Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • नेकपा सचिवाल बैठक : यी हुन् बैठकका महत्वपूर्ण निर्णय

    नेकपा सचिवाल बैठक : यी हुन् बैठकका महत्वपूर्ण निर्णय

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 2K
    SHARES

    काठमाडौं । लामो विवाद र रस्साकस्सीपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले एकतावद्ध भएर अगाडि बढ्ने संकल्प गरेको छ। शनिबारको सचिवालय बैठकसँगै पछिल्ला दिनमा नेकपामा देखिएको विवाद तत्कालका लागि साम्य भएको छ। बैठकअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले सचिवालयका सदस्य, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै राष्ट्रपति विद्यादेवी भण्डारीसँगसमेत भेटवार्ता गरेका थिए।

    त्यसलाई सचिवालय बैठकको तयारीको रुपमा हेरिएको थियो। प्रधानमन्त्रीले दिनभरको दौडधुप र नेताले दिएको सुझावकै आधारमा सचिवालय बैठकमार्फत् पार्टी एकताको सन्देश दिएका हुन् । सचिवालय बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ।



    फुटमा नलाग्न निर्देशन
    नेकपा सचिवालय बैठकले पार्टीलाई एकतामा दृढ हुन र फुट उन्मुख गर्ने कुनै क्रियाकलापमा सहभागी नहुन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिने निर्णय गरेको छ।



    ‘आजको केन्द्रीय सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनमा देखा परेका संकटलाई समाधान गर्ने गरी एकतावद्ध भएर पार्टी एकताका निम्ति दृढ रहने संकल्प गरेको छ’, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टी एकतालाई रक्षा गर्ने र त्यसलाई सुदृढ पार्ने, पार्टी एकतालाई कमजोर पार्ने र पार्टीलाई फुट उन्मुख गर्ने कुनै पनि क्रियाकलापमा सामेल नहुन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिने निर्णय भएको छ।’

    प्रधानमन्त्रीको आत्मआलोचना
    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले अहिलेसम्म भएका कमिकमजोरीप्रति आत्मआलोचना गरेका छन्। सँगै अर्का अध्यक्ष प्रचण्ड र सबै सचिवालय सदस्यले आत्मआलोचना गर्दै एकतावद्ध भएर अगाडि बढ्ने संकल्प गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ।

    ‘पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्धति र कम्युनिस्ट मूल्य मान्यता अनुसार सञ्चालन गर्ने, पार्टीको मार्ग निर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख आर्थिक रुपान्तरणको लक्ष्य हाँसिल गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णय लिएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘यस विषयमा पार्टी र सरकारसँगै सम्बन्धित क्षेत्रमा भएका कमिकमजोरीप्रति प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष कमरेड केपी ओली, अर्का अध्यक्ष कमरेड प्रचण्ड र अरु सचिवालयका कमरेडले आत्मआलोचना गर्दै अघि बढ्ने संकल्प गर्नु भएको छ।’

    सँगै पार्टीलाई कम्युनिस्ट मूल्य मान्यता अनुसार सञ्चालन गर्ने र जनताको पक्षमा काम गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णयसमेत सचिवालय बैठकले गरेको छ।

    स्थायी कमिटी बैठक वैशाख २५ गते
    वैशाख २५ गते नेकपा स्थायी कमिटी बैठक बस्ने भएको छ। सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

    ‘पार्टीको एकता, सहमति र समस्या समाधानको निष्कर्ष अनुरुप पार्टीलाई दिशानिर्देशित गर्नेगरी यही वैशाख २५ गते ११ बजे काठमाडौंमा स्थायी कमिटी बैठक बस्ने निर्णय भएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘त्यसको तयारीका लागि पार्टी सचिवालय बैठक वैशाख २४ गते दिउँसो ३ बजे बस्नेछ।’

    वामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने
    सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ। ‘उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने र प्रतिनिधिसभामा लैजाने पहल गर्ने निर्णय लिएको छ’, प्रवक्ता श्रेष्ठले भने।

    प्रधानमन्त्री ओलीले गौतमलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेसँगै यो निर्णय सचिवालय बैठकले गरेको हो।

    कोरोनाविरुद्ध लाग्न आह्वान गर्ने
    सचिवालय बैठकले सिंगो देश एकतावद्ध भइरहेको सन्दर्भमा अझ एकतावद्ध भएर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणविरुद्ध विजय हुनेगरी लाग्न नागरिक समाज र सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी गराए।

    ‘कोरोना भाइरसविरुद्ध सिंगो देश एकतावद्ध भइरहेको सन्दर्भमा अझ बढी एकतावद्ध भएर संक्रमणलाई पराजित गर्न र त्यसमाथि विजयी हुनेगरी लाग्न सम्पूर्ण राजनीतिक पार्टी, नागरिक समाज र पार्टी पक्तिलाई आह्वान गरेको छ’, प्रवक्ता श्रेष्ठले भने।

    विवाद र फुटको स्थितिमा पुगेको नेकपालाई शनिबारको सचिवालय बैठकले एकतातर्फ फर्काएको सन्देश दिएको छ। बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले सरकारले संसदको अधिवेशन बोलाउने तयारी गरेको जानकारीसमेत गराएको प्रवक्ता श्रेष्ठले बताए।

    बैठकले सबै विवादलाई बिर्सिएर अब जनताले दिएको जनादेश अनुसार सामाजिक एवम् आर्थिक रुपान्तरणलाई अगाडि बढाउने निष्कर्ष निकालेको छ। अन्नपुर्ण पाेष्टबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार