Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अन्तत: सुलभ अग्रवालविरुद्ध ४ वटा मुद्दा चलाउन सिफारिस

    अन्तत: सुलभ अग्रवालविरुद्ध ४ वटा मुद्दा चलाउन सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 2.6K
    SHARES

    काठमाडौँ । अन्तत: सुलभ अग्रवालविरुद्ध ४ वटा कसुरमा मुद्दा चलाउन सिफारिस भएको छ । थर्मल गनकाे कालोबजारी गरेको अभियोगमा पक्राउ परेका व्यवसायी अग्रवालविरुद्ध ४ वटा कसुरमा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको हाे ।

    अग्रवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले कालोबजारी, अवैध भण्डारण तथा नाफाखोरी र कृत्रिम अभाव सिर्जना र सार्वजनिक पदको दुरुपबयोग गरेका ४ वटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको हो ।जसअनुसार १५ लाख ७८ रुपैयाँ बिगो र ३ वर्ष कैद तथा सार्वजनिक पद धारण गरेको अवस्थामा अपराध भएकोमा थप डेढी सजाय मागदाबी गरिएको छ ।



    महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले आरोपित अग्रवालविरुद्धको अनुसन्धान सकिएको र ४ वटा कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको बताए । एसपी राठौरका अनुसार अग्रवालविरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा २ (क), दफा ३ (१), दफा ५ र मुलुकी फौजदारी सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को एउटा दफा गरी ४ वटा कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको छ । पदको दुरुपयोग गरी अपराध गरेको कसुरमा मुलुकी फौजदारी सजाय निर्धारण तथा कार्यान्वयन २०७४ को परिच्छेद २ को दफा १५ को उपदफा २ अनुसार पनि मुद्दा चलाउन माग गरिएको हो ।



    मुलुकी फौजदारी सजाय निर्धारण तथा कार्यान्वयन २०७४ अनुसार सार्वजनिक पदको दुरुपयोग गरी कसुर गर्ने व्यक्तिलाई कसुरमा हुने सजायको थप डेढी सजाय गरिने व्यवस्था छ ।
    प्रहरी अनुसन्धानको थप अध्ययन गरेर सरकारी वकिलको कार्यालयले अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता गर्ने छ । अग्रवाल नेपालका लागि किर्गिस्तानका अवैतनिक दूत पनि हुन् । थर्मल गनको कालोबजारीमा अग्रवालले कूटनीतिक सुविधाबापत लिएको गाडीसमेत प्रयोग गरेका थिए । उनले चढेको गाडी अहिले प्रहरी नियन्त्रणमा छ ।

    कालोबजारीविरुद्धको ऐनको दफा २ (क) मा सरकारले मोल निर्धारण गरिदिएकोमा सो मोलमा र मोल निर्धारण नगरेकोमा राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको माल बस्तुको मोलभन्दा बढी लिएर सामान बिक्री गरेमा बरामद सामान जफत गरी आरोपितलाई एक वर्षसम्म कैद र दश लाख रुपैयाँसम्म जरिवानासमेत हुने उल्लेख छ।

    त्यस्तै दफा ३ को उपदफा १ मा सयकडा २० भन्दा बढी मुनाफा लिएमा वा अभावको लाभ उठाइ नाफा लिई बिक्री गरेमा १ वर्ष कैद वा २ लाख ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्छ । सोही ऐनको दफा दफा ५ अनुसार कुनै मालबस्तुको मूल्य वृद्धि गराई अनुचित नाफा लिई बस्तु संग्रह गरी बिक्री नगरी जम्माखोरी गरेमा १ वर्ष कैद वा २ लाख ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्छ ।

    प्रहरीका अनुसार चीनबाट ३ हजारमा खरिद गरेको थर्मल गन नेपालमा १५ देखि २० हजार रुपैयाँसम्म लिएर उनले बिक्री गर्दै आएका थिए । प्रहरी आफैं ग्राहक बनेर अग्रवालसग थर्मल गन किन्न गएको थियो । त्यही क्रममा उनी नक्सालबाट पक्राउ परेका थिए । उनी हाल महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन् । चैत २५ गते ६७ थान थर्मल गनसहित नक्सालबाट उनी पक्राउ परेका थिए।

    संकटका बेला कोरोना संक्रमणबाट बच्न सरकारले चार्टर गरेर चीन पठाएको विमानमा सेटिङ मिलाएर आफ्नो व्यक्तिगत सामान ल्याउन सफल भएका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले ५ करोड लगानी गरेर २० हजार थान थर्मल गन नेपाल भित्र्याएका थिए । तर, उनले सो समय भन्सारमा जम्मा १ हजार २ सय थानको मात्रै भन्सार बुझाएका थिए । अग्रवालको साथबाट प्रहरीले ६७ थान थर्मल गन पनि नियन्त्रणमा लिइएको थियो ।

    भन्सार विभागका अनुसार हरेक व्यवसायीले विभिन्न मुलुकबाट आयात गर्ने सामानको सम्बन्धित भन्सार बिन्दुमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) स्पष्ट खुलाएर ल्याउनुपर्ने प्रावधान छ । तर, अहिले अग्रवालले ल्याएको थर्मल गनलगायत अन्य स्वास्थ्य सामग्री आयातको विवरणमा समेत कैफियत देखिएको छ । प्रहरीको दाबीअनुसार उनले सो समय ५ करोड रुपैयाँ लगानी गरेर २० हजार थान थर्मल गन नेपाल भित्र्याएका थिए । उनले जम्मा १ हजार २ सय थान मात्र थर्मल गनको भन्सार बुझाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार