Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सचिवालय बैठक अगाडि ओली र दाहाल–नेपालका बाक्ला भेटघाट

    सचिवालय बैठक अगाडि ओली र दाहाल–नेपालका बाक्ला भेटघाट

    अनलाइन नेपाल
  • शनिबार, २० बैशाख २०७७
  • 4.8K
    SHARES

    काठमाडौँ । शनिबार बस्ने सचिवालय बैठक अगाडि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतासँग नियमित संवाद गरेका छन् । भेटका विवरणहरु सार्वजनिक नभए पनि नेकपामा विकसित राजनीति घटनाक्रमसँगै प्रधानमन्त्री ओलीले थालेका संवाद अर्थपूर्ण छन् ।

    बिहीबार ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँग एक घण्टा लामो भेट गरे । नेपाल समूहका नेताहरुका अनुसार प्रधानमन्त्रीसँगको भेटमा नेता नेपालले तेस्रो अध्यक्ष बन्ने प्रस्ताव अस्वीकार गरेका थिए ।



    यस्तै, प्रधानमन्त्री ओलीले शुक्रबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि झन्डै दुई घण्टा छलफल गरेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटलगत्तै दाहालले अर्का नेता नेपाललाई उनकै निवास कोटेश्वरमा पुगेर भेट गरेका थिए । बिहीबार प्रधानमन्त्रीलाई भेट्न जानु अगाडि नेता नेपालले दाहालसँग छलफल गरेका थिए ।



    शुक्रबार नै नेता नेपाल समूहका स्थायी कमिटी सदस्यहरु उनको निवास कोटेश्वरमा भेला भएका थिए । अध्यक्ष दाहाल र नेपालसहितको भेलामा स्थायी कमिटी सदस्यहरुले शनिबार बस्ने सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तोक्न सुझाव दिएका छन् ।

    यस्तो भेला अध्यक्ष दाहाल निवास खुमलटारमा पनि भएको थियो । पूर्वमाओवादी समूहका नेताहरु खुलमटार भेला भएका थिए । भेलामा सहभागी एक नेताका अनुसार शनिबार बस्ने सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्न अध्यक्ष दाहाललाई सुझाव दिएका छन् ।

    बुधबारको सचिवालय बैठकमा दाहाल–नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग राखेपछि दबाबमा आएका प्रधानमन्त्री ओलीले त्यसको बदलामा कोरोनापछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए ।

    सचिवालयमा दुई फरक–फरक प्रस्तावसँगै बुधबारको बैठक शनिबारसम्मका लागि सारिएको थियो । सचिवालय बैठकले पार्टीको नेतृत्व टिमले अनौपचारिक प्रक्रिया अगाडि बढाउँदै २० गते पुनः सचिवालयको बैठक बस्ने निर्णय गरेको थियो । यही सेरोफेरोमा नेताहरुले अनौपचारिक संवाद थालेका हुन् ।

    नेकपाभित्र दुवै समूहले संसदीय दलका बहुमत पुर्‍याउन हस्ताक्षर अभियान चलाएकै बेला पछिल्लोपटक दुवै समूहका नेताहरु अनौपचारिक संवादमा जुटेका हुन् ।

    ‘माइन्युट’ गर्न दबाब दिने
    ओली इतरसमूहमा रहेका एक नेताका अनुसार शनिबार बस्ने सचिवालय बैठकमा ओलीमाथि दबाब बनाउन राजीनामाको मिति ‘माइन्युट’ गर्न दवाव बनाउने तयारी भएको छ ।

    शुक्रबार दिउँसो कोटेश्वर र खुमलटार पुगेका स्थायी कमिटीका सदस्यहरुले पनि दाहाल–नेपाललाई यही सुझाव दिएका छन् । यसमा वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहमत छन् । स्थायी कमिटीका नेताहरुसँगको छलफल पछि सचिवालयका यी चार नेताबीच छलफल भएको थियो ।

    ओलीले राजीनामा दिन्छु भनिसकेको हुँदा राजीनामाको मिति र त्यसपछि गौतमलाई प्रधानमन्त्री बनाउने प्रक्रियाबारे लिखित निर्णय गर्न प्रधानमन्त्रीलाई दबाब दिने रणनीति यो समूहले बनाएको ती नेताले बताए ।

    अन्तरविरोध बढाउन प्रधानमन्त्रीले कार्ड फाल्नु भयो–युवराज ज्ञवाली
    नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले गौतमलाई प्रधानमन्त्री र नेपालाई पार्टी अध्यक्ष भनेर प्रधानमन्त्री ओलीले अन्तरविरोध बढाउन कार्ड फालेको बताए ।

    ‘के साँच्चै प्रधानमन्त्रीले बामदेव कमरेडलाई प्रधानमन्त्री बनाउन चाहनु भएको हो त ? साँच्चीकै उहाँले राजीनामा दिन खोज्नु भएको हो त ? निवार्चित भएर आएका तमाम नेताहरु हुनुहुन्छ । अहिले सांसद नै नभएको व्यक्तिलाई प्रधानमन्त्री बनाउँछु भनेर कसरी भन्नुभयो ? अन्तरविरोध बढाउन उहाँले यो कार्ड फाल्नु भएको हो,’ नेता ज्ञवालीले भने, ‘उहाँले बामदेव कमरेडलाई धेरैपटक प्रधानमन्त्री बनाउने भन्दै आउनु भयो । तर, पटक–पटक धोका पाउनु भएको छ । यस्ता कुराबाट बामदेव कमरेडले शिक्षा लिनुपर्छ । केको लागि त्यो प्रस्ताव ल्याएको हो भन्ने कुरा चाँडै बामदेवजीले नै थाहा पाउनु हुन्छ । माधव कमरेडले पनि यो कार्ड फालिएको हो भन्ने बुझ्नु भएको छ ।’

    नेता ज्ञवालीले प्रधानमन्त्रीले फालेको कार्ड समस्या समाधानका लागि नभएको बताए । ‘त्यो प्रस्ताव कुनै समाधानका लागि ल्याएको होइन । बामदेव कमरेडलाई पनि कुनै समाधानका लागि प्रधानमन्त्री बनाउन भनेर ल्याइएको प्रस्ताव होइन । माधव कमरेडसहित तीन अध्यक्ष भनिएको छ । दुई अध्यक्ष हुँदा त व्यवस्थित ढंगले पार्टी चलेको छैन,’ नेता ज्ञवालीले भने, ‘मुख्यरुपमा व्यक्तिको भागबन्डा भन्दा पनि पार्टी, सरकार र देशलाई एउटा सिस्टमको आधारमा चलाउन पर्‍यो भन्ने हो । पार्टी सिस्टममा चलेको छैन । एकीकरणका काम अझै बाँकी छन् । ती सबैकुराको समीक्षा गर्नुपर्छ । त्यसको लागि स्थायी कमिटी बैठक बोलाउनुको विकल्प छैन ।’ कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार