काठमाडौं। प्रहरीले उपत्यकामा लकडाउन उल्लघंन गर्ने ७ सय ७४ महिला सहित ३२ सय ६७ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउसो ५ बजे सम्म उक्त संख्यामा पक्राउ परि छुटेका हुन।
त्यसैगरी ३ सय ६९ वटा दुई पाङ्ग्रे र ३९ वटा चारपाङग्रे गरी ४ सय ८ वटा सवारी साधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले काठमाडौंबाट सबैभन्दा बढि २ हजार ७ सय ४० जनालाई नियन्त्रणमा लिएको छ भने ललितपुरबाट ४ सय ७९ र भक्तपुरबाट ४८ जनालाई नियन्त्रणमा लिएको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
प्रहरीले नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै होल्ड गराउँदै आएकोमा आजबाट भने हल्का बल प्रयोग गरेको थियो।
लकडाउन एउटा व्यक्ति वा समूहको फाईदाको लागि गरिएको नभएर सम्पूर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि प्रहरीले आग्रह गरेको छ।
सोमबार मात्र पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएपछि प्रहरीले उपत्यकामा उच्च सतर्कता अपनाएको छ ।
Leave a Reply