Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • एकै गाउँमा २४ कोरोना संक्रमित, जिल्ला सिल

    एकै गाउँमा २४ कोरोना संक्रमित, जिल्ला सिल

    अनलाइन नेपाल
  • बुधबार, १० बैशाख २०७७
  • 1.7K
    SHARES

    उदयपुर । प्रदेश १ मा मंगलबार एकैदिन ११ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै यहाँ संक्रमितको संख्या २४ पुगेको छ। उनीहरू सबै त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिदमा बसेका भारतीय र आसपासका बासिन्दा हुन्।

    यसअघि वैशाख ५ गते ११ भारतीय र उनीसँगै रहेका दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार थपिनेमा क्रमशः वर्ष १८, १८, २९, ३३, ४०, ४१, ४१, ५२ र ५८ का पुरुष, वर्ष ३६ की महिला र अर्की उमेर नखुलेकी महिला छन्। उनीहरू भने मस्जिद आसपासका बासिन्दा हुन्।



    मस्जिदमा बसेका भारतीय र नेपाली गरी १३ जनामा कोरोना पुष्टि भएपछि त्यस क्षेत्रका बासिन्दा र उनीहरूसँग सम्पर्कमा रहेकाहरूको स्वाब नमुना संकलन गरिएको थियो। त्यसपछि विराटनगरस्थित कोसी अस्पताल र काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला परीक्षण गरिएको थियो।



    विराटनगरमा सोमबार र मंगलबार आठ जनामा कोरोना पोजिटिभ भेटिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा थप परीक्षण गरिएको थियो। विराटनगरमा संक्रमण पुष्टि भएकालाई उपस्थित गराएरै धरानमा परीक्षण गर्दा पोजिटिभ देखिएको हो। उनीहरूलाई मंगलबार एम्बुलेन्समा राखेर धरान पुर्‍याइएको थियो।

    सेनाले संकलन गरेको बाँकी तीन जनाको स्वाब भने टेकुमा परीक्षण गर्दा कोराना पुष्टि भएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए। ‘प्रदेश १ मा संक्रमितको संख्या २४ पुगेको छ’, मन्त्री घिमिरेले भने, ‘सबै उदयपुरबाट स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएका हुन्।’

    प्रदेश जनस्वास्थ्य प्रयोगशाला र सेनाको छाउनी अस्पतालबाट आएको चिकित्सकका छुट्टाछुट्टै टोलीले तीन दिन लगाएर ३ सय २१ जनाको स्वाब संकलन गरी लगेका थिए। काठमाडौं लगेको स्वाब परीक्षणमा अझै संक्रमित थपिने सम्भावना रहेको चिकित्सक बताउँछन्। ६९ जनाको स्वाब परीक्षण भने विराटनगरस्थित कोसी अस्पतालमा भइरहेको छ। ९ वटा स्वाब त्यस क्षेत्रमा खटिएका सुरक्षाकर्मीको हो।

    भुल्के क्षेत्रमा ५२ घर छन्। प्रहरीले सबै सिल गरेको छ। यस क्षेत्रमा ६ सय जनसंख्या रहेको प्रशासनको तथ्यांक छ। यसअघि मस्जिदभित्र रहेकामा मात्रै कोरोना देखिएकामा मंगलबार भने बाहिरका बासिन्दामै संक्रमण पुष्टि भएको छ। कोरोना कसरी संक्रमण भयो भनेर तनावको विषय बनेको छ।

    भुल्केमा दुई जना विदेशबाट आएका युवक पनि रहेको खुलेको छ। मस्जिदमा जानेआउने गरेकाले उनीहरूबाट सरेको हो कि भन्ने आशंकामा अनुसन्धानसमेत भइरहेको प्रहरीले जनाएको छ। ती युवक पनि मंगलबार संक्रमण पुष्टि भएकामै पर्छन्। उनीहरूमध्ये १ जना यूएईको दुबई र अर्का भारतको दिल्लीबाट आएको बताइएको छ।

    जिल्ला सिल

    संक्रमितको संख्या २४ पुगेपछि प्रदेश १ सरकारले उदयपुर जिल्ला सिल गरी लकडाउनलाई अझै कडाइ गर्दै निगरानी बढाउने निर्णय गरेको छ। सामाजिक विकासमन्त्री जीवन घिमिरेले मंगलबार साँझदेखि जिल्ला सिल गरेर निगरानी बढाइएको जानकारी दिए।

    ‘भुल्के यसअघि नै सिल गरिएको थियो। मंगलबारदेखि उदयपुर नै सिल गरिएको छ’, मन्त्री घिमिरेले भने, ‘अब उच्च निगरानी गर्दै सबैको परीक्षण गर्छौं।’

    संक्रमित सबैको उपचार विराटनगरमा

    कोरोना पुष्टि भएका ११ जनालाई मंगलबार साँझै विराटनगरस्थित कोरोना विशेष अस्पतालमा ल्याई भर्ना गरिएको छ। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन्। यसअघि १३ जना राखिएको कोसी अस्पतालको शाखा कोरोना विशेष अस्पतालमैै मंगलबार ल्याएकालाई पनि राखिएको हो। अन्नपुर्ण पाेष्ट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार