काठमाडौं । कोरोना भाइरसको महामारीबाट अमेरिकामा भन्दा चीनमा बढी मृत्यु भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । चिनियाँ अधिकारीहरुले हुेबई प्रान्तको वुहानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संशोधित संख्या सार्वजनिक गरेपछि ट्रम्पको यस्तो भनाइ सार्वजनिक आएको हो ।
शुक्रबार ट्वीट गर्दै ट्रम्पले भनेका छन्, ‘यस अज्ञात शत्रुबाट हुने मृत्युको तथ्यांक चीनले अचानक बढाएर दोब्बर गरायो । तर मृत्युको संख्या अमेरिकाको भन्दा पनि धेरै छ ।’ चीनले शुक्रबार हुेबई प्रान्तको वुहानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संशोधित संख्या सार्वजनिक गरेको थियो, जसमा १ हजार २ सय ९० जना मृतक थपिएका थिए । यससँगै हुबेईमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेर ३ हजार ८ सय ६९ पुगेको थियो भने पूरै चीनमा मृतकको संख्याको कूल संख्या ४ हजार ६०० पुगेको थियो ।
चिनियाँ अधिकारीहरुका अनुसार यसअघि फेला नपरेका र गणनामा छुटेकाहरु १२ सय ९० जना भेटिएका हुन् । महामारीको समयमा अस्पतालमा पर्याप्त भर्नाको अभावको कारण उनीहरू गणनामा छुटेको बताइएको छ ।
अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा ३१ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ भने झण्डै ७ लाख जनामा संक्रमण पुष्टि भएको छ ।
अमेरिकाले सुरुदेखि नै चीनले कोरोनाबाट मानवीय क्षतिको वास्तविकता लुकाएको र डब्ल्यूएचओले पनि चीनको पक्षपोषण गरेको आरोप लगाउँदै आएको छ । यही आरोपका बीच अमेरिकाले डब्ल्यूएचलाई दिँदै आएको आर्थिक सहयोग रोक्का गरेको छ ।
Leave a Reply