Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कांग्रेस केन्द्रीय समितिमा सरकारको कडा आलोचना

    कांग्रेस केन्द्रीय समितिमा सरकारको कडा आलोचना

    अनलाइन नेपाल
  • बिहिबार, १८ बैशाख २०७७
  • 1.5K
    SHARES

    काठमाडौँ । सरकारका पछिल्ला कदमप्रति प्रमुख प्रतिपक्ष कांग्रेस आक्रामक देखिएको छ । स्वास्थ्य सामग्री खरिदमा भएको घोटालादेखि अध्यादेश प्रकरणसम्म आइपुग्दा सरकारले वैधता गुमाएको भन्दै केन्द्रीय सदस्यहरूले सरकारप्रति आफ्नै पार्टीको नेतृत्वसमेत लचिलाे बनेकोमा असन्तुष्टि जनाएका छन् ।
    कांग्रेस केन्द्रीय समिति बैठकको फाइल तस्बिर ।

    पार्टी मुख्यालय सानेपामा बुधबार बसेकाे केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य रामशरण महत, महेश आचार्य, गगन थापा, प्रदीप पौडेललगायतले सरकारको कडा आलोचना गरेका थिए । उनीहरूले पछिल्ला घटनाक्रममा राष्ट्रपतिको भूमिकासमेत निष्पक्ष र संवैधानिक मर्यादाभित्र नभएको बताएका छन् ।



    सरकारका गलत कदमविरूद्ध आक्रामक ढंगले अघि बढ्न नेतृत्वलाई केन्द्रीय सदस्यहरूले दबाबसमेत दिएका थिए । वरिष्ठ नेता पौडेलले काेरोना महामारी नियन्त्रणका दिशामा सम्पूर्ण शक्ति एकीकृत गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओली पार्टी फुटाउने दिशामा लागेको भन्दै आपत्ति जनाए । ‘संविधानको मर्म र भावनाविपरीत संवैधानिक परिषद्‍लाई आफ्नो मुठीमा ल्याउने र पार्टीहरूमा तोडफोड मच्चाउने नियतले दल त्यागसम्बन्धी ऐन संशोधन गर्न अध्यादेशहरू जारी गर्न पुग्ने यो सरकारको प्रधानमन्त्री देशमा अस्थिरता, अराजकता र भाँडभैलो मच्चाउने खराब नियतको प्रधानमन्त्री हो भनेर किन नभन्ने ?,’ पौडेलले बैठकमा राखेको लिखित मन्तव्यमा भनेका छन् ।



    उनले ‘पार्टी तोड्न सांसद अपहरण गर्ने बाहुबलीहरू खटाउने र लकडाउनमा जनकपुरको गाउँमा बसिरहेको सांसदलाई आश र त्रास देखाउँदै काठमाडौं ल्याउने कार्य गर्नु रक्षक नै भक्षक बनेको हो कि होइन ?’ भन्दै प्रश्न गरेका छन् ।

    सरकारले सिफारिस गरेको अध्यादेशलाई अध्ययन नै नगरी मिनेटभरमा पारित गर्ने राष्ट्रपतिको भूमिकासमेत विवादास्पद रहेको पौडेलको भनाइ थियो । ‘संविधानका संरक्षक नै धृतराष्ट्र बनेपछि हस्तिनापुरको संरक्षण कसले गर्ला ?,’ उनले भनेका छन् ।

    आफू अपहरित भएको र आफ्नो सांसद अपहरण गरिएकोमा पुलिस र सरकारी वकिलकहाँ उजुरी गर्न जाने सांसद र नेताहरूलाई रित्तै फर्काउने सत्ता देशको कानुनी प्रक्रियाको बाधक र स्वेच्छाचारी तत्त्व भएको पौडेलले बताए ।

    पूर्वमहामन्त्री सिटौलाले चिनियाँ राष्ट्रपतिसँगको टेलिफोन संवाद, प्रधानन्यायाधीशसँग प्रधानमन्त्रीको भेटलगायत राजनीतिक घटनाक्रमले मुलुकलाई असंवैधानिक र निरंकुश बाटोमा लैजाने तयारी भइरहेको आरोप लगाएका थिए । यसतर्फ पार्टी नेतृत्वलाई गम्भीर हुनसमेत सिटौलाले सुझाए । कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार