एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दिँदै आएको सहयोग रकम रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रसत डब्लुएओले खेद व्यक्त गरेको छ ।
डब्लुएचओका महानिर्देशक टेड्रोस एडहानम गेयब्रेयससले भने, ‘अमेरिकाले रकम दिन बन्द गरेपछि पर्ने प्रभावबारे डब्लुएचओले समीक्षा गरिरहेको छ । हामी आफ्ना सहयोगीहरुसँग आर्थिक संकटलाई लिएर काम गर्नेछौं । ताकि कुनै प्रकारको समस्या नहोस् । हामी रकम अभावमा काम नरोकिने सुनिश्चितता गर्न चाहन्छौं ।’
उनले अमेरिका लामो समयदेखि डब्लुएचओको सहयोगी रहँदै आएको छ र आर्थिक रुपले सहयोग गरिरहेको स्मरण पनि गरेका छन् । मंगलबार राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई अमेरिकाले वार्षिक रुपमा दिँदै आएको ४० देखि ५० करोड डलर बन्द गर्न निर्देशन दिएको बताएका थिए । यद्यपि उनको यो निर्णयको विरोध भइरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई दिँदै आएको रकम रोक्ने घोषणा गरेका थिए । अमेरिकाले डब्ल्यूएचओलाई हरेक वर्ष ४० देखि ५० करोड डलर रकम उपलब्ध गराउँदै आएको र चीनले मात्र ४ करोड डलर दिने गरेको ट्रम्पले बताएका थिए ।
ट्रम्पले अमेरिकाबाट ठूलो रकम प्राप्त गरेपनि डब्लुएचओले चीनको पक्षमा काम गर्ने गरेको आरोप लगाउँदै कोरोना भाइरसबारे अमेरिकालाई सही सूचना नदिएको आरोप लगाएका छन् । डब्लुएचओले भने ट्रम्पको यो भनाईप्रति आपत्ति जनाएको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस र अमेरिकी अर्बपति बिल गेट्सले सोमबार नै ट्रम्पको निर्णयको आलोचना गरेका थिए ।
Leave a Reply