Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • छोराबाट बुवालाई सर्‍यो कोरोना, संक्रमितकाे संख्या ४९

    छोराबाट बुवालाई सर्‍यो कोरोना, संक्रमितकाे संख्या ४९

    अनलाइन नेपाल
  • शनिबार, १३ बैशाख २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । झापामा छोराबाट बुवालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण सरेकाे देखिएको छ। दमक नगरपालिकाका ६२ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण देखिएको हाे। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो।

    ६२ वर्षीय संक्रमित पुरुष दमककै स्थानीय हुन्। संक्रमित पुरुषमा आफ्नै छोराबाट संक्रमण सरेको शंका गरिएको छ। उनका छोरा गत महिना दुबईबाट आएका थिए। दमक नगरपालिकाका मेयर रोमनाथ ओलीका अनुसार बिहीबार र्‍यापिड टेस्ट गर्दा छोरा, बुवा र आमाकै पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो।



    धरानमा गरिएको पिसिआर परीक्षणमा बुवाको मात्र पोजेटिभ देखिएको हो। मेयर ओलीले संक्रमित पुरुष बाहिर नगएकाले विदेशबाट आएका छोराबाट सरेको हुनसक्ने बताए। ‘उहाँको परिवारमा बुवाको मात्र पिसिआरमा पोजेटिभ देखियो। आमा र उहाँको र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिए पनि पिसिआरमा नेगेटिभ आयो। श्रीमतीको र्‍यापिड र पिसिआर दुवैमा नेगेटिभ देखियो,’ उनले भने।



    अहिले संक्रमित पुरुष दमक अस्पतालको आइसोलेसनमै छन्। उनलाई शुक्रबार विराटनगरको कोरोना अस्पताल पठाउने नगरपालिकाको तयारी छ।’उहाँलाई आजै विराटनगर पठाउँछौं। त्यसपछि उहाँको सम्पर्कमा आएका व्यक्तिहरूको विवरण लिने काम गर्छौं,’ मेयर ओलीले भने, ‘सम्पर्कमा आएका व्यक्ति सबैको परीक्षण गर्छौं।’

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिर अधिकारीले जानकारी दिए । बिहीबारसम्ममा १० जना डिस्चार्ज भएका छन् । अरुको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

    यसअघि बिहीबार नै २६ वर्षीय पुरुष, १४ वर्षीय बालक र ५५ वर्षीय महिलामा कोरोना पोजिटिभ देखिएको पुष्टि भएको थियो । नेपालमा डिस्चार्ज हुनेको संख्या दिनप्रति दिन बढिरहेको छ। बिहीबार तीन जनाको डिस्चार्ज भएसँगै निको हुनेको संख्या १० पुगेको छ। हालसम्म डिस्चार्ज हुनेमा काठमाडौंका ३ धादिङका १, बागलुङका १ र धनगढीका चारजना रहेका छन्। एकजना फागुन महिनामै डिस्चार्ज भइसेका छन्।

    अहिलेसम्म आरडीटी विधिबाट ३८ हजार ८९ र र पीसीआर विधिबाट ९ हजार ४०७ गरी जम्मा ४७ हजार चार सय ९६ जनाको नमुना परीक्षण भएको छ। प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ७ सय ९१ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

    अहिले क्वारेन्टाइनमा १२ हजार ९ सय ८५ जना रहेका छन् भने उपत्यकामा ३ र बाहिर ८६ गरेर ८९ जनाको आइसोलेसनमा उपचार भइराखेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार