वासिङ्गटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई लिएर पुनः चीनमाथि आक्रोश पोखेका छन्। ट्रम्पले कोरोना भाइरस पर्ल हार्बरमाथि भएको हमलाभन्दा ठूलो संकट भएको बताए ।
उनले अगाडि भने, ‘यो महामारी चीनभन्दा धेरै अमेरिकाको दुश्मन हो ।’ जापानले दोस्रो विश्वयुद्धको समयमा ७ डिसेम्बर १९४१ मा अमेरिकाको पर्ल हार्बरमा रहेको नौसेना बेस क्याम्पमा हमला गरेको थियो । यो हमलामा साढे दुई हजार मानिसको ज्यान गएको थियो । तर, अहिले कोरोनाबाट यो भन्दा कयौं गुणा क्षति भइसकेको छ ।
विहीबारसम्म अमेरिकामा १२ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ७५ हजारभन्दा बढी नागरिकको मृत्यू भइसकेको छ । अमेरिकाले महामारी फैल्याएको भन्दै चीनमाथि कडा कारबाही हुनुपर्ने बताउँदै आएको छ ।
चीनको लापरवाहीको कारण संसारभर कोरोना भाइरस फैलिएको अमेरिकाको आरोप छ ।
ट्रम्पले बुधबार भने, ‘कोरोनाका कारण हाम्रो देशमा अहिलेसम्मकै सबैभन्दा ठूलो हमला भएको छ । यो जहाँबाट सुरु भयो त्यहीँ रोक्न सकिन्थ्यो । तर चीनले यस्तो गरेन । मलाई थाहा छैन भाइरस यहाँसम्म कसरी आइपुग्यो । मैले यसलाई कुनै अदृश्य दुश्मनले गरिरहेको युद्धको रुपमा बुझिरहेको छु ।’
यद्यपि, अमेरिकी विज्ञहरुले भने भाइरस प्रकृतिबाट आएको बताउँदै आएका छन् । अमेरिकामा नोभेम्बरमा राष्ट्रपतिको चुनाव हुँदैछ । यसपटक अमेरिकाको गिर्दो आर्थिक अवस्थाको कारण ट्रम्प अप्ठेरोमा छन् । एजेन्सी
Leave a Reply