डा. शेरबहादुर पुन
काठमाडौँ । मैले जहिल्यै पनि आमजनताको हितको काम गर्दै आएको छु । जनमानसलाई सही सूचना दिने र जनचेतना जोगाउने मेरो काम हो । विगत १८ वर्षदेखि म शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यरत छु ।
यो अस्पताल साउथ एसियाकै सरुवा रोग अस्पतालको हब अस्पताल बनोस् भन्ने भिजनका साथ म हिँडिरहेको छु। बाहिरका ठूला अस्पतालले जागिर अफर गर्दा पनि नगएर मैले यस अस्पतालको सेवा गरेको छु।
सार्स, जापनिज इन्सेफ्लाइटिस, स्वाइन फ्लू, डेंगु ,बर्ड फ्लूजस्ता थुप्रै महामारी देखेको छु। त्यसमा डटेर काम गरेको छु। कोरोना महामारीमा सुरुदेखि नै खटिरहेको हुँ। म त यो अस्पतालको लागि एउटा जिउँदो इतिहासको रुपमा छु।
आफ्ना अभिव्यक्ति दिँदा केही कुरा गलत बोलेजस्तो मलाई लाग्दैन। जनतालाई सुसूचित गर्ने काम नै गरें जस्तो लाग्छ। मलाई अध्ययन अनुसन्धानमा रुचि छ। त्यसमा घोत्लिरहेको हुन्छु। लेखहरु लेख्छु। केही पाउँला भन्ने आशले त मैले कहिल्यै सोचेको छैन। आममानिसमा जनचेतना जगाउनु नै मेरो लागि प्रमुख हुन्छ।
बिहीबार मन्त्रालयले मलाई त्यहाँ बोलाएको छ भन्ने खबर थाह पाएँ। के कारणले बोलाइएको हो भन्ने मलाई थाह भएन। त्यो दिनमा निकै नै व्यस्त भएँ। ओपीडी थियो। पीपीई लगाएर काम गर्दै थिएँ। त्यो लगाएपछि फोन पनि उठाउन पाइन। बिरामीहरु अलि बढेका थिए। सनसिटीबाट केसहरु आएको थियो। अस्पतालको निर्देशक डा. सागरराज भण्डारीले ‘तपाईंलाई मन्त्रालय बोलाएको छ रे, जानुस् डा. साब,’ भन्नुभयो।
त्यस्तो के हतार होला र केही कुराले होला भन्ने सोचिराखेको थिएँ। अर्को दिन शुक्रबार थाह पाएँ मन्त्रालयले हाजिर भएन भनेर पत्र नै काटिसकेको रहेछ। मैले पत्र भने पढ्न पाएको छैन किनकी म घर गइसकेको थिएँ। पत्रमा के छ भनेर मलाई आधिकारिक जानकारी छैन। तर, मैले अनौपचारिक रुपमा सुनें अनुसार मैले मिडियामा गरेका कुराकानीसँग सम्बन्धित कुरा पत्रमा छ। चिठी नै आइसकेपछि मैले के जघन्य अपराध गरेको रहेछु भन्ने लाग्यो। कान्तिपुर दैनिकबाट
Leave a Reply