Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सनसीटीका आमाछोरालाई कसरी भयो संक्रमण ?

    सनसीटीका आमाछोरालाई कसरी भयो संक्रमण ?

    अनलाइन नेपाल
  • बुधबार, ३ बैशाख २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । कोरोना संक्रमणले दोस्रो चरणमा प्रवेश गरेको सरकारी घोषणाको एक सातापछि संक्रमितको संख्या बढ्न थालेको छ। काठमाडौंमा थप दुई जनामा संक्रमण देखिएसँगै जनजीवन त्रसित बन्न पुगेको छ। ८१ वर्षीया वृद्धा र उनका छोरासहित १६ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ।

    संक्रमितमध्ये एक जना उपचारपछि घर फर्किसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकी १५ जना चार अस्पतालमा उपचाररत रहेको बताए। संक्रमित हुनेमा १९ वर्षीया किशोरीदेखि ८१ वर्षीया वृद्धासम्म छन्।



    काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई जनाको उपचार भइरहेको छ। दुई जना ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत छन्। बागलुङस्थित धौलागिरि अस्पतालमा दुई जनाको उपचार भइरहेको छ। धनगढीस्थित सेती अञ्चल अस्पतालमा पाँच र वीरगन्जस्थित नारायणी अस्पतालमा चार जना उपचारका क्रममा रहेको डा. देवकोटाले बताए। उपचाररत संक्रमितको स्वास्थ्य स्थिति सामान्य छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४ हजार ८ सय १९ वटा परीक्षण गरिएको छ।



    आमाछोरालाई कसरी भयो संक्रमण ?

    मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार बेलायतबाट स्वदेश फर्केका ८१ वर्षीया वृद्धा र ५८ वर्षीय पुरुषमा मंगलबार कोरोना पोजिटिभ देखिएको हो। मंगलबार टेकुस्थित प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ। ‘दुवै जना बेलायतबाट नेपाल फर्किनुभएको हो। संक्रमितको विस्तृत विवरण तयार गर्ने क्रममा छौं’, डा. देवकोटाले भने।

    उनीहरू चैत ५ गतेदेखि काठमाडौंको कागेश्वरी मनोहरा—९ स्थित सनसिटी अपार्टमेन्टको १५०१ नम्बर फ्ल्याटमा बस्दै आएका थिए। परिवारमा रहेका आमा, छोरा र बुहारी गरी तीनै जनाको सोमबार गरिएको र्‍यापिड डायग्नोस्टिक किट (आरडीटी) परीक्षणमा भाइरस पोजिटिभ देखिएको थियो। त्यसलगत्तै पाटन अस्पतालमा भर्ना गरिएको थियो। आरडीटी परीक्षणमा पोजिटिभ देखिएकी बुहारीको पनि रियल टाइम पोलिमर्स चेन रियाक्सन (आरटीपीसीआर) परीक्षण गरिएको छ। तर, उनको परीक्षणको नतिजा आइनसकेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए।

    मन्त्रालयले गोपनीयता राख्नुपर्ने जनाउँदै कतार एयरवेजबाट काठमाडौंमा ओर्लिएका ती आमाछोराको नामसहितको परिचय सार्वजनिक गरेको छैन। उनीहरूसँगै ५६ वर्षीया बुहारी पनि स्वदेश आएकी थिइन्। नेपाल आएको २६ दिनपछि स्वास्थ्यमा समस्या आएको थियो। आरडीटी परीक्षणमा तीनै जनामा कोरोना पोजिटिभ देखिएपछि सबै जनालाई पाटन अस्पतालमा भर्ना गरिएको थियो। परिवारमा भाइरस पोजिटिभ देखिएपछि ट्रेसिङ कार्य सुरु भइसकेको डा. देवकोटाले बताए।

    संक्रमितमा दुई प्रकारको एन्टिबडी

    कोरोना संक्रमित व्यक्तिको शरीरमा सुरुमा भाइरस मात्र भेटिन्छ। एक सातापछि आईजीएम र दुई सातापछि आईजीजी एन्टिबडी भेटिन सक्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाले मंगलबारको प्रेस ब्रिफिङमा जानकारी दिइन्।

    डा. झाका अनुसार कोरोना संक्रमित व्यक्तिको शरीरले दुई किसिमको एन्टिबडी बनाउँछ। सुरुमा आईजीएम बनाउँछ। त्यसपछिको एन्टिबडी आईजीजी हो। रोग लागेपछि सामान्यतः तीनदेखि पाँच दिन (व्यक्तिपिच्छे फरक हुन सक्छ) पछि शरीरमा देखिन थाल्छ। कसैको शरीरमा एक सातापछि पनि देखिन सक्छ। ‘आईजीएम झन्डै दुई–तीन साता शरीरमा रहन सक्छ’, उनले भनिन्।

    संक्रमितको शरीरमा एक महिनापछि भाइरस नेगेटिभ हुने सम्भावना हुन्छ। त्यस्तै, आईजीएम पनि नेगेटिभ भेटिन सक्ने डा. झाको भनाइ छ। उनले थपिन्, ‘सुरुका दिनमा पीसीआर मात्र पोजिटिभ आउन सक्छ। एन्टिबडीका लागि गरिने परीक्षण नेगेटिभ हुन्छ। परीक्षण गरेको हप्ता–दस दिनपछि पीसीआर पनि नेगेटिभ आउने र एन्टिबडी पनि पोजिटिभ आउने हुन सक्छ।’

    रोग लागेको दुई हप्तापछि आईजीजी भन्ने अर्को एन्टिबडी शरीरमा बन्न थाल्छ। यो एन्टिबडी शरीरमा महिनौंसम्म रहन सक्ने डा. झाको भनाइ छ। ‘आईजीजी धेरै लामो समय रहन सक्छ। अरू रोगबाट यही अनुभव लिएका छौं’, डा. झाले भनिन्। भाइरसजन्य रोगहरू डेंगु, हेपाटाइटिस, एचआईभीको पनि पहिचान एन्टिबडी परीक्षणको माध्यमबाट हुने गरेको छ।

    एन्टिबडी परीक्षण गर्ने विभिन्न विधिमध्ये एलाइजा हो। अर्को र्‍यापिड टेस्ट हो। एलाइजा परीक्षण पनि नेपालमै हुने गरेको छ। यसबाहेक एन्टिबडी परीक्षणमा सजिलो विधिका रूपमा र्‍यापिड किट हो। नेपालसहित अमेरिका, अस्ट्रेलिया, भारतलगायत मुलुकमा र्‍यापिड किटबाट परीक्षण भइरहेको छ।

    आरडीटी कति विश्वसनीय ?

    कोरोना संक्रमण भए÷नभएको जाँच गर्न सरकारले र्‍यापिड डायग्नोस्टिक किट (आरडीटी)लाई प्राथमिकता दिएको छ। आरडीटी साधारण परीक्षण विधि हो। यसका लागि छुट्टै प्रयोगशाला आवश्यक पर्दैन। थोरै अवधिको तालिम लिएका व्यक्तिले पनि यसको परीक्षण गर्न सक्छन्। फिल्डमा परीक्षण गर्न यो विधि बढी प्रचलित छ।

    डा. देवकोटाका अनुसार यो र्‍यापिड किटलाई विदेशबाट आएका धेरै व्यक्तिमा परीक्षण गरिएको छ। ‘जो बाहिरबाट आउनुभएको छ। क्वारेन्टाइनमा बस्नुभएको छ। उहाँहरूमा परीक्षण गर्ने नीति लिएका छौं’, उनले भने। क्वारेन्टाइनमा रहेका व्यक्तिको संख्या मंगलबारसम्म ५ हजार ७ सय ७१ छ।

    ७७ जिल्लामध्ये धेरैजसोमा आरडीटी विधिबाट परीक्षण सुरु भइसकेको छ। २१ जिल्लामा मात्र यो विधिबाट परीक्षण बाँकी रहेको मन्त्रालयले जनाएको छ।

    आरडीटी विधिबाट ६ हजार ६ सय ७ वटाको परीक्षण गरिएको छ। पछिल्लो चौबीस घण्टामा मात्र १३ सय १६ वटा यही विधिबाट परीक्षण गरिएको प्रवक्ता डा. देवकोटाले बताए। ‘यो विधिबाट गरिएको परीक्षणका क्रममा विभिन्न ठाउँका केस पोजिटिभ आएको जानकारी प्राप्त भएका छन्’, उनले भने।

    यो विधिबाट १५ मिनेटमै पनि परीक्षण गर्न सकिने प्रयोगशालाकी निर्देशक डा. रुणा झाले बताइन्। उनले भनिन्, ‘प्रयोगशाला परीक्षण वा कुनै पनि परीक्षण आफैंमा पूर्ण हुँदैन। बिरामीको अवस्था र अन्य परीक्षणसँग मिलाएर विश्लेषण गर्नुपर्ने हुन्छ।’ संक्रमितको यात्रा गरेको विवरण, लक्षण, सीटी स्क्यानको रिपोर्ट, पीसीआरको नतिजा, एन्टिबडीको अवस्थालाई हेरेर विश्लेषण गर्नुपर्ने डा. झाको भनाइ छ।

    पीसीआर नै भरपर्दो

    घाँटीमा रहेको खकारको पोलिमर्स चेन रियाक्सनबाट परीक्षण गर्ने विधि हो पीसीआर। प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार कोरोना भाइरस भए÷नभएको परीक्षण गर्ने विश्वस्तरीय विधि नै पीसीआर हो। यो जटिल र लामो प्रक्रिया हो।

    यस विधिबाट गरिने परीक्षणका लागि विभिन्न मुलुकले मापदण्ड बनाएका छन्। निश्चित मापदण्ड बनाएर पीसीआर गरिन्छ। यसको परीक्षण गरी रिपोर्ट दिन २४ देखि ७२ घण्टा लाग्ने गरेको डा. झाले बताइन्। उनले भनिन्, ‘एकैचोटि नतिजा नआउने र जिनको पटक–पटक परीक्षण गर्नुपर्ने अवस्था पनि सिर्जना हुने भएकाले यति नै समयमा परीक्षण गरिसक्छौं भन्न कठिन हुन्छ।’

    यसमा संक्रमितको नमुनाका रूपमा संकलन गरिने स्वाबमा भाइरसको जिनको टुक्राको यकिन गरिन्छ। उनका अनुसार भाइरसको वंशाणुगत अंश (जेनेटिक मटेरियल) छ कि छैन भन्ने परीक्षण हुन्छ। त्यो नमुनामा जिनको टुक्रा छ भने त्यस ठाउँमा भाइरस पनि बसेको रहेछ भने प्रमाणित हुन्छ। पीसीआरबाट ६ हजार २ सय ९९ को परीक्षण गरिएको छ। पछिल्लो चौबीस घण्टामा नयाँ ५ सय ८४ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

    नमुना लिएको समयमा सम्बन्धित व्यक्तिको शरीरमा भाइरस छ÷छैन यकिन गर्न यो विधि विश्वभर प्रचलित भएको डा. झाले बताइन्। भाइरस भेटिएको अवस्थामा संक्रमण रहेको पुष्टि हुन्छ। ‘एक जना व्यक्तिमा संक्रमण भइसकेपछि भाइरस कति दिनसम्म शरीरमा रहन्छ। त्यो व्यक्तिपिच्छे फरक हुन सक्छ’, उनले भनिन्।

    रोगप्रतिरोधात्मक शक्तिका आधारमा कतिपयमा चाँडै भाइरस पहिचान हुन सक्ने उनले बताइन्। डा. झाले भनिन्, ‘कुनै व्यक्तिमा तीनदेखि चार सातासम्म यो भाइरस शरीरमा रहन सक्ने हुन्छ।’

    यो विधिबाट गरिने परीक्षणमा आरडीटीभन्दा धेरै समय लाग्छ। प्रयोगशालाको बनावट पनि विशेष खालको निर्माण गर्नुपर्छ। परीक्षण गर्ने व्यक्ति पनि विशेष तालिमप्राप्त विज्ञ हुनुपर्ने उनले बताइन्। डा. झाले भनिन्, ‘पीसीआरमा साधारणतया भाइरसका लागि दुई वा तीन वटा जिन हेर्ने कोसिस गर्छौं।’ भाइरसको पूरै जिन परीक्षणका लागि जिन सिक्वेन्सी हो। अर्को विधि भाइरस कल्चर हो।

    कोरोना भाइरस देखा परेपछि नै विश्वका विभिन्न वैज्ञानिकले परीक्षणका विभिन्न विधिबारे अनुसन्धान जारी राखेका छन्। भाइरससँग लड्नका लागि शरीरले बनाउने एन्टिबडी पनि परीक्षण गरी कोरोना पत्ता लगाउन सकिनेसम्बन्धी नयाँ विधिको विकास भइरहेको डा. झाले बताइन्।

    रोग लागिसकेपछि सामान्यतः तीनदेखि पाँच दिनपछि र कसैको शरीरमा एक सातापछि पनि कोरोना भाइरसको लक्षण देखिन सक्छ। अन्नपुर्ण पाेष्टबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार