एजेन्सी । अर्जेन्टिनी राष्ट्रिय टोलीका सदस्यसमेत रहेका २६ वर्षीय पाउलो डिबाला काेराेना भाइरस मुक्त भएका छन्। डीबालाले आफ्नो पछिल्लो परीक्षणको नतिजा नेगेटिभ आएको बताएका छन्। ‘मेरो पछिल्लो नतिजा नेगेटिभ आएको छ। एक महिनाभन्दा लामो समयको संघर्षपछि मैले कोरोनालाई पराजित गरेको छु’, सामाजिक सञ्जाल ट्विटरमा डिबालाले ट्विट गरेका छन्।
इटालियन सिरिए क्लब युभेन्ट्सका आक्रामक मिडफिल्डर हुन्, डिबाला। कोरोना भाइरसबाट संक्रमित इटालियन सिरिएका खेलाडीमध्ये उनी पनि एक थिए। गत मार्चको अन्त्यतिर युभेन्ट्सले आफ्ना खेलाडी कोरोना भाइरसबाट संक्रमित भएको जनाएको थियो। त्यसयता आइसोलेसनमा रहँदै आएका थिए। तर, अहिले उनी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको युभेन्ट्सले जनाएको छ। ‘एक महिनाभन्दा लामो समयपछि डिबाला कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्’, यभेन्ट्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
उनले केही समयपछि आफू पनि नियमित अभ्यासमा फर्कने बताएका छन्। डिबाला युभेन्ट्सको पहिलो रोजाइका खेलाडी हुन्। उनले यो सिजन क्लबका लागि विभिन्न प्रतियोगितामा १३ गोल गरिसकेका छन्। यसका अतिरिक्त उनले अन्य खेलाडीलाई गोलका लागि १२ वटा पास पनि उपलब्ध गराएका छन्।
Leave a Reply