Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • जिम्मेवार व्यक्तिबाटै लकडाउन उल्लङ्घन

    जिम्मेवार व्यक्तिबाटै लकडाउन उल्लङ्घन

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 1.9K
    SHARES

    डोटी । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशैभर लकडान गरे पनि डोटीमा भने क्रमशः लकडाउनको व्यापक उल्लङ्घन भएको पाइएको छ । लकडाउनका समयमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन प्रशासनले आग्रह गरे पनि यहाँका जिम्मेवार व्यक्ति नै विभिन्न बहानामा लकडाउन उल्लङ्घन गरिरहेको प्रहरीको गुनासो छ । लकडाउन उल्लङ्घन गर्नेमा विभिन्न राजनीतिकदलका नेता, कर्मचारी बढी रहेको प्रहरीको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    मर्निङ वाक अर्थात् प्रात भ्रमणका नाममा जिम्मेवार व्यक्ति नै जताततै हिँड्ने, बजारमा बिनाकाम घुम्ने गरेका कारण लकडाउनको पालना गराउनमा समस्या भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीले बताए। उनले भने, “विभिन्न बहानामा जिम्मेवार व्यक्ति नै बजारभरि, डाँडाकाँडातिर घुमिरहेका देखिन्छन्, घरै बसौँभन्दा मान्नुहुन्न हामीलाई सास्ती बनाएका छन् ।” लकडाउनको सिद्धान्त पूर्ण पालना गर्दै घरैमा बस्न प्रहरीले आग्रह गरे पनि त्यसको कसैले पालना गरेका छैनन् ।



    विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको ‘लकडाउन’लाई जिल्लाका जिम्मेवार व्यक्तिबाटै पूर्ण पालन नगरी मनपरी हिँड्ने र आफ्नो रवाफ देखाउने गरेको दिपायल पिपल्लाका स्थानीयवासी सर्वजित देउवाले बताए । उनले भने, “जिम्मेवार व्यक्ति नै लकडाउन उल्लङ्घन गर्दै हिँडिरहेका छन् भने सर्वसाधारण त झनै घुम्ने नै भए नि ।” उनका अनुसार बिहान र बेलुकीको समयमा यहाँका सडक, सार्वजनिक ठाउँ, मठमन्दिरमा समाजले मान्दै आएका सामाजिक अगुवा नै प्रातः भ्रमणका नाममा जथाभावी हिँड्ने गरेका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले हामी लकडाउनको पहिलो चरणमा भएको र सङ्क्रमण नफैलियोस् र नागरिक आफ्नो स्वास्थ्यको बारेमा सतर्क होउन् भनेर विशेष सतर्कता अपनाउन लागिपरेको बताए । उनले भने, “हामी आमनागरिकको ज्यानको सुरक्षाका लागि विभिन्न प्रयास गर्दैछौँ, जान्ने बुझ्ने व्यक्ति नै बढी सडकमा अनावश्यक हिँड्ने गर्नु दुर्भाग्य हो ।”



    जिल्लाको सिलगढी, दिपायल, राजपुर, पिपल्लालगायत बजारमा बिहान बेलुकीको समयमा स्थानीयवासीको बाक्लो भीड लाग्ने गरेको छ । लकडाउनको उल्लङ्घन गर्दै यहाँका सार्वजनिक स्थानमा क्रिकेट, फुटबललगायत खेल दिनहुँ चलिरहेका छन् । लकडाउनको समयमा अत्यावश्यक उपभोग्य वस्तुका पसल खोल्न आग्रह गरिए पनि मुख्य शहरका प्रायःजसो पसल बन्द छन् भने अत्यावश्यक कामका लागि पास पाएका सवारी साधन सञ्चालनमा रहेका छन् ।

    अहिलेसम्म डोटीलगायत सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा कोरोना भाइरसका सङ्क्रमित नदेखिएको र उच्च सतर्कता अपनाउन सके सुरक्षित हुन सकिने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। सरकारसँगै जनता पनि जिम्मेवार बनेर यो लकडाउनलाई पूर्ण पालना गर्ने हो भने कोरोनाविरुद्धको लडाइँ जित्न सकिने उनको विश्वास छ । कुनै एकजनाको लापरवाहीले धेरैको जीवनलाई प्रभाव पार्ने भएकाले अहिलेको अवस्थालाई कुनै राजनीतिक दलले आह्वान गरेको नेपाल बन्द जस्तो नसम्झी परिवारका साथ घरै बसेर लकडाउनको पूर्ण पालना गर्न उनको आग्रह छ । प्रजिअ पौडेलले लकडाउनको अटेर गर्नेलाई ६ महिनासम्म कैदमा पठाउन सकिने कानून रहेकाले नियमको पूर्ण पालन गर्न सबैमा आग्रह गरे ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार