै पाइएन,’ उनले भने ।



    भारतले उत्तर पश्चिमको लिम्पियाधुरादेखि गुन्जी कालापानी हुँदै लिपुलेकसम्मको नेपाली भूमि अतिक्रमण गरेको छ । व्यासका बासिन्दाका अनुसार छाङरुको सीतापुलमाथि नेपाली भूभागबाट कौवा क्षेत्रतिर जानेबित्तिकै भारतीय सुरक्षाकर्मीले निगरानी गर्छन् । कौवा र गुन्जी लिपुखोलाको आमुन्ने–सामुन्ने पर्छन् ।



    भारतले गुन्जीबाट नेपाल प्रवेश गरेर त्यसमाथिका सबै नेपाली भूभाग आफ्नो नियन्त्रणमा राखेको छ । लिम्पियाधुराको कुटीबाट आउने नदी महाकाली भए पनि भारतले कालापानीमा बनाएको काली देवी मन्दिर छेउको पानी (काली खोला) को मुहानलाई महाकालीको मुहान बताउँदै आएको छ ।

    काली देवी मन्दिरछेउको मुहानबाट निस्केको पानी लिपु भन्ज्याङबाट आएको लिपुखोलामा मिसाएको छ । काली खोलायताको सीमालाई मात्रै भारतले नेपाली भूभाग भन्दै आएको छ ।

    कालापानीमा भारतीय सुरक्षाकर्मी नहुँदासम्म व्यासका बासिन्दा लिपुलेक हुँदै ताक्लाकोट बजारमा व्यापार गर्न जान्थे । कालापानीमा भारतीय सुरक्षाकर्मी बसेपछि नेपालीलाई उक्त बाटो भएर अगाडि जान कडाइ गरिएको स्थानीय बताउँछन् । नेपालीलाई अहिले लिपुलेक भएर प्रवेश गर्न नदिने भएपछि तिंंकर भन्ज्याङ हुँदै ताक्लाकोट व्यापार गर्ने गरेको छाङरुका वासुदेव ऐतवालले बताए । ‘पहिले तिंकर गाउँका मात्र तिंकर भन्ज्याङबाट ताक्लाकोट जान्थे,’ उनले भने, ‘अहिले ताक्लाकोट व्यापार गर्ने सबैले नेपाली यही नाका प्रयोग गर्छन् ।’ कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार