Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ओली–दाहाल वार्ता : दुवै पद नछाड्ने ओलीको अडान, अब वारपारकाे लडाइ निश्चित!

    ओली–दाहाल वार्ता : दुवै पद नछाड्ने ओलीको अडान, अब वारपारकाे लडाइ निश्चित!

    अनलाइन नेपाल
  • बुधबार, १७ बैशाख २०७७
  • 2.4K
    SHARES

    काठमाडौँ — नेकपाभित्र शक्ति बाँडफाँडलाई लिएर आन्तरिक रुपमा संवाद भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न नसकिने अडान लिएका छन् ।

    पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग मंगलबार दिउँसो बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले बरु सम्भावित परिस्थितिको सामना गर्ने तर पद नछाड्ने अडान लिएका हुन् । स्रोतका अनुसार दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिएर अहिलेको निकास दिन आग्रह गरेपछि ओलीले आफ्नो रणनीति र अडान सुनाएका हुन् ।



    बैठकपछि ओली र दाहालले आफू निकट नेताहरुलाई बताएअनुसार प्रधानमन्त्री दुवै पद नछाड्ने अडानमा छन्। औपचारिक रुपमा नआए पनि नेकपामा दाहाल र नेपाल समूहले आन्तरिक रुपमा ओलीको राजीनामा मागेको छ । स्थायी कमिटीका एक सदस्यका अनुसार अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमलगायतको समूहले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाडेर पार्टीको अन्तरविरोधको निकास दिनुपर्ने प्रस्ताव आन्तरिक रुपमा अगाडि सारिसकेका छन्।



    मंगलबारको भेटमा पनि अध्यक्ष दाहालले समस्याको निकास दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको एक नेताले बताए । तर, ओलीले दुवै पद नछाड्ने बताएका हुन् । भेटमा ओली र दाहालले खुलस्त आ–आफ्ना कुरा राखेको पनि ती नेताले बताए । बालुवाटार जानु अघि दाहालले कोटेश्वर पुगेर वरिष्ठ नेता नेपालसँग छलफल गरेका थिए ।

    ओली निकट नेताले पनि प्रधानमन्त्री र पार्टी कुनै पदबाट ओलीले राजीनामा नदिने बताएका छन् । ‘समस्या सबैमा हुन्छन्, सुधार्दै जाने हो । उहाँ (प्रधानमन्त्री) पार्टीलाई एकताबद्ध गरेर जाने पक्षमा हुनुहुन्छ । त्यसका लागि हदैसम्म लचिलो देखिन तयार हुनुहुन्छ । त्यति हुँदाहुँदै पनि विभिन्न षड्यन्त्र गरेर केपी ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पदबाट हट्नुस् भन्नु र हटाउन खोज्नु भनेको मतलब पार्टी फुटाउनु हो,’ ओली निकट नेता कर्ण थापाले भने ‘त्यसकारण उहाँले प्रधानमन्त्री र अध्यक्ष छोड्ने भन्ने हुँदैन, त्यो संभावना पनि छैन । बरु सबै षडयन्त्रविरुद्ध लड्नु हुन्छ ।’

    सचिवालय बैठक अगाडि ओलीले अर्का अध्यक्षसँग आफ्नो अडान राखेका छन्, यसले बुधबारको बैठकमा गर्मागरम बहस हुने संकेत दिएको छ ।

    निकासको विषयमा दुवै अध्यक्षबीच कुरा नमिलेपछि बाँकी छलफलका लागि बुधबार सचिवालय बैठक बोलाउने विषयमा भने सहमति भएको छ ।

    दाहालसँग भेटवार्ता सकिएलगत्तै प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेललाई बोलाएर बैठकका एजेन्डाबारे जानकारी गराएका थिए । पौडेल ओली र दाहाल समूहबीच सोमबार भएको वार्तामा पनि सहभागी थिए । बुधबार पाँच बजेलाई सचिवालय बैठक तय भएको छ ।

    अध्यादेश प्रकरणले विवाद उत्कर्षमा पुगेपछि दाहाल–नेपाल समूहका २० स्थायी कमिटी सदस्यले हस्ताक्षरसहितको पत्र लेखेर स्थायी कमिटी बैठकको माग गरेका थिए । पार्टीभित्रै दबाबमा परेका ओलीले यसलाई आलटाल गर्दै आएका छन् ।

    बरु, अप्ठ्यारोमा परेका प्रधानमन्त्री ओलीले पछिल्ला केही दिनयता वरिष्ठ नेता नेपाल समूहलाई फकाउने कोसिस पनि गरेका थिए । मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओली र नेता नेपालबीच ‘वान टु वान’ वार्ता भएको थियो । त्यहाँ सहमति जुट्न नसकेपछि दुवै समूहका नेताहरू दोस्रो चरणको वार्तामा बसेका थिए ।

    कोटेश्वरस्थित एक सरकारी भवनमा तीन घण्टा लामो वार्तामा पनि नेपाल समूहलाई फकाउने ओली पक्षको प्रयास सफल हुन सकेन । त्यो छलफलमा नेपाल समूहले स्थायी कमिटी बैठक बसेर छलफल गरिनुपर्ने माग गरेको छ ।

    बुधबार सचिवालय बैठक बस्नु अघि प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत पुर्‍याउन मंगलबार साँझ आफू निकट र अन्य समूहका सांसदहरुलाई बोलाएर छलफल गरेका छन् ।

    उनले सोमबार पनि केही सांसदहरुलाई बोलाएर पछिल्लो परिस्थिति बारेमा ब्रिफिङ गरेका थिए । अन्य समूहका सांसदलाई फकाउने प्रयास पनि ओलीले गरेका छन् । कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार