काठमाडौँ । चीनबाट सुरू भइ विश्वभर फैलिएकाे काेराेना भाइरस राेकथामका लागि अधिकांश देशले लकडाउनकाे साथै विभिन्न उपाय अपनाएका छन्। साेही क्रममा नेपालमा पनि सरकारले लकडाउनकाे साथै काेराेना भाइरस राेकथाम तथा नियन्त्रणका लागि विभिन्न उपाय अपनाएकाे छ।
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले राजधानी प्रवेश गर्ने सबै नाका सिल गर्नुपर्ने सुझावसहितको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी सुरक्षा कार्ययोजना तयार पारेका छन् ।
उपत्यकाबाहिरबाट भित्रिने मानिसबाट कोरोना भाइरसको संक्रमण फैलिनसक्ने उच्च जोखिम औंल्याउँदै काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले अत्यावश्यक सेवा र मानवीय संवेदनासँग सम्वन्धितबाहेक सबैको आवागमन नियन्त्रण हुने गरी कार्ययोजना तयार पारेका हुन् । बाहिरबाट मानिसको आवागमन रोक्न सके उपत्यकाभित्र लकडाउन खुकुलो बनाएर दैनिक जीवनयापन र अत्यावश्यक सेवाप्रवाहलाई सहज बनाउँदै लगिने रणनीति अपनाउने यस्तो कार्ययोजना बनाइएको प्रशासनले जनाएको छ ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले नुवाकोटबाट प्रवेश गर्ने बालाजुमाथिको तीनपिप्ले/मुड्खुभज्याङ, सिन्धुपाल्चोक जोड्ने जर्सिङपौवा, काभ्रेबाट प्रवेश गर्ने कात्तिके र जगाती/साँगा, धादिङबाट प्रवेश गर्ने थानकोट तथा मकवानपुरबाट आउने फर्पिङ नाकालाई अत्यावश्यक र मानवीय संवेदनासँग सम्बन्धितबाहेक सिल गरेर आवागमन नियन्त्रण गर्नुपर्ने प्रस्ताव तयार पारिएको बताए । ती नाकाको स्थलगत निरीक्षणका लागि मंगलबार दिनभर काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल नेतृत्वको सुरक्षा टोली पुगेको थियो । लकडाउन कार्यान्वयनसम्बन्धी कार्ययोजना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मा पेस गरिने छ । त्यसपछि आवश्यकता र औचित्य हेरेर सीसीएमसीले निर्णय गर्ने उनले बताए ।
प्रकाशित : वैशाख २३, २०७७ २१:५८
Leave a Reply