एजेन्सी। चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसका कारण लगाइएकाे लकडाउनको विरोध गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक सडक प्रदर्शनमा उत्रिएका छन्।
राष्ट्रपति ट्रम्पले प्रदर्शनको समर्थन गर्दै ‘मुक्त गरौँ’ भनेर लगातार तीन वटा ट्वीट गरेका छन्। उनले मिनिसोटा, मिचिगन र भर्जिनिया राज्यलाई मुक्त गरौँ भनेर ट्वीट गरेका हुन्। राष्ट्रपति ट्रम्पले लकडाउन र प्रतिबन्ध गरे पनि ठुलो संख्यामा नागरिकको ज्यान गइरहेकाले यसलाई खुकुलो पार्नुपर्ने बताउँदै आइरहेका छन्।
मिनिसोटा, मिचिगन तथा भर्जिनिया लगायत राज्यमा लकडाउनको अन्त्य माग गर्दै प्रदर्शन भएका हुन्। बिहीबार मिचिगन राज्यमा भने प्रदर्शनकारी बन्दुकसहित सडकमा उत्रिएका थिए।
बीबीसीका अनुसार राज्यहरूले लकडाउन गर्नाले नागरिकको आवासीय क्षेत्रमा समेत हिँड्डुल गर्ने अधिकार हनन भएको प्रदर्शनकारीको भनाइ रहेको छ। साथै उनीहरूले लकडाउनका कारण नागरिक आर्थिक समस्यामा परेको बताएका छन्। तर स्वास्थ्य अधिकारीले भने लकडाउन हटाएमा संक्रमण थप फैलिने चेतावनी दिएका छन्।
गत डिसेम्बरदेखि फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले अमेरिका सबभन्दा बढी प्रभावित भएको छ। अमेरिकामा हालसम्म ७ लाख बढी संक्रमित भइसकेका छन् भने ३६ हजार ८२२ ले ज्यान गुमाइसकेका छन्।
Leave a Reply