काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने र उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अगाडि सारेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव गरेका हुन् ।
सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले कोरोना संक्रमण सकिएपछि आफू तत्काल राजीनामा दिन तयार रहेको र त्यसपछि नेता गौतमलाई प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव अगाडि सारेका थिए । ओलीले चुनाव लडाएर वा संविधान संशोधन गरी राष्ट्रिय सभामार्फत पनि गौतमलाई प्रधानमन्त्री बनाउन सकिने बताएका थिए ।
बैठकको सुरुमा अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी र सरकारको आलोचना भएको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनु नै अहिलेको निकास रहेको बताएका थिए । दाहालपछि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले पनि राजीनामा दिएर निकास दिन प्रधानमन्त्रीसँग माग गरेका थिए । नेता खनालले राजीनामा दिनुको विकल्प नरहेको बताएका थिए ।
सरकारको प्रतिष्ठा घटेकाले राजीनामा दिनु नै राम्रो हुने नेपालको भनाइ थियो । त्यसपछि प्रधानमन्त्री ओलीले आफ्नो प्रस्ताव सुनाएका थिए । प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालको वरीयता अपुग भएको भन्दै तीन जना पार्टी अध्यक्ष बनाएर नेपाललाई पनि अध्यक्ष बनाउने प्रस्ताव अगाडि सारेका छन् ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि राजीनामा दिएर निकास दिन माग गरेको बैठक स्रोतले बतायो । तर, रामबहादुर थापा भने तत्काल प्रधानमन्त्रीको राजीनामाको विपक्षीमा उभिएका थिए ।
उपाध्यक्ष गौतमले विधि र प्रक्रियाबाट प्रस्ताव ल्याएर निर्णय गर्नुपर्ने माग राखे । त्यसपछि थप छलफल गर्ने भन्दै बैठक २० गतेसम्मका लागि टुंगिएको थियो । तर, बैठकपछि प्रवक्ताले भने, ‘सचिवालयको बैठकले यी सबै विषयमा अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकताबद्ध ढंगले अगाडि बढाउने र जनादेशअनुसार सामाजिक आर्थिक रुपान्तरणको प्रक्रिया अगाडि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिनेछ र आवश्यक प्रस्ताव तयार गर्नेछ । र, त्यही बैठकले नै माग भइआएको स्थायी कमिटी बैठकको पनि टुंगो लगाउनेछ ।’
विवाद उत्कर्षमा पुगेको बेला अचानक प्रधानमन्त्रीको यस्तो प्रस्तावलाई सचिवालयकका कतिपय नेताले दाहाल–नेपाल, गौतमलगायतको गठबन्धन भाँड्ने कोसिसको रुपमा बुझेका छन् । यद्यपि यसबारे थप निर्णय स्थायी कमिटी बैठकबाट हुने भएको छ । स्थायी कमिटीको बैठक २० गते बस्ने सचिवालय बैठकले तय गर्ने भएको छ ।
बल्लतल्ल बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सरप्राइज दिएपछि नेताहरु अन्योलमा परेका छन् । पार्टी विधान परिवर्तन गरेर पार्टी उपाध्यक्षको जिम्मेवारी पाइसकेका बामदेव गौतमलाई भावी प्रधानमन्त्रीको रुपमा ओलीले अघि सारेपछि नेताहरूलाई सरप्राईज भएको हो ।
प्रधानमन्त्री कै कारण सचिवालयले सिफारिस गरेर पनि उनी राष्ट्रिय सभासदस्य समेत हुन पाएका छैनन् । एक त उनी संघीय संसदको सदस्य छैनन् भने राष्ट्रिय सभाको सदस्य भएपनि संविधान संसोधन नगरी प्रधानमन्त्री बन्ने बाटो बन्द छ । संविधान संशोधनमा २ तिहाइ चाहिन्छ । नेकपा नेचाहरूले यसलाई बेमौसमी डम्फू भनेका छन् ।
` बामदेव कमरेडलाई प्रधानमन्त्री बनाउन सकिने कुरा प्रधानमन्त्रीले राख्नु भयो रे´ नेकपाका एक स्थायी कमिटी सदस्य भन्छन् `मैले भनेको मान्छेलाई दिदाँ छोड्न तयार छू भन्ने सन्देश दिन र नेताहरूलाई अलमलाउने प्रयास मात्रै हो यो´ उनले भने ।
ओलीले प्रधानमन्त्रीको लागि गाैतम र अध्यक्षको लागि माधव नेपाल ल्याउन सकिने राय राखेपछि थप छलफल गर्न २० वैशाखमा बैठक डाकिएको छ । तत्कालीन बामगठबन्धनको तर्फबाट साझा उम्मेदवारका रूपमा बर्दिया–१ बाट चुनाव लडेका गौतम कांग्रेस नेता सञ्जय गौतमसँग पराजित भएका थिए ।
चुनाब हारेर पनि उनी सदनमा आउने चाहाना निरन्तर राखेका थिए । जसको लागि डोल्पाबाट धनबहादृुर बुढालाई राजीनामा गराएर चुनाव लड्ने योजनामा अघि सारिएकोमा पूरा हुन सकेन । जनताले दबाब दिएको भन्दै बुढाले राजीनामा दिन मानेनन् ।
बाँकेका सांसद नन्दलाल रोकायसँग राजीनामाका लागि भएको प्रयास पनि असफल रह्यो । त्यसलगत्तै बैतडीबाट दामोदर भण्डारीलाई राजिनामा गराउने प्रयास समेत गरिएको थियो ।
पूरा हुन नसकेपछि काठमाडौं ७ बाट उठ्ने र उठाउने अन्तिम तयारी गरेर रोकिएको थियो । कास्की २ बाट उठ्ने बहस समेत नभएको हैन त्यो पनि असफल भएपछि उनलाई राष्ट्रिय सभामा लैजान नेताहरू सहमत भएका थिए ।
सुरूवातमा उनले संविधान संशोधन गरेर राष्ट्रिय सभाको सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्न माग गरेपछि रोकियो थियो । पुन सर्त विनापनि सदस्य हुन चाहेका गौतम प्रधानमन्त्री कै कारण राष्ट्रिय सभामा पनि जान पाएका छैनन् ।
Leave a Reply