एजेन्सी। कोरोना भाइरसको महामारीले विश्वका २ सय १० वटा देशलाई आक्रान्त बनाएको छ । चीनको वुहान सहरमा २०१९ को डिसेम्बरमा पहिलो पटक देखिएको कोभिड १९ को असर पछिल्लो समय अमेरिका र युरोपका केही देशमा बढी देखिन थालेको छ । चीनले भने २ महिनाको लकडाउनपछि संक्रमणलाई लगभग नियन्त्रणमा राखेको छ । अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, युके, इरान लगायत देशमा हरेक दिन नयाँ संक्रमित भेटिएका छन् ।
सुरुका दिनमा खासै संक्रमित नदेखिएको चीनकै छिमेकी भारतमा पनि पछिल्लो समय संक्रमितको संख्या तीव्र रुपमा बढेको छ । एक महिनाभित्रै भारतमा १० हजार भन्दा धेरै संक्रमित भइसकेका छन् । उता युरोपका विकसित देशका लागि पनि महामारी ऐतिहासिक चुनौतीको रुपमा खडा भएको छ । विश्वका २ सय १० देशमा कोरोना भाइरसका कारण १९ लाख ४६ हजार ३ सय ८६ संक्रमित भइसकेका छन् ।
यस्तै मंगलबारसम्म १ लाख २६ हजार ६ सय ४ को मृत्यु भइसकेको छ । ४ लाख ६० हजार १ सय ११ जना भने उपचारपछि घर फर्किएका छन् । संक्रमितमध्ये ५१ हजार ५८ जनाको अवस्था गम्भीर छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्
यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।
विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।
Leave a Reply