Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • तबलिगी जमातमा सहभागी भएर वीरगन्ज फर्किएका ४७ औं दिनमा कोरोना पुष्टि

    तबलिगी जमातमा सहभागी भएर वीरगन्ज फर्किएका ४७ औं दिनमा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०७७
  • 2.9K
    SHARES

    वीरगन्ज — भारत नयाँदिल्लीस्थित निजामुद्दिनमा भएको तबलिगी जमातको धार्मिक भेलामा सहभागी भएर वीरगन्ज फर्किएको ४७ औं दिनमा एक जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।आइतबार वीरगन्जमा कोभिड–१९ संक्रमण पुष्टि भएका दुई जनामध्ये एक वीरगन्ज महानगरपालिका–१६, इनर्वा निवासी ५५ वर्षीय पुरुष गत मार्चमा तबलिगी जमातको धार्मिक भेलामा सहभागी भएर फर्किएको पाइएको हो ।

    गत मार्च १ देखि १५ सम्म भएको उक्त धार्मिक भेलामा उनी ४ दिनसम्म सहभागी भएका थिए । मार्च ६ मा दिल्ली गएका उनी मार्च ११ मा वीरगन्ज फर्किएको उनको ‘ट्राभल हिस्ट्री’ मा पाइएको छ । कोभिड–१९ संक्रमण पुष्टि भएपछि सिद्धार्थ माविको क्वारेन्टाइनमा रहेका उनलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको थियो । वीरगन्जस्थित नेपाली सेनाको चण्डीनाथ गणका गणपति मदनजंग राणाका अनुसार तबलिगी जमातमा सहभागी भएको सूचनाका आधारमा इनर्वाका ती व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको हो । वीरगन्ज फर्किएको ४७ औं दिनमा ती व्यक्तिमा संक्रमण पुष्टि भएको राणाले बताए ।



    आइतबार नै संक्रमण पुष्टि भएका अर्का व्यक्ति वीरगन्ज–३ निवासी ४५ वर्षीयमा भने कहाँबाट संक्रमण फैलियो भन्ने स्पष्ट भएको छैन । उनी वीरगन्ज महानगरको सरसफाइ शाखाका नाइके हुन् । संक्रमण पुष्टि हुनु एक दिनअगाडिसम्म उनी सरसफाइको कार्यमा संलग्न थिए । स्थानीयका अनुसार वडा–३ मा उनकै अगुवाइमा राहतसमेत वितरण भएको थियो । संक्रमितको ‘ट्राभल हिस्ट्री’ का आधारमा ट्रयाकिङ र ट्रेसिङ गरी ६० जनाको थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको छ । स्रोतका अनुसार संक्रमण पुष्टि भएका ती सरसफाइ कर्मचारी जमाती व्यवस्थापन समितिको सदस्यका रूपमा समेत सक्रिय थिए ।



    यसअघि गत चैत ३० मा वीरगन्ज–२, छपकैयास्थित मस्जिदमा बसेका तीन भारतीय मुस्लिम धर्म प्रचारक (जमाती) मा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । तीनै जना उपचारपछि आइतबार नारायणी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । ती भारतीय नागरिक कहाँबाट संक्रमित भए भन्ने कुरा अझै पुष्टि भएको छैन । स्थानीय प्रशासनका अनुसार उनीहरू ४ महिनाअघि नै नेपाल प्रवेश गरेका थिए । ‘फागुनमा सप्तरीमा भएको धार्मिक भेलामा उनीहरू सहभागी भएका थिए, त्यहाँ पनि संक्रमित भएको हुन सक्छन्,’ राणाले भने, ‘वीरगन्ज आएका बेला तीन जनामध्येका दुई सीमावर्ती रक्सौलमा एटीएमबाट पैसा झिक्न गएको देखिन्छ, त्यहाँ कोही संक्रमित भेटेको हो भने रक्सौलमा अझै पनि संक्रमण फेला परेका छैनन् अथवा उनीहरू वीरगन्जमै कोही संक्रमित व्यक्तिको सम्पर्कमा आएको हुन सक्छन् ।’ कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार