ललितपुर । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण हालसम्म १ लाख २६ हजार बढिले ज्यान गुमाइसकेका छन् ।
नेपालमा पनि १६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले संक्रमण फैलन नदिन बैशाख १५ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेका छ ।
लकडाउन अवधिभर अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ । यस्तो भयावह अवस्थामा महालक्ष्मी नगरपालिका–३ बोझेपोखरी(इमाडोल) क्षेत्रका झण्डै तीन दर्जन युवाहरु भने स्वयस्फुर्त रुपमा सामाजिक सेवामा खटिएका छन् ।
लकडाउनका कारण खाना खानबाटै बञ्चित भएकाहरुलाई खाना खुवाउनेदेखि भित्रि सडकहरुमा निस्किएका सर्वसाधरणहरुलाई सचेत गराउनेसम्मको काम गरिएका बोझेपोखरी नागरीक समाजका संयोजक जय केसीले अनलाईन नेपाललाई बताए ।
लकडाउनका कारण अप्ठेरोमा परेकाहरुलाई बोझेपोखरीमा सामूहिक रुपमा खाना खुवाउँदै आएको बोझेपोखरी नागरीक समाजले मंगलबारबाट भने खाना खुवाउने कार्य बन्द गरेको समाजका सदस्य दिनेश सुवेदीले बताए । सुवेदीका अनुसार समाजले १ हप्तासम्म दैनिको ५०० जनालाई खाना खुवाउँदै आएको थियो ।
तर, काठमाडौंमा नै कोरोना संक्रमित भेटिएसँगै खाना खुवाउने कार्य बन्द गरिएको समाजका अर्का सदस्य सुमनकुमार कसीले बताए । मंगलबारबाट समाजले दैनिक रुपमा माइकिङ भने गर्ने भएको छ । अत्यावश्यक सामान किन्न निस्केका सर्वसाधरणहरु पनि पसलमा सँगसँगै सामान किनिरहेका देखिएको भन्दै समाजले माइकिङमार्फत सामाजिक दूरी कायम गरेर सामान किन्न आग्रह गर्ने र कोरोनाका बारेमा सचेतना फैलाउने कार्य गर्ने भएको हो ।
सुरुमा आफूहरुले नै केही रकम जम्मा गरेर खाना खुवाउन शुरु गरेको बोझेपोखरी नागरीक समाजमा पछिल्लो समय भने धेरै दाताहरुले सहयोग गरेको समाजका सदस्य दिनेश सुवेदीले बताए । उनले भने–‘काठमाडौंमै कोरोना संक्रमित देखिएपछि हामीले खान खुवाउने कार्य बन्द गरेका छौं । तर, कोही अप्ठेरोमा परेर खाना नै खान पाउनु भएको छैन भने हामी सुरक्षित रुपमा घरमा नै खाना पुर्याउने व्यवस्था मिलाउँछौं । त्यसका लागि हामीलाई सम्पर्क गर्नुपर्ने हुन्छ ।’
उनले आफूहरुसँग अझै पनि चामल स्टक रहेको भन्दै लकडाउनका कारण कसैल खाना खान नै नपाएको अवस्था भएमा फोन गर्न आग्रह समेत गरेका छन् । (दिनेश सुवेदी : 9851076261)
Leave a Reply