काठमाडौं । चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको प्रमाण आफूसँग रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । पछिल्लाे सयस विभिन्न सञ्चार माध्यमसँग कुरा गर्दै ट्रम्पले चीनको वुहानस्थित इन्सटिच्युट अफ भायरोलोजीमा भएको असावधानीका कारण कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको बताउँदै आएका छन् ।
पत्रकार सम्मेलनमा उनले आफूले त्यो कुरा प्रत्यक्ष देखेको दाबीसमेत गरे । बिहीबार रातिको प्रेसमिटमा एक पत्रकारले ट्रम्पलाई पूरा विश्वासको साथ तपाईंले चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको भनिरहनु भएको छ, तपाईंसँग त्यसको प्रमाण छ भनेर सोधेका थिए । त्यसको जवाफमा ट्रम्पले भने, ‘छ मसँग । मैले देखेको छु ।’
उनले चीनले कोरोना भाइरस फैलाउने काम जानीजानी गर्यो कि गल्तीका कारण भयो भन्नेबारे भने स्पष्ट नभएको बताए । यसको जवाफ पाउन बाँकी रहेको ट्रम्पले बताए । ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चीनको पक्षपोषण गरेको आरोप लगाए । उनले यसमा डब्ल्यूएचओलाई लाज लाग्नुपर्ने टिप्पणी गरे । उनले भने, ‘डब्ल्यूएचओले चीनको पब्लिक रिलेसन जसरी काम गरेको छ ।’
अमेरिकी इन्टेलिजेन्सका ज्वाइन्ट चीफ अफ स्टाफ चेयरम्यान मार्क मिलेले यसै साता बताएअनुसार अमेरिकी इन्टेलिजेन्स यो भाइरस ल्याबमा उत्पन्न भएको हो वा होइन भन्ने खोजी गर्न प्रयासरत छ । यो कुरा यसअघि पनि केही बैज्ञानिकहरुको हवला दिएर बाहिर आएको थियो। तर,त्यसको पुस्टि हुन सकेको छैन।
ल्याबमा भाइरस उत्पन्न भएको भन्ने थ्योरीलाई चीनले भने अस्वीकार गरेको छ । चीनमात्र नभइ बाहिरी विश्वका कैयौं विज्ञहरुले पनि यो थ्योरीलाई हावादारी भन्दै आएका छन् । सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण सुरु भएको थियो । अहिले यस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । विश्वभर ३२ लाख भन्दा बढी संक्रमित र २ लाख ३१ हजारभन्दा बढीको ज्यान गइसकेको छ । (एजेन्सी )
Leave a Reply