Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • लकडाउनको समय सीमा लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस

    लकडाउनको समय सीमा लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस

    अनलाइन नेपाल
  • शनिबार, १३ बैशाख २०७७
  • 2.1K
    SHARES

    काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको समय सीमा लम्ब्याउन सिफारिस गरेको छ । उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणमा सरकारी प्रयास सही ट्र्याकमा रहेको समेत निष्कर्ष निकालेको छ ।

    लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने समितिको राय छ । यसबारे औपचारिक निर्णय भने मन्त्रिपरिषद्ले गर्ने समिति संयोजक ईश्वर पोखरेलले जानकारी दिए ।’लकडाउन बढाउने निर्णय मन्त्रिपरिषद्बाट हुनेछ हामीले बढाउनुपर्छ भनेर सिफारिस गरेका छौँ,’ उनले भने ।



    प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा कोरोना भाइरसको सन्दर्भमा हेलचेक्र्याइँ नगरी लकडाउनको विषयमा सिफारिस लिनका लागि उच्चस्तरीय समितिलाई निर्देशन दिएका थिए । समितिले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषदमा छलफल भएपछि मात्रै निर्णय लिइनेछ ।



    प्रधानमन्त्री केपी शर्मा ओलीले १५ वैशाखपछि लकडाउन के गर्ने भन्ने विषयमा प्रस्ताव ल्याउन निर्देशन दिएपछि उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो । शनिबार सिंहदरबारमा बसेको बैठकले लकडाउनलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ । बैठकमा सहभागी एक मन्त्रीले भने, ‘केही कमीकमजोरीका बाबजुद हामी कोरोना नियन्त्रणका लागि हामीले जे उपाय अबलम्बन गरेका छौं, त्यो प्रभावकारी भएको छ भन्ने हाम्रो निष्कर्ष छ ।’

    प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले पनि लकडाउनकै कारण संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको समन्वय समितिको निष्कर्ष रहेको सुनाए । उदयपुरको एउटा घटनाबाहेक अन्यत्र संक्रमित कम रहेको भन्दै उनले भने, ‘हामी सही ट्र्याकमा छौं । तर छिमेकी मुलुकहरुको अवस्थालाई हेरेर जानुपर्छ । अब कति दिन थप्ने, के गर्ने भन्ने मन्त्रिपरिषद्ले गर्नेछ ।’

    यसअघि राष्ट्रिय गौरवका आयोजना तथा उद्योग कलकारखाना पनि दूरी कायम गरेर मापदण्ड अपनाएर खुलाउन सक्ने निर्णय समितिले लिए पनि जनशक्ति अभाव र बढ्दो त्रासले खुल्न सकेको अवस्था छैन । काममा खटिने मानिसहरू सुरक्षित आवतजावतका विषयमा समेत मिलाएर काम अघि बढाउने नीतिमा सरकार देखिएको छ । तथापि, निजी तथा सार्वजनिक यातायात र अत्याआवश्‍यकबाहेकको व्यापार नखोल्ने नीतिमा सरकार अडिग रहेको छ ।

    कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेकाे लकडाउनको आज ३३औँ दिन हाे । गत ११ चैतबाट देशभर लकडाउन लागू गरिएको हो । सरकारले १५ वैशाख सम्म लकडाउनको समय तोकेको छ । भारतले ३ मेसम्मका लागि लकडाउनको समय तोकेको छ ।

    नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरूको संख्या ४९ पुगेको छ । तीमध्ये ११ जना निको भएर घर फर्किइसकेका छन् । अहिलेसम्म ९ हजार ४ सय ८ जनाको पीसीआर प्रविधिमार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । देशभर १२ हजार ९ सय ८५ जना क्वारेन्टाइनमा छन् भने आइसोलेसनमा ८९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार